केन्याको प्राइमरी विद्यालयमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु

एजेन्सी

काठमाडाै‌ं

केन्याको प्राइमरी विद्यालयमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु भएको छ।

राजधानी नाइरोबीबाट पश्चिमोत्तर भागमा काकामेगास्थित प्राथमिक विद्यालय सोमबार अपराह्ण करिब पाँच बजे कक्षा कोठा छोडेर विद्यार्थीहरू घर फर्केने क्रममा भागदौड मच्चिएको थियो।

शिक्षा मन्त्री जोर्ज मागोहाले १४ बालबालिकाको ज्यान गएको पुष्टि गरेका छन्। त्यस्तै, ४० अन्य विद्यार्थीहरू घाइते समेत भएको बिबिसीले जनाएको छ।

तीमध्ये केहीको स्थिति गम्भीर भएको बताएको छ भने केहीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ।

के कारणले भागदौड भयो भन्ने स्पष्ट भएको छैन। तर स्थानीय प्रहरीका प्रमुखले घटनाबारे छानबिन सुरु गरिएको बताएका छन्।

केही विवरणमा विद्यार्थीहरू छुट्टीपछि भर्‍याङबाट ओर्लिन खोज्दा भिड भएको थियो। उक्त भर्‍याङ भत्किएको बताइएको छ।

गत वर्ष सेप्टेम्बरमा नाइरोनजिकै एउटा प्राथमिक विद्यालयमा एउटा कक्षाकोठा भत्किँदा आठ जनाको मृत्यु भएको थियो।

त्यसको केही दिनपछि सरकारले सुरक्षाको कारण देखाउँदै उक्त विद्यालय बन्द गरिदियो। सरकारले कमजोर संरचना भएका विद्यालयहरूलाई कारबाही गर्ने उद्घोष गरेको थियो।

प्रकाशित मिति: : 2020-02-05 01:03:50

प्रतिकृया दिनुहोस्