शिशु, गुलियो र मुरली मकै खेती

शहरी क्षेत्रका किसानहरू शिशु मकै, गुलियो मकै र मुरली मकै उत्पादन गरी बढी लाभ लिन सक्छन्।

शिशु मकै (बेबि कर्न): घोगामा जुँगा निस्केको १-३ दिनभित्र भाँचिएको/टिपिएको, जुँगाको लम्बाइ १ देखि ३ से.मी. मात्र भएको र अनिषेचित दानाहरू भएको मकैको कलिलो घोगालाई शिशु मकै भनिन्छ।

खोसेला हटाएपछि यस नवजात घोगालाई सलाद र तरकारीका रूपमा खाने गरिन्छ। यसबाट चोपित्स सुये, सूप, भात वा मासुसँग भुट्न, अन्य तरकारीमा मिलाउन, कोफ्ता, पकोरा, भुजिया, रायता, खीर, लड्डु, हलुवा, क्यान्डी, मुरब्बा, बर्फी, जाम वा अचार बनाइन्छ।

शिशु मकै गुलियो र स्वादिलो हुने भएकाले लोकप्रिय छ। पहेँलो रङ्गका र साना साइजका शिशु मकैले बढी मूल्य पाउँछन्। शिशु मकै ठूला होटलहरूमा बेच्न सकिन्छ। अन्य तरकारीको तुलनामा यसमा फस्फोरस बढी पाइन्छ र सजिलै पाचन हुन्छ।

यसमा कार्बोहाइड्रेट, प्रोटीन, क्याल्सियम, फलाम र भिटामिन ई पाइन्छ। डिब्बाबन्दी गरी परीक्षण र निर्यात पनि गर्न सकिन्छ। शिशु मकै टिपेपछि यसको डाँठ र खोसेलाहरू पाल्तु जनावरका लागि उत्तम हरियो चाराका रूपमा सदुपयोग हुन्छ।

गुलियो मकै (स्वीटकर्न) : गुलियो मकै शर्कराको मात्रा उच्च भएको र ताजा रूपमै उसिनेर वा उमालेर वा सेकेर वा तरकारीका रूपमा खाइने मकै हो। गुलियो मकै यसको दानाको भ्रूणपोष (एन्डोस्पर्म) मा शर्करालाई स्टार्चमा परिवर्तन गर्ने जीनहरूको लुप्त उत्परिवर्तनद्वारा उत्पन्न भएको हो। गुलियो मकैको दाना दूधे भएको अवस्थामा (दाना कडा र स्टार्चयुक्त हुनुभन्दा पहिल्यै) भाँचिन्छ। गुलियो मकै डिब्बाबन्दी वा हिमीकृत गरी अन्तराष्ट्रिय बजारमा समेत पठाउन सकिन्छ।

गुलियो मकैमा १३—१४ प्रतिशत टीएसएस, प्रोटिन, रेसा र प्रतिअक्सिकारक (एन्टिअक्सिडेन्टस) पाइन्छ। यसबाट अनेक प्रकारका स्वादिष्ट भोजन तयार गर्न सकिन्छ। शहरको आसपासको क्षेत्रमा यसको व्यावसायिक खेती वर्षभर नै गर्न सकिन्छ। गुलियो मकै कम समय (६५देखि७० दिन) मै तयार हुने भएकाले वर्षमा ३ बाली लिन सकिन्छ र पशुहरूका लागि हरियो चारा उपलब्ध हुन्छ।

मुरली मकै (पपकर्न): मुरली मकैको दाना सानो, लाम्चो, ज्यादै कडा हुन्छ। दानाभित्र श्रृङ्गाकार देखिने धेरै कडा भ्रूणपोष (एन्डोस्पर्म) हुन्छ र यसमा नरम सेतो स्टार्चको अंश थोरै पाइन्छ। मुरली मकै भुट्दा उच्च तापको प्रभावले अकस्मात् विस्तारण भई अत्यधिक आन्तरिक चापको कारणले विस्फोट हुँदा भ्रूणपोष बाहिर प्रकट हुन्छ र लया (फूल) बन्छ। कुनै जातको दाना तीखो र कुनैको बाटुलो हुन्छ।

 लयाको आकार दुई प्रकारको हुन सक्छ— एक, बढी विस्फोट भएर कपासी सेतो बादलजस्तो (पुतलीजस्तो) देखिने र अर्को, च्याउजस्तो गोल। मुरली मकैको लया (फूल) सेतो, नरम र स्वादिष्ट हुन्छ। नरम सेतो भ्रुणपोष बढी भएको दानाको राम्रो लया बन्दैन्। लयाको पीठो वा दलिया विभिन्न परिकार बनाउन प्रयोग गरिन्छ। बोटमा धेरै सङ्ख्यामा साना घोगा लाग्छन्।

