संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा फराकिलो जित हात पारेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको खेलमा संकटाले रेलिगेशनमा परेको टिम सरस्वती युथ क्लबमाथि ६–२ गोल अन्तरको जित हात पारेको हो।
संकटालाई जित दिलाउन मेसौकेले दुई गोल गरे। यस्तै सुवास गुरुङ, टिका राज गुरुङ र रोशन पहाडीले एक एक गोल गरे। संकटाले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो।
सरस्वतीका काजिम बुसारीले दुई गोल फर्काए। सरस्वतीका पूर्ण बहादुर श्रेष्ठले आत्मघाती गोल गरे।
पहिलो हाफमै संकटाले ३–० को अग्रता बनाएको थियो।
खेलको पाँचौं मिनेटमा मेसौकेले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए। ३३ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको ३७ औं मिनेटमा सुवासले गोल गर्दै संकटालाई ३-० को अग्रता दिलाए।
दोस्रो हाफमा दुवै टोलीबाट थप पाँच गोल गरे। खेलको ५६ औं मिनेटमा टिकाले गोल गर्दै संकटालाई ४-० को अग्रता दिलाए। ६५ औं मिनेटमा सरस्वतीका पुर्णबहादुरले आत्मघाती गोल गर्दा संकटा ५-० को बन्यो।
खेलको ६६ औं मिनेटमा सरस्वतीका बुसारीले गोल गर्दै खेल ५-१ को स्थितिमा ल्याए। ७९ औं मिनेटमा बुसारीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल खेल ५-२ को बनाए। तर, खेलको ८३ औं मिनेटमा रोशनले गोल गर्दै संकटालाई ६-२ को जित दिलाए।
फराकिलो जितसँगै १३ खेलमा १८ अंक जोडेको संकटाले सातौं स्थानमा रहदै लिग सक्काएको छ।
सरस्वतीले भने बी डिभिजनमा झरेको छ। पुछारको सरस्वतीले १३ खेलमा मात्र ४ अंक जोड्यो।