अपहरणको पाँच वर्ष भयो ११२ बालिका अझै घर फर्किएनन्

तस्बिरः एजेन्सी

नाइजेरियाको चिबोक भन्ने ठाउँबाट पाँच वर्ष अघि अपहरणमा परेका ११२ जना बालिका अझै आफ्नो घर फर्किएका छैनन्।

उनीहरूलाई नाइजेरियामा सशस्त्र विद्रोह गरिरहेको र त्यस देशद्वारा आतङ्ककारी घोषित बोको हराम नामक समूहले विद्यालयबाटै अपहरण गरेको थियो।

उनीहरूका बाबुआमा तथा आफन्तहरू ती बालिका घर फर्किने आशमा अहिले पनि सुरक्षा निकाय र सरकारी अधिकारीहरूकहाँ धाइरहेका छन् तर उनीहरू घर फर्किने सूचना भने अहिलेसम्म पनि पाएका छैनन् ।

उत्तरपूर्वी नाइजेरियामा हिंसात्मक हमलाहरू गरिरहेका बोको हरामहरूले सो क्षेत्रबाट विद्यालयका बालबालिकालाई अपहरण गरेर लाने र उनीहरूलाई जबरजस्ती बन्दुक बोकाई हिंसात्मक काममा लगाउने गरेका छन् ।

चिबोकको बालिकाहरूमात्र पढ्ने विद्यालयबाट सन् २०१४ अप्रिल १४ मा उनीहरूलाई बोको हरामले अपहरण गरेका थिए । अपहरणमा परेका ती बालिकाको अवस्था अझैपनि अज्ञात नै रहेकोले उनीहरूका परिवारमा निकै तनाव उत्पन्न भएको छ ।

त्यस दिन सो विद्यालयबाट उनीहरूले २७६ जना बालिकालाई अपहरण गरेका थिए । उनीहरू १२ देखि १७ वर्ष उमेरका थिए ।

ठूलो सङ्ख्यामा आएका सशस्त्र हमलाकारीहरूले विद्यालयलाई घेरा हाली उनीहरूलाई अपहरण गरी लगेका थिए । त्यस दिन अपहरणमा परेपछि पनि ५७ जना बालिका भने ट्रकबाट हामफालेर भाग्न सफल भएका थिए।

ती बालिकालाई घर फिर्ता गर्ने विषय नाइजेरियाको गत वर्षको आम निर्वाचनको पनि ठूलो मुद्दा बनेको थियो ।

नाइजेरियाका वर्तमान राष्ट्रपति मोहम्मद बुहारीले राष्ट्रपतीय निर्वाचनमा यस विषयलाई मुख्य एजेण्डा नै बनाएका थिए।

उनले आफूले निर्वाचन जितेमा अपहरित ती बालबालिकालाई अपहरण मुक्त गरी घर फर्काउने बाचा नै गरेका थिए।

तर गत वर्ष बोको हरामहरूसँग भएको वार्ताको क्रममा सरकारले केही बालिका फिर्ता गराएको थियो । ती बालिकाहरू पनि बोको हरामका बन्दीहरूसँग बन्दी साटासाटजस्तो गरी अपहरणमुक्त गरिएको थियो ।

यसरी अहिलेसम्म २७६ बालिकामध्ये १०२ मात्र मुक्त भएका छन् भने अझै पनि ११२ जना भने बोको हरामकै अपहरणमा रहेका छन् ।

ती बालिकालाई अपहरण मुक्त गर्न आफूले सक्दो प्रयास गरेको सरकारले जनाएको छ । तर उनीहरूका आफन्तले भने सरकारले चाहेमा उनीहरू मुक्त हुनसक्ने बताउँछन् ।

आफ्ना छोरीहरू जीवीतै छन् कि मारिए भन्ने बारेमा पनि उनीहरूका बुबाआमालाई थाहा छैन । तर पनि आफ्ना सन्तान घर फर्किने आशमा उनीहरू रहेका छन् ।

यस विषयमा बोको हरामले पनि केही बताएको छैन । तर सुरक्षा निकायहरूले भने ती बालिकालाई बोको हराम समूहले आफ्नो सैन्य समूहमा लगाएको अनुमान गरेका छन् ।

प्रकाशित मिति: : 2019-04-14 22:30:17

प्रतिकृया दिनुहोस्