अमेरिकाको मध्यपश्चिमी भागमा अत्यधिक बढेको चिसोले ५ जनाको मृत्यु

तस्बिर  : द गार्डियनबाट

अमेरिकाको मध्यपश्चिमी भागमा अत्यधिक बढेको चिसोले ५ जनाको मृत्यअत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन प्रभावित भएको छ। यहाँको तापक्रम अन्टार्टिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अवरूद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन्।

झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरकारले अनुरोध गरेको छ। धेरै वर्षपछि यति बढी चिसो अनुभव गरिएको बताइएको छ।

अमेरिकी सञ्चार माध्यमहरूले अत्यधिक चिसोका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएका छन्। आर्कटिक ध्रुवीय क्षेत्रबाट बहेको हिउँ आँधीका कारण अत्यधिक चिसो अनुभव भएको बताइएको छ।

अत्यधिक चिसोले जताततै बरफ जमेका छन्। मिसिगन तलाउको पानी जमेको छ भने सधैं खस्ने नियागारा फल्सको पानी जमेको छ।

अमेरिकाको तेस्रो ठूलो सहर सिकागोको मौसम आजसम्मकै सबैभन्दा चिसो छ। सिकागोमा गएराति नयाँ रेकर्ड कायम भएको छ, र यो अझ तल झर्ने अनुमान गरिएको छ ।

‘यो चिसो ऐतिहासिक छ,’ सिकागोका मेयर राहम इमानुएलले भने, ‘यो चिसोले ज्यानै लिन सक्दछ, र त्यही अनुसार सम्पूर्ण बन्दोबस्त गरिनु आवश्यक छ।’

विल्डी सिटीको बिहानको तापक्रम माइनस २२ डिग्री सेल्सियस पुगेको छ । अति चिसो हावाका कारण यहाँ माइनस ५० डिग्री सेल्सियस तापक्रम पुगेसरह लाग्दछ ।

यहाँको तापक्रम अलास्काको राजधानीको भन्दा बढी छ र अन्टार्टिका भन्दा यहाँ बढी चिसो छ।

‘यहाँ हिउँको डल्लाकै छेउमा बसेजस्तो अनुभव हुँदैछ,’ लियोन गिल्बर्टले भने‘ मेरो छाला नै गाँठो परेजस्तो भएको छ।’

स्यान्डविच पसलका व्यवस्थापक डानियल गोन्जालेजले पनि अरु जस्तै समयमै पसल खोल्न सकेनन्।

‘अरु दिनभन्दा ढिलो अर्थात् बिहान ५ बजे पसल खोल्न पुगेँ। मैले दुइटा बाक्ला लुगा लगाएको थिएँ, हुड लगाएको थिएँ, त्यसमाथि ठूलो कोट थियो। अनुहार ढाक्ने मास्क थियो र अरु कपडा पनि लगाएको थिएँ, तै पनि मलाई चिसो अनुभव भइरहेको थियो,’ उनले भने।

सिकागोको ओहेयर विमानस्थलमा पनि व्यवस्थापनको कार्य जटिल बनेको थियो। कर्मचारीलाई बाहिर १५ मिनेटभन्दा बढी समय काम गर्न सक्ने अवस्था थिएन। १८०० भन्दा बढी उडान रद्द गरिएका थिए । आम्ट्राक रेलसेवाले पनि रेलसेवा बन्द गर्नुपरेको छ ।

अमेरिकी हुलाक सेवाले इन्डियाना, मिसिगन, इलेनोइस, ओहायो, आयोवा, डकोटा र नेब्रास्कामा चिठीपत्र र अरु सामान ढुवानी स्थगित गरेको छ।

अमेरिकी राष्ट्रिय जलवायु सेवाले बिहिबारसम्म यस क्षेत्रको तापक्रम माइनस २५ देखि ४५ डिग्री सेल्सियससम्म रहने जनाएको छ।

इलेनोइस, मिसिगन र विस्कन्सिन राज्यमा आपतकालीन उपायहरू घोषणा गरिएको छ। मिसिगनकी गभर्नर ग्रेचेन ह्वीटमरले सरकारी कार्यालयहरू बिहिबारसम्म बन्द रहने घोषणा गरेकी छन्। अत्यावश्यक बाहेकका अरु कर्मचारीलाई घरमै बस्न भनिएको छ।

प्रकाशित मिति: : 2019-02-01 23:09:56

प्रतिकृया दिनुहोस्