शिशु मकैका जात:  चाँडै तयार हुने, एउटै बोटमा २—३ घोगा लाग्ने, घना रोपेमा पनि वृद्धि हुने र रोग,कीरा कम लाग्ने जात उपयुक्त हुन्छ। नेपालमा अरुण २, मनकामना २, रामपुर कम्पोजिट र हाइब्रिड जातहरू उपयुक्त देखिएका छन्। घोगा एकसाथ लाग्ने हुँदा कम्पोजिटभन्दा हाइब्रिड जात बढी उपयुक्त हुन्छ। भारतमा प्रचलित जातहरू एमएच–४, गोल्डन बेबी, सुपर स्वीट डीएमआर, भीएल ४२, हिम १२९, पुसा अर्ली हाइब्रिड १,२ र ३, मेह १४ र १३३, सूर्य, नवीन र प्रकाश हुन्। सीएमभीएल बेबीकर्न २ करिब ५३ दिनमा तयार हुन्छ र २० क्वि. प्रतिहेक्टर उब्जनी दिन्छ।

गुलियो मकैका जात: भारतमा खेती गरिने गुलियो मकैका जातहरू माधुरी स्वीटकर्न, प्रिया स्वीटकर्न, अल्मोडा स्वीटकर्न, अरेन्ज स्वीटकर्न, सीएमभीएल स्वीटकर्न १ जात हुन्। यिनको हिउँदे वा ग्रीष्मे खेती गरिन्छ। एक हेक्टर जमिनमा यिनबाट रोपेको ७०—७५ दिनमा ११०—१२० क्वि. मकै र २५०—४०० क्वि. हरियो चारा प्राप्त हुन्छ। वसन्ते खेतीका लागि ५५—६० दिनमै तयार हुने माधुरी स्वीटकर्न बढी उपयुक्त छ।

मुरली मकैका जात:  मुरली मकैका सेता, पहेँला र राता दाना हुने जातहरू हुन्छन्। भारतमा खेती गरिने जातहरू अम्बर पप, जवाहर पप–११ (पहेँलो), पीयर्ल पप (सेतो), र भीएल अम्बर (सुन्तले) हुन्। यिनको परिपक्वन अवधि बर्सातमा ८०—९० दिन र हिउँदमा ९५—१०५ दिन हुनुका साथै उब्जनीक्षमता २५—४० क्वि.÷प्रतिहेक्टर छ।

मकै रोप्ने समय: सामान्यतया बर्खे बाली असारमा, हिउँदे बाली कात्तिकमा र वसन्ते बाली माघमा रोपिन्छ। पूरा खेतमा एकै पटक नरोपेर १५—१५ दिनको अन्तरमा थोरैथोरै जमिनमा रोपण गरेमा बजारमा नियमित रूपले शिशु मकै र गुलियो मकै पठाउन सकिनेछ। अधिकतम तापक्रम ४०० से.भन्दा बढी र न्यूनतम तापक्रम १२० से. भन्दा कम नजाने ऋतु र ठाउँमा मकै खेती गर्न सकिन्छ।

शिशु मकै मुख्यतः बर्खे बालीका रुपमा लगाइन्छ। यस बेला अन्य सलादहरू नपाइने हुनाले शिशु मकैले राम्रो बजार भाउ पाउँछ। पुस माघ बाहेक अन्य महिनामा जहिले पनि शिशु मकै रोप्न सकिन्छ।

गुलियो मकैको हिउँदे बाली कात्तिकमा, वसन्ते बाली फागुनमा र बर्खे बाली असारमा रोप्न सकिन्छ। गुलियो मकै पनि शिशु मकै जस्तै दुई दुई हप्ताको अन्तरालमा वर्षभर रोप्न सकिन्छ। बर्खे मुरली मकै जेठ दोस्रो हप्तादेखि असारभर र हिउँदे बाली कात्तिकमा रोप्न सकिन्छ।

जमिनको तयारीः जमिनको तयारी गर्नुपूर्व एउटा सिँचाइ दिने। एक पटक रोटाभेटर र २ पटक कल्टिभेटर वा स्थानीय हलोले चलाएर ५—७ दिन खुला राख्ने। प्रत्येक जोताइपछि पाटा लगाउने, माटो बुराबुराउँदो बनाउने र जमिन समतल बनाउने। अन्तिम जोताइपूर्व १००—३०० क्विन्टल राम्ररी कुहिएको गोठे मल वा कम्पोस्ट मल प्रतिहेक्टरका दरले प्रयोग गर्ने। एक हेक्टरमा ३० कट्ठा हुन्छ। उपयुक्त दूरी कायम गरी ड्याङ्ग तयार गर्ने आलुका लागि जस्तै।

