प्रदेश सांसद मनाङेको हिरासतमा एक रात: थुनुवालाई दिने खाना र औषधी खाए

उनले बिहीबार राती हिरासतमै प्रहरीले उपलब्ध गराएको खाना खाए। प्रहरी श्रोतका अनुसार उनलाई सभासदको सुविधा नभई अन्य थुनुवा सरह राखिएको छ। ‘हिजो राती उनले प्रहरीले सबै थुनुवालाई दिने खाना खाए। बिहान चिया पिएपछि दुई वटा औषधी खाएका थिए,’ प्रहरी श्रोतले बिएल नेपा

डिल्ली पाण्डे

काठमाडाैं

उसै त राजीव गुरुङ उर्फ दीपक मनाङेलाई ‘मिलन’ भन्ने नाम फाप्दैन्। त्यसमा पनि उमेरले आफूभन्दा निकै कान्छा कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङसँग पंगा लिन पुगेका कुनै बेलाका ‘डन’ दीपक मनाङेले सभासद् भएको दुई वर्षभित्र फेरि पुलिस हिरासतमा रात काट्नु परेको छ। 

यति बेला उनी खरखजाना अथवा पैसा उठाउने धन्दामा पुलिस हिरासतमा परेका होइनन्। फुटबल प्रतियोगिता जस्तो नितान्त मनोरञ्जनात्मक प्रतिस्पर्धामा आफ्नो पदीय गरिमा बिर्सेका कारण जेलको हावा खाना बाध्य भएका हुन्। 

पोखरामा जारी मुख्यमन्त्री कपको उद्घाटनमा खेलाडी सुविधाको विषयलाई लिएर मनाङेले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलनलाई सार्वजनिक मञ्चमै थाप्पड हानेका थिए। 

उनले आफूले गरेको कार्य सही भएको भन्दै पत्रकार सम्मेलन पनि गर्न भ्याए। उनले पत्रकार सम्मेलनमा ‘प्रधानमन्त्रीलाई त जनताले चप्पलले हान्छन् भने मैले एउटा ठगलाई झाप्पड हान्न नहुने’ भन्दै कुर्लिएका थिए। 

मिलनकै उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई बिहीबार दिउँसो पोखराको लेकसाइडबाट पक्राउ गरेको थियो। 

उनले बिहीबार राती हिरासतमै प्रहरीले उपलब्ध गराएको खाना खाए। प्रहरी श्रोतका अनुसार उनलाई सभासदको सुविधा नभई अन्य थुनुवा सरह राखिएको छ। ‘हिजो राती उनले प्रहरीले सबै थुनुवालाई दिने खाना खाए। बिहान चिया पिएपछि दुई वटा औषधी खाएका थिए,’ प्रहरी श्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो। मनाङेलाई थुनामा राखेर मुद्धा चलाउने तयारी भइरहेको छ। उनलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय, कास्की लाने तयारी भइरहेको एसपी दानबहादुर कार्कीले बताए।

कास्की प्रहरी प्रमुख कार्कीकै नेतृत्वमा मनाङे बिहीबार पक्राउ परेका हुन्। ‘जिल्ला प्रशासनले कति दिनको म्याद दिन्छ। यसपछि अनुसन्धान अगाडि बढाउँछौं,’ एसपी कार्कीले बिएल नेपाली सेवालाई बताए। 

काठमाडौंका अर्का ‘डन’ चर्के मिलनसँग दीपक मनाङेको पहिलेदेखि नै ‘वार’ छ। मनाङेको समूहले २०६१ सालमा राजदरबार नजिकै जय नेपाल हल क्षेत्रमा चर्के मिलनको हात काटेको थियो। त्यसपछि एकले अर्कोलाई सिध्याउने खेल सुरु भएको थियो। मनाङे २ वर्षअघि तत्कालिन बाम गठबन्धनकाे सहयाेगमा स्वतन्त्र उम्मेदवारकाे रुपमा मनाङबाट प्रदेश सभाकाे सांसदमा निर्वाचित भएका थिए।
 

प्रकाशित मिति: : 2020-01-25 03:17:19

प्रतिकृया दिनुहोस्