वीरगन्ज नाकामा कोरोना भाइरसकाे जाँच गर्न ‘हेल्पडेस्क’

चीनमा देखापरेर तीव्र गतिमा फैलिइरहेको कोरोना भाइरसका संक्रमितको जाँच गर्नका लागि वीरगन्ज भन्सार नाकामा ‘हेल्प डेस्क’ (सहायता कक्ष) स्थापना गरिएकाे छ। जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा सिमा नाकामा सहायता कक्षकाे स्थापना गरिएकाे हाे। 

जनस्वास्थ्य कार्यालय पर्सा मार्फत वीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले सोमबारदेखी हेल्पडेस्क संचालनमा ल्याएको पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए। उनका अनुसार सहायता कक्ष बिहान ७ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिने छ।

‘कोरोना भइरसविरुद्ध नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउनका लागि पर्सा जिल्लाका १४ वटै स्थानिय तहमा चेतनामुलक कार्यक्रम संचालन गरिने छ।’ उनले भने ‘ विद्यालय स्तरमा समेत सचेतना कार्यक्रम गर्न निर्देशन दिइएको छ। 

वीरगन्जस्थित सिमा क्षेत्र तथा बारा, पर्सासहित तराईको भू–भाग भारतसँगको खुला सीमा जोडिएकोले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि सो क्षेत्रमा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। 

स्थलमार्ग हुँदै सबैभन्दा बढी भारतीय तथा विदेशी पर्यटक भित्रिने बीरगन्ज रक्सौल नाकामा प्रशासनको निर्देशनपछि कोरोनाबारे जाँच तथा यसको सचेतना सहायता कक्ष स्थापना गरिएको वीरगन्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख अरुण महतोले बताए। 

सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शङ्का लागेमा नजीकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर प्रसाद चौरसियाले जानकारी दिए। 

यता नारायणी अस्पालमा कोरोना भाइरसको शंकास्पद विरामी आएमा उपचारका लागि आइसुलेन्स वार्ड समेत संचालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए।

अहिलेसम्म वीरगन्जमा कोरोना भाइरस संक्रमित भेटिएका छैनन्।

प्रकाशित मिति: : 2020-02-05 03:58:18

प्रतिकृया दिनुहोस्