सरस्वती युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ।
लगातार ८ खेलको जितबिहीन यात्रा अन्त्य गर्ने क्रममा सरस्वतीले हिमालयन शेर्पा क्लबमाथि ४–३ को जित हात पारेको हो।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सरस्वतीलाई जित दिलाउन विदेशी खेलाडी काजिम बुसारीले दुई गोल गरे भने विनोद केसी र मनिष थापाले एक एक गोल गरे। शेर्पाका लागि आशिष गुरुङ, विजय शेष्ठ र रवि थापा मगरले गोल गरे।
रोमान्चक बनेको खेलको पाँचौं मिनेटमा बुसारीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए। १० औं मिनेटमा आशिषले गोल गर्दै शेर्पालाई १–१ को बराबरीमा ल्याए।
खेलको ३५ औं मिनेटमा विनोदले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता दिलाए। तर, ४५ औं मिनेटमा शेर्पाका विजयले गोल गर्दा पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो।
खेलको ८३ औं मिनेटमा बुसारीले व्यक्तिगत दोस्रो गोल गर्दै सरस्वतीलाई ३–२ को अग्रता दिलाए। ८८ औं मिनेटमा मनिषले गोल गर्दा सरस्वती ४–२ ले अघि रह्यो। त्यसपछि खेलको इन्जुरी समयमा शेर्पाका रबिले गोल गरेपनि सरस्वती ४–३ ले विजयी भयो।
पहिलो जितपछि सरस्वतीले ९ खेलबाट ४ अंक जोडेको छ। पुछारमा रहेको सरस्वतीको जितले एपीएफ र हिमालयन शेर्पालाई समेत रेलिगेसन जोगाउन दबाब बढेको छ। शेर्पाको ९ खेलबाट ७ र समान खेलबाट एपीएफको ५ अंक छ।
उपाधि होडजस्तै अब रेलिगेसनमा कुन टिम पर्ला भनेर समेत रोमाञ्चकता हुने भएको छ। १४ टिमले प्रतिस्पर्धा गरिरहेको लिगमा यसपटक एक टिम मात्र रेलिगेसनमा पर्नेछ।