मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पूछारको सरस्वती युथ क्लबलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो।
मछिन्द्रको फराकिलो जीतमा दीपक राईले दुई गोल गरे भने यस्तै देवेन्द्र तामाङ, विशाल राई ए, एडिलाजा सोमिडे र आन्द्रेस नियाले एक-एक गोल गरे। सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए।
मछिन्द्रले सरस्वतीविरुद्ध पहिलो हाफमा एक गोलको मात्र अग्रता लिए पनि दोस्रो हाफमा पाँच गोल गरेको हो।
खेलको ४० औं मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा भने गोल वर्षा गर्यो।
खेलको ५४ औं मिनेटमा दीपक राईले व्यक्तिगत पहिलो गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे। ५९ औं मिनेटमा विशाल राईले मछिन्द्रका लागि तेस्रो गोल गरे। ७७ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रको अग्रता ४-० बनाए।
८७ औं मिनेटमा सरस्वतीका काजिमले पेनाल्टीमा गोल फर्काउँदै खेललाई ४-१ मा ल्याए।
तर इन्जुरी समयमा मछिन्द्रले दुई गोल थप्दै जित अन्तर फराकिलो बनायो। मछिन्द्रका लागि सोमिडेले गोल इन्जुरी टाइमको चौथो र आन्द्रेस नियाले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरे।
जितपछि ११ खेलबाट २५ अंक जोड्दै मछिन्द्रले उपाधि होड बलियो बनाएको छ। एक खेल कम खेलेको त्रिभुवन आर्मी दोस्रो स्थानमा छ। आर्मीले बिहीबार नै एपीएफसँग खेल्दैछ। उक्त खेल जिते पुनः शीर्ष स्थानमा फर्कनेछ।
११ खेलमा ४ अंक मात्र जोडेको सरस्वती भने अंकतालिकामा पुछारमै छ।