शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबारदेखि दशौं चरणका खेल सुरु हुँदैछ।
दशौं चरणका सुरुका चार खेल दशरथ रङ्गशालामा र बाँकी तीन खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुनेछन्।
दशौं चरणका पहिलो खेलमा आज थ्री स्टार र सरस्वती युथ क्लब भिड्नेछन् भने दोस्रो खेलमा मछिन्द्र र एपीएफ क्लब आमने सामने हुनेछन्।
दुवै खेल दशरथ रंगशालामा हुनेछ। पहिलो खेलमा थ्री स्टार र सरस्वती मध्यान्न १२ बजे भिड्नेछन्। रेलिगेशन जोनमा रहेको सरस्वती थ्री स्टारलाई हराउँदै रेलिगेशन जोन छोड्न चाहन्छ।
उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार कम्तिमा दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न चाहन्छ।
तालिकाको पाँचौ स्थानका रहेको थ्री स्टारको १४ अंक छ। सरस्वती ४ अंक सहित तालिकाको पुछारमा छ।
दोस्रो खेलमा एपीएफ र मछिन्द्र दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछन्। उपाधि होडमा रहेको मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ।
एपीएफ भने रेलिगेशनको डरबाट गुज्रिरहेको छ।
मछिन्द्र १९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ। एपीएफ ५ अंक जोड्ने रेलिगेशन जोन भन्दा मात्र एक अंक माथि छ।
ए डिभिजनको नवौं चरणका खेल सकिँदासम्म अपराजित रहेको मनाङ मर्स्याङ्दीले तेस्रो स्थानमा छ।
त्रिभुवन आर्मी शीर्षस्थानमा छ भने मच्छिन्द्र तालिकाको दोस्रो स्थानमा छ।