बीजोपचारः थाइरम ३ ग्राम वा एप्रोन ३५ एसडी ४ ग्राम प्रति कि.ग्रा. प्रयोग गरी बीजोपचार गर्ने।

बीउदर र रोप्ने तरीकाः शिशु मकैको बीउ घना रोपिने हुनाले २५—३० कि.ग्रा., गुलियो मकैको बीउ हलुका हुनाले १०—१२ कि.ग्रा. र मुरली मकैको बीउ सानो भएकाले १२—१४ कि.ग्रा. प्रतिहेक्टर चाहिन्छ।

शिशु मकै ड्याङमा २—३ से.मी. गहिराइमा रोप्नु उपयुक्त हुन्छ। पंक्तिदेखि पंक्ति ५० देखि ६० से.मी. र बोटदेखि बोट १५ से.मी. दूरी कायम गर्नुपर्दछ। प्रति रोपोमा २ ओटा बीउ रोपेर प्रति हे.मा १.५ देखि १.७५ लाख बिरुवा कायम गर्ने।

गुलियो मकै पंक्तिदेखि पंक्ति ७५—१०० से.मी. दूरी कायम गरी बीउ ५ से.मी. गहिराइमा रोप्नुपर्छ। पछि बोटदेखि बोटको दूरी २०—२५ से.मी. कायम गर्नुपर्छ। एक हे. मा ६५—८० हजार बिरुवा चाहिन्छ। गुलियो मकैसँग अन्य जातको परसेचन भएमा एकनास गुणस्तरका घोगा प्राप्त नहुने भएकाले कम्तीमा १०० मी. को पृथक्करण दूरी राख्नुपर्छ।

मुरली मकै पंक्तिदेखि पंक्ति ६०—८० से.मी. र बोटदेखि बोट १५—२० से.मी. कायम गरी ३—४ से.मी. गहिराइमा बीउ रोप्नुपर्छ। एक हे. मा ८०—८३ हजार बिरुवा हुनुपर्छ।

मिश्रित खेतीः मकैसँग भटमास, मुङ्ग, मास, रहर, बकुला, धनियाँ, मेथी लगाउन सकिन्छ।

पोलिहाउसभित्र लगातार तरकारी खेती गर्दा माटोमा धागेजुका (नेमाटोड) को प्रकोप बढ्दै जान्छ। धागेजुकाले मकैमा आक्रमण गर्दैन। पोलिहाउसभित्र बालीचक्रमा गुलियो मकै समावेश गरेमा भोजन प्राप्त नहुनाले धागेजुका नष्ट हुन्छन् र गुलियो मकैको अगौटे उत्पादन उपलब्ध हुन्छ। 

मलखादः एक हेक्टर जमिनमा १००—३०० क्वि. गोठे मल प्रयोग गर्नुपर्छ। माटोको उर्वरताअनुसार ६०—१०० कि.ग्रा. नाइटोजन, ३०—५० कि.ग्रा. फस्फोरस र २०—४० कि.ग्रा. पोटासियम प्रतिहेक्टरका दरले प्रयोग गर्न सकिन्छ। आधा नाइट्रोजन, समग्र फस्फरस र पोटाश रोप्ने समयमा प्रयोग गर्नुपर्छ। बाँकी नाइट्रोजनको आधा भाग मकै घुँडाजति अग्लो भएको अवस्थामा र अर्को आधा भाग धानचमर निस्कने बेला टपड्रेस गर्नुपर्छ।

प्राङ्गारिक मल कम भएको जमिनमा जिङ्क र गन्धकको कमी देखिन सक्ने भएकाले २० कि.ग्रा. जिङ्कसल्फेट र २० कि.ग्रा. गन्धक प्रतिहेक्टरका दरले जमिनको अन्तिम तयारीका साथमा प्रयोग गर्न सकिन्छ। जिङ्क र फस्फोरस एकसाथ प्रयोग गरेमा फस्फोरसको उपलब्धता कम हुने भएकाले अन्य सबै मलहरू अन्तिम जोताइपूर्व र जिङ्कसल्फेट चाहिँ पाटा लगाएपछि प्रयोग गर्नुपर्छ।

