विश्वकप छनोट अन्तर्गत एसियामा हुने खेलहरु स्थगित गरिएको छ। विश्वभर फैलिएको कोरोना भाइरसको असर देखिन थालेपछि सबै खेलहरु स्थगित गरिएको हो।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) मुख्यालयमा बिहीबार बसेको बैठकमा फिफा र एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको रुपमा रहेका खेलहरु तत्काल लागि स्थगित गर्ने निर्णय गरेको छ।
उक्त बैठकले व्यक्तिहरुको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै छनोट चरणका खेलहरु स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
यसबारे सबै सदस्य संघहरुलाई जानकारी गराइनेसमेत जनाएको छ।
फिफा र एएफसीले आफ्ना विशेषज्ञहरुसँग आवश्यक परामर्श गरेर विश्वकप छनोट, एसियन कप छनोट, महिला ओलम्पिक छनोटलगायतका विभिन्न खेलकुद गतिविधिहरुबारे सम्बन्धितलाई जानकारी गराउनेसमेत बताएको छ।
फिफाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगै महसंघ र सदस्य राष्ट्रहरुसंग सहकार्य गरेर कोरोना भाइरसको प्रभावबारे निरीक्षणलाई निरन्तरता दिने पनि जनाएको छ।
फिफाले एएफसीको सदस्य राष्ट्रसंग छलफल गरेर अर्को खेल तालिका सार्वजनिक गर्ने जनाएको छ।