लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ।
शनिबार भएको खेलमा लिभरपुलले बर्नेमाउथलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदान एनफिल्डमा एक गोलले पछि परेको स्थिति उल्टाएर लिभरपुलले जित निकालेको हो। लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे। बर्नेमाउथका कलुम विल्सनले एक गोल गरे।
खेलको नवौं मिनेटमा विल्सनले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए। तर, खेलको २५ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। त्यसपछि खेलको ३३ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए।
जितसँगै लिभरपुलले २९ खेलमा ८२ अंक जोडेको छ। बर्नेमाउथ २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ।