पेस्तोल नपड्किँदा श्रेयाले गुमाइन फाइनल पुग्ने अवसर ( भिडियाे अन्तर्वार्ता)

तस्बिरः बिएल नेपाली सेवा

नेपालकी प्रतिभाशाली सुटिङ खेलाडी श्रेया केसीले थोत्रो पेस्तोलका कारण १३ औं सागअन्तर्गत १० मिटर एयर पेस्तोलको प्रतिस्पर्धामा फाइनल प्रवेशबाट बञ्चित हुनु परेको छ।

उत्कृष्ट लयमा रहेकी श्रेयाको पेस्तोल बीचमा नपड्किँदा उनले बीचैमा खेल हाप्न विवश हुनु पर्यो। ‘सुरुमा मैले राम्रो स्कोर गरिरहेको थिए। तर, बीचमा पेस्तोलको गोली नपड्किएपछि बीचमै खेल हापे,’ निकै निरास देखिएकी श्रेयाले बिएल नेपाली सेवासँग विशेष कुराकानी गर्दै भनिन्, ‘विदेशी जजले मलाई ३ मिनेट समय पनि उपलब्ध गराएका थिए। तर, केही सिप लागेन। बाध्य भएर खेल छोड्नु पर्यो।’

श्रेया ५ महिनाअघि भएको आठौं बृहत राष्ट्रिय खेलकुदकी स्वर्ण पदकधारी खेलाडी पनि हुन्। उनीबाट सुटिङले आशा गरेको थियो।
तर, साग प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई हतियार र गोली उपलब्ध गराउन नसक्दा अहिले नेपाली खेलाडीको मनोबल पुरै गिरेको अवस्था छ।

नेपाली खेलाडीहरू पाकिस्तान र श्रीलंका जस्ता देशसँग पेस्तोल र गोली मागेर खेल खेलिरहेका छन्। श्रेया यसले खेलाडीको मनोबलमा नकरात्मक असर परेको बताउँछिन्। ‘हामीलाई पुरै गफ दिइयो। प्रतियोगिता अगाडि हतियार र गोली आउँछ भनेर। अहिले मागेर खेल्नु परिरहेको छ,’ उनले दुःखेसो पोखिन्, ‘आयोजक भएको नाताले हामीले उनीहरूलाई सहयोग गर्नुपर्ने उल्टै हतियार मागेर प्रतियोगिता सञ्चालन गरिरहेका छौं।’

प्रकाशित मिति: : 2019-12-06 18:19:58

प्रतिकृया दिनुहोस्