अक्षरयात्रा प्रतिभा पुरस्कारबाट पौडेल पुरस्कृत 

हरेक महिनाको तेस्रो शनिबार पोखरा सेरोफेरोका डाँडापाखा डुलेर साहित्य सृजना एवं वाचन गर्ने अभियान अक्षरयात्राले वर्सेनी ‘अक्षरयात्रा प्रतिभा पुरस्कार’ प्रदान गर्दछ । उसले यसपाली युवा कवि सञ्जीव पौडेललाई पुरस्कृत गरेको छ । 

अक्षरयात्रामा सहभागी हुने उदीयमान स्रष्टालाई प्रदान गरिने पुरस्कार कास्कीको हंसपुरमा आयोजित अक्षरयात्राको १७५ औँ शृङ्खलामा संस्कृतिकर्मी तीर्थ श्रेष्ठको हातबाट पौडेललाई पुरस्कृत गरिएको हो । विगत दुई दशकदेखि साहित्य सृजना, साहित्यिक अभियान र शिक्षण पेशामा क्रियाशील पौडेललाई शनिबार पुरस्कार दिइएको हो । पौडेलको ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित छ । 

युवा साहित्यकार गोविन्द गिरी र कृष्ण देवकोटाद्वारा विसं २०६६ सालमा स्थापित पुरस्कारको राशि पाँच हजार पाँच सय पचपन्न रुपैयाँ छ ।

पुरस्कार वितरण कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, साहित्यकार सूर्य खड्का विर्खची, संस्कृतिकर्मी श्रेष्ठ, अक्षरयात्राका परिकल्पनाकार प्रकट पगेनी ‘शिव’, पुरस्कारका संस्थापक गिरी, साहित्यकार लक्ष्मण थापा, मोहन भण्डारीलगायतले मन्तव्य राखेका थिए ।  

कार्यक्रममा साहित्यकारहरू प्रकट पगेनी पगेनी, सूर्य बिखर्ची, लक्ष्मण थापा, मोहन भण्डारी, शिव सङ्कल्प, ईशा शाह, लालमणि पोखरेल, त्रुपक, विष्णुप्रसाद पोखरेल, जीवनाथ सुवेदी, माया कुँवर, मेघराज आचार्य, श्रीराम अधिकारी ‘गोर्जे’, नवराज देवकोटा, नेत्रराज घिमिरे, विश्वराज न्यौपाने, सौगात पोखरेल, सरला लामिछाने ‘सरू’, बिर्सना बस्नेत, मिर्मिसा पराजुली, पारु भण्डारी, भरतराज पौडेल, के.आर. ढकाल, गोविन्द गिरी, सुरज उपाध्याय, सञ्जीव पौडेल, अशोक ढकाल, कमल सुवेदी, करुणा भट्टराई, हरिराज अधिकारी, देवीरमण न्यौपाने, तारा पौडेल लगायतले रचना सुनाएका थिए। 

प्रकाशित मिति: : 2020-03-02 05:48:21

प्रतिकृया दिनुहोस्