‘प्रहरीले सबैभन्दा पहिले आफ्नो बिग्रिएको छवि सुधार्नुपर्ने छ’

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसँग अन्तर्वार्ता (भिडिओसहित)

२९ माघमा प्रहरी महानिरीक्षकका रूपमा पदबहाली गरेपछि ठाकुरप्रसाद ज्ञवालीले यसअघिका प्रहरी प्रमुखभन्दा भिन्नै ‘जेस्चर’ दिने प्रयास गरे। पदबहाली गरेकै दिन संगठन भित्र र बाहिरसमेत बेग्लै छवि बनाएका पूर्व प्रहरी महानिरीक्षकहरूसँग भेटेर सल्लाह लिएका ज्ञवालीले पूर्ववर्तीहरूजस्तो आफ्ना प्राथमिकताको घोषणा र प्रचार गरेका छैनन्। साढे २९ वर्षको प्रहरी जीवनमा ‘लो प्रोफाइल’मा रहेर काम गर्ने व्यावसायिक अधिकृतको छवि बनाएका ज्ञवालीसँग ‘हाइप्रोफाइल पद’ मानिने प्रहरी प्रमुखका रूपमा प्राप्त कार्यकाल भने छोटो छ, जम्माजम्मी पाँच महीना। यो पाँच महीनामा नेपाल प्रहरीलाई हाँक्ने उनका योजना, चुनौतीलगायतका विषयमा रामेश्वर बोहराले गरेको अन्तर्वार्ताको सारसंक्षेपः

केही दिन पहिले मात्र नेपाल प्रहरीको नेतृत्व सम्हाल्नुभो। कस्तो हुँदैछ प्रहरी प्रमुखको अनुभव? 

शुरूआतमा चिनजान, भेटघाट र औपचारिक कार्यक्रममै समय बित्दो रहेछ। केही दिनमै यो पदको अनुभव बटुल्न त सम्भव छैन। तर, मैले राम्रै अनुभव गरिरहेको छु। 

पछिल्लो समय बहालवाला प्रहरी प्रमुखको पदावधि सकिने दिनसम्म पनि नयाँ प्रहरी प्रमुख को हुन्छ भनेर आकलन गर्न नसकिने भएको छ। नेतृत्व विकास अवरुद्ध जस्तै छ। तपाईं पनि अचानक प्रहरी प्रमुख बन्नुभो। के यो अपेक्षित थियो?

मेरो विचारमा यसलाई अचानक भन्यो भने अन्यथा हुन्छ होला। आईजीपी हुन्छु भन्ने मेरो आत्मविश्वास थियो। तर, नियुक्त गर्ने अधिकार त नेपाल सरकारकै हो। आईजीपी बनाउने सरकारको अधिकारबारे बोलेर म हुन्छु नै भन्ने प्रचारबाजी गर्ने कुरा पनि भएन। तर, ममा त्यस किसिमको आत्मविश्वास थियो। मलाई अन्यथा गरिँदैन भन्ने लागेको थियो। तैपनि अन्तिम दिनसम्म निर्णय नहुँदा चाहिँ सरकारले अरु कसैलाई दिन पनि सक्छ होला भन्ने चाहिँ लागेको थियो। 

मैले यत्तिकै नेतृत्वमा पुग्छु भनेर दाबी गरेको पनि होइन। मेरो व्यावसायिक दक्षता, साढे २९ वर्षको प्रहरी जीवनको अनुभव, यसभन्दा अगाडि आफूले कार्यक्षेत्रमा गरेका काम र त्यो कामले दिएका परिणामका आधारमा पनि मलाई अन्यथा गर्न सक्ने अवस्था नरहन सक्छ र नेपाल सरकारले सही मूल्यांकन गरेर मलाई प्रहरी महानिरीक्षक नियुक्त गर्छ भन्ने आत्मविश्वास थियो। 

आजसम्म तपाईं सधैँ ‘लो प्रोफाइल’मा रहेर काम गर्नुभो। अब त ‘हाइप्रोफाइल’ पदमै पुग्नुभो । फरक चाहिँ के हुँदोरहेछ? 

प्रकाशित मिति: : 2020-02-17 23:29:58

प्रतिकृया दिनुहोस्