वुहानबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न १ सय ९९ वटा बेड तयार

बिएल संवाददाता

काठमाडाै‌ं

चीनको वुहानबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न सरकारले १ सय ९९ वटा बेड तयार पारेको छ। 

कोरोना भाइरस संक्रमित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न चारवटा ब्लकमा सरकारी र निजी अस्पतालमा गरी १ सय ४७ वटा आइसोलेसन वार्ड तयार पारेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए।

मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमानका चालक दलका सदस्य गरी ८५ जनालाई तालिम दिएको मन्त्री ढकालले बताए। विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिने उनले जानकारी दिए। 

चीनबाट स्वदेश फर्किन चाहने १ सय ८५ नेपालीलाई एकैपटक  फागुन ३ गते नेपाल ल्याउने र विमानस्थलमा स्वास्थ्य जाँच गरेर सिधै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ।

चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र संक्रमण नभएको पुष्टि भएपछि मात्र घर जान दिइने मन्त्री ढकालले बताए। 
 

प्रकाशित मिति: : 2020-02-12 06:31:19

प्रतिकृया दिनुहोस्