साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा सहज जित निकालेको छ।
घरेलु मैदानमा आइतबार भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३–० गोल अन्तरले पराजित गरेको हो।
युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। यता म्याथिस डी लिग्टले थप एक गोल गरे। रोनाल्डोले ४०औं र ८० मिनेटमा गोल गरे। दुवै गोल पेनाल्टीबाट गरेका हुन्। युभेन्ट्सको जितमा दुई गोल गरेका रोनाल्डोले पछिल्लो ६ खेलमा मात्रै १० गोल गरिसकेका छन्।
रोनाल्डोले सी ए मा युभेन्ट्सका लागि गोल गरेको यो लगातार नवौं खेल हो र उनी यस्तो उपलब्धि हासिल गर्ने २००५ पछि पहिलो खेलाडी बने। सन् २००५ मा फ्रान्सेली खेलाडी डेविड ट्रेजगुएटले लगातार ९ खेलमा गोल गरेका थिए।
यस्तै सन् २०१८ मा स्पानिस जायन्ट रियल मड्रिडबाट इटली पुगेका रोनाल्डोले इटालियन जायन्ट्स युभेन्ट्समा लागि ७० खेल खेल्दै ५० गोलसमेत पूरा गरेका छन्।
फियोरेन्टिनाविरुद्ध सहज जितपछि युभेन्ट्सले सिटी ए मा इन्टर मिलानविरुद्ध ३ अंकको अग्रता कायमै राखेको छ। २२ खेलबाट युभेन्ट्सको ५४ अंक छ।