राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरण अन्तर्गत मंगलबार दुई खेल हुनेछन्।
च्यासल युथ क्लबले जावलाखेल युथ क्लबको सामना गर्दा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लबसँग प्रतिश्पर्धा गर्नेछ। दुवै खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा हुनेछन्।
च्यासलका सन्तोष साहुखललाई आज ए डिभिजन लिगमा सय गोल पूरा गर्ने अवसर छ ।
जावलाखेल विरूद्ध यदि उनले गोल गरेको खण्डमा साहुखल शीर्ष डिभिजनको लिगमा सय गोल गर्ने पहिलो नेपाली खेलाडी बन्नेछन् ।
लिग अन्तर्गत हिजोको खेलमा मच्छिन्द्र क्लबले न्यूरोड टिम (एनआरटी)लाई १-० ले हराउँदा शीर्ष स्थानको मनाङ मर्स्याङ्ग्दी क्लबले फ्रेण्ड्स क्लबसँग १-१ गोलको बराबरी रोकिएको छ।
लीगमा १० अंकसहित अपराजित मनाङ शीर्ष स्थानमा कायमै छ। यस्तै समान ४ खेलबाट ९ अंक जोडेको मछिन्द्र दोस्रो तथा एक खेल कम खेलेको थ्री स्टार ७ अंकसहित तेस्रो स्थानमा छ।
प्रतियोगिताको अर्को अपराजित टोली जावलाखेल ३ खेलबाट २ बराबरीसहित ५ अंक जोड्दा च्यासलको ३ खेलबाट १ जित र १ बराबरीसहित ४ अंकसहित तालिकाको सातौ स्थानमा छ।