रौतहटका उखु किसान र श्रीराम सुगर मिलबीच कुरा मिल्याे, ४२ कराेड भूक्तान दिने

श्रीराम सुगर मिलका सञ्चालकबीच भएकाे वार्तामा सुगर मिलका सञ्चालक हितेश गाेल्छा किसानकाे बक्याैंता रकम तिर्न सहमत भएका हुन्।

नवीन अर्याल

काठमाडाैं

रौतहटको श्रीराम सुगर मिलले उखु किसानकाे बक्याैंता रहेकाे ४२ करोड रुपैयाँ भुक्तानी गर्न सहमति जनाएकाे छ। मंगलबार राती उखु उत्पादक संघ र श्रीराम सुगर मिलका सञ्चालकबीच भएकाे वार्तामा सुगर मिलका सञ्चालक हितेश गाेल्छा किसानकाे बक्याैंता रकम तिर्न सहमत भएका हुन्।

राती ९ बजे भएकाे सहमतिमा विगत ५ वर्षदेखि तिर्न बाँकी रकम छिटाे भन्दा छिटाे तिर्दै जाने सहमति भएकाे उखु उत्पादक संघका काेषाध्यक्ष मनाेज सहनीले बिएल नेपाली सेवालाई जानकारी गराए।

उखु किसानहरु आफूले पाउनु पर्ने रकम ब्यापारीले नदिएकाे भन्दै विगत ११ दिनदेखि काठमाडाैंमा धर्नामा थिए। उनीहरुले विभिन्न राजनीतिक दलका नेताहरुलाई दुई महिना अघि नै ज्ञापन पत्र बुझाएका थिए। तर कतैबाट सुनुवाई नभएपछि उनीहरु काठमाडाैंमा धर्ना दिन आएका थिए।  

‘हामीबीच बक्याैंता रहेकाे रकम उपलब्ध गराउने र मिल सञ्चालनमा ल्याउने सहमति भएकाे छ’, काेषाध्यक्ष सहनीले बिएल नेपाली सेवासँग भने। 

यसअघि गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएकाे थियाे। 

सर्लाहीमा रहेका अन्नपूर्ण सुगर मिलले ५० करोड तथा महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ, नवलपरासीका बागमती, लुम्बिनी तथा इन्दिरा सुगर मिलले ७ करोडको दरले २१ करोड रुपैयाँ अझै उखु किसानलाई भुक्तानी गर्न बाँकी छ। अन्नपूर्ण सुगर मिलले विगत ६ वर्षदेखिको रकम नतिरेको उखु किसानको गुनासो छ।

प्रकाशित मिति: : 2020-01-01 21:00:03

प्रतिकृया दिनुहोस्