‘वृद्धभत्ताका योजनाकार भीमबहादुरकाे निधन अपूरणीय क्षति’ (भिडियोसहित)

नेपालमा बृद्धभत्ताका परिकल्पनाकार भीमबहादुर अधिकारी आज (फागुन ५) तेह्रौँ पुण्यतिथि हो। तत्कालिन नेकपा एमालेका प्रधानमन्त्री मनमोहन अधिकारीको २०५१ सालमा नौ महिने प्रधानमन्त्रित्वकालमा बृद्धभत्ता लागू गरिएको थियो।

भीमबहादुरले राजा वीरेन्द्रलगायत पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि बृद्ध भत्त्ता लागु गर्न सुझाव दिएका थिए। उनीहरुबाट आश्वासन त पाए तर लागु हुन सकेन। २०४६ सालमा प्रजातन्त्र स्थापनापछि नेपालमा कम्युनिष्टहरुलाई लिएर एउटा भ्रम फैलाइएको थियो– नेपालमा कम्युनिष्ट व्यवस्था आए कम्बोडिया पोलपोटले झै बृद्धहरुको नरस‌ंहार हुनेछ।

भीमबहादुरको परिकल्पना मनमोहन सरकारका लागि प्रभावशाली बन्यो। अहिले पनि बाम बुद्धिजीविहरु बृद्धभत्तालाई कम्युनिष्ट सरकारको सबैभन्दा ठूलो लोककल्याणकारी काम बताउन भूल्दैनन्।
 
उनै भीमबहादुरको माघ २३ गते ९० वर्षको उमेरमा निधन भएको थियो। नेपालका पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा भीमबहादुरलाई आदर्श पुरुष भन्न रुचाउँछन्। उनी भीमबहादुरसँग बिताएको समयलाई अमुल्य मान्छन् र भन्छन्–‘उहाँसँग बिताएको समय मेरो लागि जीवनको ठूलो मार्ग दर्शन हो।’
 
भेषबहादुरले हाइस्कुल पढ्दादेखि नै भीमबहादुरसँग सहकार्य गर्न पाएका थिए। ‘उहाँ मभन्दा ४–५ वर्षले जेठो हुनुहुन्थ्यो। हामी एउटै कोठामा सुत्थ्यौँ’, उनले भने–‘पूर्खैउली घर तनहुँबाट सपरिवार डिल्लीबजारस्थित घरमा रहँदा भीमबहादुर खाटमा सुत्नु हुन्थ्यो भने म भूइँमा सुत्थे। त्यो दिन अहिले नै हो जस्तो लाग्छ।’

भेषबहादुर स्कुलबाट फर्किदा भीमबहादुर अफिसबाट फर्किने समय एउटै पर्थ्यो। ‘उहाँ उच्च मानवीय पक्ष भएको मान्छे हुनुहुन्थ्यो। मलाई लाग्छ उहाँको जन्म नै समाजसेवा गर्नलाई भएको हो।’

शिक्षा र स्वास्थ्यको क्षेत्रमा भीमबहादुरले गरेको योगदान अतुलनीय मानिन्छ। तनहुँमा जन्मिएका भीमबहादुर सानै उमेरदेखि सामाजिक काममा अग्रसर थिए। उनले गाउँ सेवा कोषबाट विधिवत रुपमा परोपकार कामको थालनी गरेका थिए। उनको जीवन सरल र सहज थियो। उनले सहयोग गरेका मानिसहरु देशको उपल्लो निकायमा छन्।

उनी समाजसेवा गरेपनि त्यसको प्रचारप्रसार गर्दै हिड्दैन्थे। भेषबहादुर उनको निधनलाई अपूरणीय क्षति भएको मान्छन्।

प्रकाशित मिति: : 2020-02-18 22:00:00

प्रतिकृया दिनुहोस्