राष्ट्रिय प्रतिभा पुरस्कारबाट सावित्रा भण्डारी सम्मानित

फाइल तस्बिर: बिएल

विभिन्न खेलका ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीलाई पुरस्कृत गरे।

पुरस्कृत हुनेमा करातेका दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता अनु अकिारी र विकबहादुर थामी छन्। त्यस्तै राष्ट्रिय फुटबल टोलीकी सावित्रा भण्डारी, राष्ट्रिय क्रिकेटका करण केसी, शारीरिक सुगठनकाकी रजनी श्रेष्ठ, तेक्वान्दोका भुवन सार्की र पारा क्रिकेटका हिमाल अर्याल छन्।

५ खेलाडीले समान १ लाख रुपैयाँ प्राप्त गरे। पुरस्कार छनोट समितिले दिएको अंकका आधारमा बराबर अंक प्राप्त गरेको भन्दै अनु र विकलाई समान ५० हजार रुपैयाँ प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

प्रशिक्षकबाट जगदिश भट्ट, निर्णायकबाट फिफा रेफ्री सुदीश पाण्डे र व्यवास्थकपतर्फ प्याराग्लाडिङका शैलेन्द्र राउत सम्मानित भए। भट्टको प्रशिक्षणमा गत महिना नेपाली महिला टोलीले बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण पदक जितेको थियो।

भट्ट, पाण्डे र राउतले पनि जनही १ लाख रुपैयाँ प्राप्त गरे।

प्रकाशित मिति: : 2019-11-28 16:28:06

प्रतिकृया दिनुहोस्