अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरस्वती युथ क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ।
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा प्रतियोगिताको ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनलाई एन्फाले २ वर्षको प्रतिबन्ध लगाएको हो।
लिग अन्तर्गत ५९औं खेलमा हिमालयन शेर्पाविरुद्धको खेलमा नियम विपरीत कार्य गरेकोले अनुशासन समितिको बैठकले प्रतिबन्धको निर्णय गरेको हो।
अब एन्फाको आयोजना तथा एन्फाबाट स्वीकृत भएको कुनै पनि राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय फुटबल खेल्नबाट आज (बुधबार)का मितीदेखि लागू हुनेगरी २ वर्षको लागि प्रतिबन्ध लगाएको एन्फाले जनाएको छ। यस्तै उनलाई ५० जहार जरिमानासमेत लगाएको छ।
यस्तै उक्त खेलमै प्रतियोगिता नियमावली विपरीत कार्य गरेको भन्द हिमालयन शेर्पाका गोलकिपर प्रशिक्षक मिनबहादुर बस्नेतलाई अनुशासन समितिले कडा चेतावनी दिएको एन्फाले जनाएको छ।
यस्तै हिमालयनका टिम म्यानेजर बिजेन्द्र पुडासैनीलाई नियमावली विपरीत काम गरेको भन्दै तीन वर्षसम्मको लागि प्रतिबन्ध लगाइएको र ३० हजार जरिमाना लगाएको छ।
यस्ताे थियो घटना
१४ माघमा सम्पन्न नवौं चरणको खेलमा हिमालयन शेर्पालाई सरस्वती युथ क्लबले ४–३ गोलले हरायो। लिगमा पहिलो जितको खोजीमा रहेको सरस्वतीले आफूभन्दा बलियो टोली शेर्पामाथि फराकिलो जित हात पारेपछि सबै आश्चर्यमा परेका थिए। त्यसपछि क्लबका प्रशिक्षक नै एकअर्काप्रति खेल मिलेमतो जस्तो सगीन आरोप–प्रत्यारोपमा उत्रिए। त्यसको अग्रपंक्तिमा रहे, एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ।
उनले एन्फा अध्यक्ष कर्मा्छिरिङको हिमालयन शेर्पा र उपाध्यक्ष क्षितिज पराजुलीको सरस्वती युथ क्लबले मिलेमतो गरेर एपीएफलाई रेलिगेशनमा पार्न खोजेको आरोप लगाए। तामाङले आफूले २६ वर्ष फुटबलमा बिताएको दाबी गर्दै नेपालमा म्याच फिक्सिङको ‘खतरा एजेन्ट’ भएको खुलासा गरेका थिए।
‘यहाँ फुटबल खेलिँदैन, मैदानमा पस्ने काम मात्र हुन्छ’, एपीएफ प्रशिक्षक तामाङले भने, ‘अब सरस्वतीकै एक मेनेजरले हामी बराबरी खेल्छौं भनेर मलाई नै भनेका थिए। किन बराबरी खेल्ने भनेर सोध्दा त्यति नै खेल्ने भनेको छ भनेका थिए।’
त्यसपछि एन्फाले थप अनुसन्धानका लागि भन्दै लिगका इन्टिग्रिटी अफिसर सुदीप आचार्यसहितको छानबिन समिति गठन गर्यो।
समितिले सरस्वतीका कप्तान दीपेशले शेर्पा र हिमालयन शेर्पाका खेलाडी र अफिसियल गरि ५ जनालाई सोधपुछ गरेपछि मिलेमतोको बिषय छताछुल्ल भयो। दीपेशले शेर्पाका गोलकिपर किशोर गिरीलाई मिलेमतोका लागि प्रस्ताव गरेको देखिएपछि त्यसकै आधारमा उनीलाई ३ खेलमा निलम्बन गरियो।
छानबिन समिति यतिमै सिमित भएन शेर्पाका गोलकिपर किशोर, आशिष गुरुङ, एक विदेशी खेलाडी, गोलरक्षक प्रशिक्षक मिन बस्नेत र व्यवस्थापक विजेन्द्र पुडासैनीसँग पनि साेधपुछ गर्याे।
साेधपुछको क्रममा गोलकिपर किशोरले दीपेशले गरेको फोन ‘ह्यान्डस्फ्री’ गरेर गोलकिपर प्रशिक्षक, व्यवस्थापक अन्य केहि खेलाडीलाई सुनाएको देखियो। शेर्पा गोलकिपरले दीपेशको प्रस्तावलाई अस्वीकार गरेको देखिएकोले उनीमाथि कुनै कारवाही भएन। ‘खेल मिलेमतो भएको देखिँदैन। तर जसले प्रस्ताव गरेको देखिन्छ त्यो मिलेमताको सुरुवात हो’, एक पदाधिकारीले बिएल नेपालीसँग भनेका थिए।
ती पदाधिकारीले भनेको केही दिनमै अर्थात २७ माघमा च्यासल युथ क्लबसँग सरस्वती २–१ गोल अन्तरले पराजित भयो। लिगमा अन्तिम चरणको खेल बाँकी छँदै सरस्वती बी डिभिजनमा घटुवा हुने पक्का भयो। सोही दिन सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले फेरी सशस्त्र प्रहरी बलको एपीएफमाथि म्याच फिक्सिङ गरेको आरोप लगाए।
सरस्वती च्यासलसँग हारकै दिन अघिल्लो खेलमा एपीएफले फ्रेण्ड्स क्बलमाथि ५–२ को नतिजा निकाल्दै ‘रेलिगेशन’ टारेको थियो। चारवटै क्लबका प्रशिक्षकले एकअर्काको आरोपलाई नकारे पनि शंकाको बादल भने हट्न सकेकाे थिएन।
जावलाखेलविरुद्धको खेलपछि फ्रेण्ड्स क्लबका एक अफिसियल अनुप कार्कीले त एन्फाले नै मिलेमतोमा खेल खेलाएको आरोप लगाएका थिए। ‘पोष्ट म्याच कन्फ्रेन्स’मा कार्कीले भने,‘यो त शतप्रतिशत मिलेमतोको खेल हो। एन्फाले मिलेमतोको खेल खेलाउँछ। यस्तो एकपक्षीय खेल पनि हुन्छ? यो त अति भयो। मैले चार खेलमा यस्तो भएको भनेर एन्फालाई निवेदन पनि दिएँ, तर केही सुनुवाइ भएन।’