जगरनाथपुरका विद्यालयहरुमा दिवा खाजामा अनियमिता, कमसल खाद्य पदार्थकाे प्रयोग

पर्साको जगरनाथपुर गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित दिवा खाजाको नाममा व्यापक अनियमिता भइरहेका अभिभावकहरु गुनासो गरेका छन्। 

आर्थिक वर्ष २०७५/७६ मा संचालन हुनु पर्ने दिवा खाजा कार्यक्रम यस गाउँपालिकाका ३१ विद्यालयमा चालू आर्थिक वर्षको माघ महिनादेखि संचालनमा आएका छन्। विद्यालयहरुका दिवा खाजा समिति तथा प्रधानाध्यापकहरुले रकम जोगाउनका लागि कमसल खाद्य पदार्थ प्रयोगमा ल्याउने गरेको पाइएको हो। 

विद्यालयले भारतीय बजार इनरवाबाट गुणस्तरहिन हलुवा, चिउरा, भूजा, चना, चिनी तथा तेल खरिद गरी दिवा खाजामा प्रयोग गर्ने गरेको अभिभावकहरुले बताएका छन्। ‘नेपालमा उत्पादन चाउचाउ तथा पाउरोटी जस्ता ‘जंग फुड’ विद्यार्थीको खाजाका लागि प्रयोग भइरहेका छन्। एक अभिभावकले भने, ‘स–साना बालबालिकाहरुको स्वास्थ्यमाथि पनि खेलबाड गरिएको छ।’

गाउँपालिका भरिका प्रधानाध्यापकहरुले बालबालिकाको खाजा बिभिन्न तत्वहरूको समिश्रण अर्थात पौष्टिक आहारका लागि प्रत्येक दिनको खाजाको तालिका बनाएका छन्। जसमा आइतबार भुजा र चना, सोमबार चिउरा र चना, मंगलबारका दिन फलफूल, बुधबारका दिन हलुवा खाजाको रुपमा खुवाइने तालिका रहेको छ।

त्यस्तै बिहिबार अन्डा र पाउरोटी र शुक्रबारको दिन मासु र भुजा खुवाइने तालिकामा उल्लेख छ। तर अधिकांश विद्यालयका प्रधानाध्यापकहरुले पैसा बचाउन मासु र खाजा नदिएको अभिभावकहरुले आरोप लगाएका छन्। 

‘प्रति विद्यार्थी प्रति दिन १५ रुपैयाँका दरको खाजा रकम निकासा गरेपनि प्रधानाध्यापकहरुले एक दिनमा एउटा विद्यार्थीहरुलाई ५ रुपैयाँदेखि ८ रुपैयाँ मूल्य बराबरको खाजा दिने गरेका छन्,’ एक अभिभावकले भने,‘ छोराछोरीहरु पेट भरिदैन भन्छन् अनि ‘टिफिन’ घरैबाट लैजान्छन्।’ गाउँपालिकाबाट खाजाको रकम निकासाका लागि विद्यालयमा भएका विद्यार्थी भन्दा करिब पचास प्रतिशत बढि विद्यार्थी संख्या देखाई खाजाको रकम समेत माग गरेको स्रोतले बताएको छ।

जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले दिवा खाजाको सम्बन्धमा गुनासाहरु आएकाले छिटै यसको अनुगमन गर्ने बताए। मापदण्ड अनुसार तथा तोकिएका रकम बराबरको खाजा विद्यार्थीहरुले नपाए त्यस्ता प्रधानाध्यापक तथा खाजा समितिलाई कारवाही गर्ने अधिकृत गिरीले बताए। साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिबरणमाथि छानबिन गर्ने अधिकृत गिरीले बिएल नेपाली सेवासँग बताए।

प्रकाशित मिति: : 2020-02-20 22:17:31

प्रतिकृया दिनुहोस्