ज्ञवालीलाई आईजीपी बनाउन गृहको प्रस्ताव

 गृह मन्त्रालयले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवालीलाई नयाँ महानिरीक्षक (आईजीपी)मा नियुक्त बनाउन प्रस्ताव तयार गरेको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको हो।

मंगलवार बस्ने मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसँग छुट्टै बसेर आईजीपी नियुक्तिबारे छलफल गरेका थिए। त्यसक्रममा ओलीले ज्ञवालीकै नाम प्रस्ताव गरेको स्रोतले बतायो।

आईजीपी सर्वेन्द्र खनालले मंगलबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाएका छन्। खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातले मंगलबारबाट अवकाश पाउन लागेका छन्। 

यही ब्याचको वैकल्पिक टोलीमा २७ औं प्रहरी प्रमुखका लागि डीआईजी ठाकुर ज्ञवाली र तारणी लम्साल प्रतिस्पर्धामा छन्।

ज्ञवाली २०४७ असार २५ देखि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। अन्य डीआईजीहरु जुनियर ब्याचका भएकाले ज्ञवाली आईजीपी भएका हुन्।

ज्ञवाली र लम्साल दुवै व्यावसायिक र विवादरहित प्रहरी अधिकृत मानिन्छन् तर कार्यसम्पादन मूल्यांकनका आधारमा भने ज्ञवाली लम्सालभन्दा केहि अघि छन्।

प्रहरी नियमावलीमा आईजीपीको नियुक्ति गर्दा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर निर्णय लिनु पर्ने व्यवस्था छ।

 

प्रकाशित मिति: : 2020-02-12 02:18:51

प्रतिकृया दिनुहोस्