सिँचाइः जमीनको तयारी गर्नुपूर्व र त्यसपछि माटोमा चिस्यानको कमी भए आवश्यकताअनुसार सिंचाइ दिनुपर्छ। माटो सधैँ आद्र रहने गरी सिँचाइ प्रबन्ध गर्नुपर्छ। धानचमर र जुँगा निस्कने बेला र दानामा दूध भरिने बेला सिँचाइ अवश्य दिनुपर्छ। मकै बारीमा पानी जम्न दिनु हुँदैन।

गोडमेल र बढाउनेः रोपेको ३५ दिनसम्म खेतलाई झारमुक्त राख्नुपर्छ। पहिलो गोडमेल रोपेको २०—२५ दिनमा गर्नुपर्छ। दोस्रो गोडमेल घुँडाजति अग्लो भएको अवस्थामा गरी माटो पनि चढाउनुपर्छ। बिरुवादेखि बिरुवाको उचित दूरी कायम गर्न बाक्ला उम्रेका बेर्ना बेढाउन सकिन्छ।

शिशु मकै भाँच्नेः परागकणहरू झरेर शिशु मकैको अण्डाणु (दाना) हरू निषेचित हुन नदिन धानचमर उत्पन्न हुने बित्तिकै अर्थात् परागहरू झर्नुअगाडि नै काटेर हटाउनुपर्छ। शिशु मकै घोगामा जुँगा उत्पन्न हुनुभन्दा अगावै वा जुँगा निस्केको २४—४८ घण्टाभित्र घोगा भाँच्नुपर्छ। बर्खे बाली ५०—६० दिनमा, हिउँदे बाली ८०—१०० दिनमा र वसन्ते बाली ६०—७० दिनमा तयार हुन्छ। एक हेक्टरबाट ५०—१०० क्वि. (डेढ देखि दुइ लाख गोटा, खोसेलासहित या १२—१८ क्वि. खोसेलारहित) शिशु मकै उत्पादन हुन्छ। साथै २००—४०० क्वि. हरियो चारा उत्पादन हुन्छ। खोसेला हटाउने कार्य शिशु मकै नभाँचियोस् भनी सावधानीपूर्वक र छहारी भएको ठाउँमा गर्नुपर्छ र तुरुन्तै प्लास्टिकको थैला, टोकरी वा अन्य पात्रमा राखेर तुरुन्त बजार वा प्रशोधन (डिब्बाबन्दी) एकाइमा पठाउनुपर्छ।

गुलियो मकै भाँच्नेः गुलियो मकै रोपेको ६५—७० दिनमा दूधिया अवस्थामा भाँचिन्छ। मकै भाँच्न तयार भएको बेला जुँगा खैरो वा कालो फर्कन्छ, खोस्टा पूरा हरियो हुन्छ र घोगाको टुप्पा छाम्दा नरम नै लाग्छ। परागसेचन भएको १५—२० दिनपछि दानामा शर्कराको मात्रा अत्यधिक (२२—४० प्रतिशत) हुन्छ। यसपछि दानामा रहेको शर्करा स्टार्चमा परिवर्तन हुने भएकाले मिठास र गुणस्तर कम हुन थाल्छ।

मुरली मकै भाँच्नेः मुरली मकैको घोगा भने दाना राम्ररी परिपक्व भएपछि भाँच्ने गरिन्छ। भाँच्ने बेला दानामा चिस्यानको मात्रा १८—२०% र छोडाउने बेला १६—१८% हुनुपर्छ। क्षतिग्रस्त दानाको लया नबन्ने हुनाले छोडाउँदा सावधानी अपनाउनुपर्छ। धेरै सुकेको मकैको लया राम्रो बन्दैन र यसैले १४—१५ प्रतिशत चिस्यानयुक्त दाना भण्डारणका लागि उपयुक्त हुन्छ। घरमा मकै हावाबन्द भाँडोमा भण्डारण गर्न सकिन्छ।

मुरली मकै रेफ्रिजेरेटरमा राख्नु हुँदैन किनकि त्यहाँ चिस्यानको कमीले मकै सुक्खा बन्छ। मुरली मकै परम्परागत रूपमा तेलमा भुट्ने गरिन्छ। विकसित देशमा लया बनाउन माइक्रोवेभ वा वायुमा लया बनाउने तरिका प्रचलित छन्। लया बनेपछि मकैको आयतन २०—४० गुना बढ्छ। मूल्य अभिवर्धन गर्न मकैको लयासँग नुन, चिनी, चीज वा चोकोलेटको लेपन गर्न सकिन्छ। मुरली मकैका लया हावाबन्द साना थैलामा बन्द गरी बिक्री गरिन्छ।
 

प्रकाशित मिति: : 2020-02-05 01:12:41

प्रतिकृया दिनुहोस्