‘मलाई राजकुमार हैन, ह्यारी मात्र भन्नु’

बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई ‘ह्यारी’ मात्रै भन्न आग्रह गरेका छन्।  

शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन थालेका ह्यारीले बुधबार आयोजित एक कार्यक्रममा आफूलाई ‘ह्यारी’ मात्रै भन्न आग्रह गरेका हुन्।  

आफूहरूले नै चाहेर शाही पदवीबाट मुक्त भएकाले अब पनि शाही पदावीबाटै सम्बोधन गर्न उपयुक्त नहुने उनको भनाइ छ । 

आफ्नी श्रीमती र छोरासँगै आफू सर्वसाधारण नागरिक भएर काम गर्न चाहेकाले सबैले त्यही तरिकाले ग्रहण गर्न र व्यवहार गर्न ह्यारीले आग्रह गर्नुभयो । 

ह्यारी दम्पत्तिले केही हप्ता अगाडि शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन बिताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए।

शाही दरबारले पनि चरण चरणका छलफल र प्रयासहरूलाई आधार मानेर उनीहरूको घोषणालाई स्वीकृति दिने निर्णय गरेको थियो ।

शाही दरबारको सो निर्णयसँगै उनीहरूले शाही उपाधि अन्त्य हुने सुनिश्चित भए पनि आगामी वसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ । 

दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम पनि नपाउने भएका छन् । 

बेलायती महारानी एलिजावेथ द्वितीयाका नाती ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनले केही समयको प्रेम सम्बन्धपछि सन् २०१८ मा विवाह गरेका हुन्।

ह्यारी अहिले ३५ वर्षको भएका छन् भने उनकी श्रीमती मेगन ३८ वर्षको भएका छन्। राजकुमार ह्यारी बेलायती राजपरिवारको छैटौँ उत्तराधिकारी हुन् ।

प्रकाशित मिति: : 2020-02-27 10:28:05

प्रतिकृया दिनुहोस्