जेलबाङमा होमस्टे तालिम सुरू

प्रदेश नं. ५ , रोल्पाको सुनछहरी गाउँपालिका-७ जेलबाङमा एक साता लामो घरबास (होमस्टे) तालिम सुरू भएको छ।

फागुन ६ गते देखि १२ गतेसम्म सञ्चालन हुने होमस्टे तालिममा गाउँपालिकाका ७ वटै वडाबाट ४१ जना महिला/पुरूषले उत्सुकताका साथ सहभागी भएका छन्।

रोल्पा जिल्लामै पहिलो पटक नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठान (नाथम)द्वारा होमस्टे तालिम प्रदान गरेको नाथमका एक अधिकारीले बिएल नेपाली सेवालाई जानकारी दिए।

पर्यटन प्रवर्धन तथा गेमी होमस्टे, जेलबाङका अध्यक्ष पृथ्वी पुनले प्राकृतिक र धार्मिक रूपले सुन्दर जेलबाङ मगर समुदायको वाहुल्य र दलित जातिको बसोवास रहेको बताउदै तालिम लगत्तै गाउँमा व्यवस्थित तरिकाले होमस्टे सञ्चालन गरेर आन्तरिक तथा वाह्य पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए।

‘अतिथि देवो भवः’ भन्ने भावनाका बाँचेका हामी नेपालीले पाहुनाको सेवा सत्कार गर्न जन्मजातै सिकेका छौ। तर पाहुनाको सेवा, सहयोग  गरेपछि हुने स्वरोजगार, र आय-आर्जनको एउटा गतिलो माध्यम होमस्टे भएकाले थप तालिम दिन आफूहरू यहाँ आएको नाथमका प्रशिक्षक तथा तालिम संयोजक विपिन नेपालले जानकारी दिए।

‘मिठो बोली, सफा सुग्घर गाउँ, स्थानीय उत्पादनलाई विभिन्न परिकार बनाई, खाने कुरा मिलाएर स्वच्छ तरिकाले पस्कने र बास बस्ने व्यवस्था मिलाउनुनै होमस्टे भएको उनले स्पष्ट पारे।

त्यसैगरी सुनछहरी गाउँपालिकाका टिकाबहादुर पुनले होमस्टेको सिप र ज्ञान सिकेर व्यवहारमा लागू गर्दै स्थानियवासिको आयस्रोत वृद्धि गर्न मद्दत पुग्ने बताए ।  

समाजसेवी, वुद्धिजिवि तथा अग्रज चन्द्र बहादुर रोकामगरले उमेर र युगसँगै जमाना अनुसार पेशा अँगाल्दै अगाडि बढ्नुपर्ने बताए। उनले होमस्टेको तालिम लिएर प्राप्त शिप र ज्ञान व्यवहारमा उतार्नुपर्ने सुझाए।

जेलवाङमा सडक, सुरक्षा, सञ्चार, सडक, र सफा खाने पानीको पहुँच पुगेको भन्दै उनले अब पाहुनालाई सेवा सुविधा र उपयुक्त बसोवास मिलाएर आतिथ्य सत्कारमा अगाडि बढ्नुपर्ने औल्याए।   

सुनछहरी गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि आसबहादुर पुन (रक्तिम) ले शान्ति र समृद्ध नेपाल विकासका लागि गाउलेको आर्थिक स्तर सुधार्न पर्यटन एउटा गतिलो माध्यम भएको तर्क गरे।

उनले होमस्टे तालिमद्वारा गाउँघरको जीवनशैली, संस्कृति र स्थानीय उत्पादन आगन्तुकलाई पस्किँदै आय आर्जन गर्नमा मद्दत पुग्ने आशा ब्यक्त गरे।

उनले प्राप्त शिप र तालिमले स्थानीयको क्षमता वृद्धि गर्दै चेतनाको समेत विकास हुने भएकाले भन्दै होमस्टे तालिम अर्थपूर्ण र परिणामुखि होस भन्दै सफलताको कामना समेत गरे।

तालिममा सेरम, गाम, सिउरी, जयमाकसला, फगाम, जेलबाङलगाएतबाट करिब ४१ जनाको प्रशिक्षार्थी सहभागि जनाएका छन्।

सशस्त्र जनयुद्वमा सबैभन्दा धेरै जेलबाङका ७३ स्थानीय युवा गुमाएको छ भने सुनछहारी गाउँपालिकाका मात्रै १४० जना सशस्त्र जनयुद्वमा मारिनुका साथै कैयौं घाईते र अपांग भएका छन्।

पर्यटनको हिसाबले सुनछहरी गाउँपालिकामा इतिहाससँगै प्राकृतिक सौन्दर्य, झरना, ताल, मगर संस्कृति र जीवनशैली, फलाम खानीको अवशेषको अवलोकन र अर्गानिक खानपिनको स्वाद लिन सकिन्छ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ४७ वर्षअघि स्थापित भएको पर्यटन संस्था हो। होटल र पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ विसं २०२९ मा स्थापना गरेको यो संस्थाले विभिन्न तहको शैक्षिक अध्ययन, अध्यापन तथा तालीम सञ्चालन गर्दै आएको छ।

हालसम्म संस्थाले विभिन्न क्षेत्रका करिब ४८ हजार जनशक्ति उत्पादन गरिसकेको छ। 

धार्मिक पर्यटकीय गन्तब्य जलजला र गुरिल्ला पदमार्गको प्रवेशद्वारसमेत रहेको जेलवाङ सुलीचौर बजारबाट २३ किमी दुरीमा पर्छ।

नाथम रविभवन, काठमाडौंको प्राविधिक सहयोग र सुनछहरी गाउँपालिका र वडा नम्बर-७ को आर्थिक सहयोग भएको होमस्टे तालिमको आयोजना पर्यटन प्रवर्धन तथा गेमी होमस्टे जेलबाङले गरेको हो।

प्रकाशित मिति: : 2020-02-22 06:42:54

प्रतिकृया दिनुहोस्