पेले ‘डिप्रेशन’को सिकार, बिना सहायता हिडडुल गर्न नसक्ने भए

विश्व फुटबल महान् खेलाडी पेलेको खेल जीवनलाई लिएर अनेक किस्सा बनेका छन्। ती अधिकांश किस्सामा पेलेको फुटबल क्षमताको प्रतिविम्ब देखिन्छ। उमेरले करिब आठ दशक छुन लागेका पेलेको खेलाडी जीवन र उनको क्षमताको चर्चा अझैसम्म भइरहेकै छ।

फुटबलका जादूगर तथा ‘कालो मोती’ भनेर चिनिने पेलेको रेकर्ड त्यस्तो छ। जसको बराबरी आजसम्म कोही फुटबलरले गर्न सकेका छैनन्। ब्राजिल मात्र होइन संसारभर फुटबललाई लोकप्रिय बनाउने पेलेको नाममा जति रेकर्ड रहेका छन्। त्यती नै रोचक कहानी उनको नाममा पनि छ।

तर अहिले उनी रोगले थलिएका छन्। उनी हिपको समस्याको कारण सहायता बिना हिडडुल गर्न नसक्ने भएका छन्। पेले पछिल्लो समय कुनै कार्यक्रममा देखिदैन। जसको पुष्टि पेलेका छोरा एडिन्होले गरेका छन्।

उमेरले ७९ वर्ष टेकेका पेलेलाई हाल ‘डिप्रेशन’मा छन्। उनी आफ्नो बिग्रदै गएको शरिरको चिन्ताको कारण ‘डिप्रेशन’को सिकार भएका हुन्।  

‘उहाँको स्वास्थ्य नाजुक छ। उहाँ एक्लै हिडडुल गर्न नसक्ने हुनुभएको छ। बाहिर निस्कन समेत हिच्कहिचाउने हुनु भएको छ’, एडिन्होले ग्लोब टिभीलाई भने, ‘त्यसैले उहाँसँग गतिशीलताको समस्या छ र एक प्रकारको ‘डिप्रेसन’ भएको छ।’

उनले आफ्नो बावु आफ्नो स्वास्थ्यकै कारण बाहिर ननिस्किएको बताए। ‘उहाँ सँधै प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो। अहिले उहाँ ठीकसँग हिंड्न गर्न सक्नु हुन्न।उहाँ लज्जित हुनुहुन्छ र बाहिर जान चाहन्नु हुनन्।’ उनले भने।

एडिन्होले हिपको अप्रेशनपछि राम्रोसँग फिजियोथेरापी नगर्दा अहिले समस्या देखिएको पनि बताए। पेलेले गत वर्ष मुत्रनलीको समस्याको कारण केहि साता अस्पतालमा बिताएका थिए। उनी पछिल्लो समय पेले धेरै समारोहमा व्हिलचेयरको सहायतामा उपस्थित हुँदै आएका छन्।

तीन पटकको विश्वकप विजेता  विश्वका सर्वकालीन महान् फुटबल खेलाडी पेलेले २१ वर्षको खेल जीवनमा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल गरे। ब्राजिलको जर्सीमा ९१ खेल खेलेका उनले ७७ गोल गरेका थिए।

प्रकाशित मिति: : 2020-02-11 20:19:08

प्रतिकृया दिनुहोस्