न्युक्यासलमाथि म्यानचेस्टरकाे शानदार जित

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत 'बक्सिङ डे' खेलमा न्युक्यासल युनाइटेडमाथि शानदार जित हासिल गरेको छ।

म्यानचेस्टरको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा न्युक्यासल ४–१ गोल अन्तरले पराजित भएको हो। म्यानचेस्टरको जितमा एन्थोनी मार्सियलले २ गोल गरेका थिए भने मासन ग्रीनवुड र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए। त्यस्तै न्युक्यासलका लागि एक गोल माटी लंगस्टाफले गरेका थिए।

खेलमा सुरुवाती अग्रता भने न्युक्यासलका लंगस्टाफले लिएका थिए। उनले खेलको १७ औं मिनेटमा नै गोल गरेका थिए। तर २४ औं मिनेटमा मार्सियलले गोल गर्दै म्यानचेस्टरलाई खेलमा फर्काए। यस्तै ३६ औं मिनेटमा ग्रीनवुडले गोल गर्दा म्यान्चेस्टरले अग्रता बनायो।

खेलको ४१ औं मिनेटमा राशफोर्डले गोल गर्दै पहिलो हाफमा म्यान्चेस्टरलाई ३–१ को अग्रता दिलाए। ५१ औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दा म्यानचेस्टर ४–१ गोल अन्तरले खेल जित्न सफल भयो। 

जितपछि लिगमा म्यानचेस्टर युनाइटेडको १९ खेलमा २८ अंक भएको छ भने लिगको सातौं स्थानमा रहेको छ। त्यस्तै न्युक्यासलको १९ खेलमा २५ अंक रहेको छ।  

प्रकाशित मिति: : 2019-12-27 20:19:57

प्रतिकृया दिनुहोस्