पूर्वमाओवादीमा स्वीकार्य बन्दै दौरा सुरुवाल, अब प्रचण्ड मात्र बाँकी !

नारायणकाजी भन्छन् : दौरा-सुरुवाल सामन्ती पोशाक होइन

अनलाइनखबर

काठमाडौं

सभामुखमा निर्वाचित भएपछि नेकपा सांसद अग्नि सापकोटाले जीवनमा दोस्रोपटक दौरा-सुरुवाल लगाए । पहिलोपटक उनले ४३ वर्ष अगाडि बेहुलो हुँदा लगाएका थिए ।

‘दौरा-सुरुवाल’ लाई सामन्ती र भारदारी पोशाक मान्ने माओवादी पार्टीको घोषित-अघोषित नीति थियो । त्यसैले बिहेमा लगाएर थन्क्याएको पोशाक फेरि झिकेर उनले लगाएनन् । दुईपटक मन्त्री हुँदा उनले कालो भादगाउँले टोपीसम्म लगाए ।

सभामुख बनेपछि चाहिँ सापकोटाका लागि यो पहिरन कसरी स्वीकार्य भयो त ? सापकोटाका छोरा दीपक सापकोटा ‘पदीय मर्यादाका हिसाबले दौरा-सुरुवाललाई ड्रेस कोडका रुपमा बुवाले स्वीकार्नुभएको’ बताउँछन् ।

‘राष्ट्रिय पोशाक मानेरभन्दा पनि सम्माननीय पदको गरिमालाई ध्यानमा राखेर औपचारिक पोशाकका रुपमा दौरा सुरुवाल लगाउने निर्णय गर्नुभएको हो,’ उनले भने, ‘पहिरन भन्ने कुरा व्यक्तिको रुप पक्ष मात्र भएकाले यसलाई उहाँले प्रधान विषयका रुपमा लिनुभएन ।’

पूर्वमाओवादीबाटै निर्वाचित अघिल्ला सभामुख कृष्णबहादुर महराले पनि दौरासुरुवाल नै लगाउने गरेकाले पनि सापकोटालाई निर्णय लिन सजिलो भयो । यद्यपि, उनले आफ्ना निकटस्थहरुसँग सल्लाह भने लिएका थिए । अरुले पनि दौरा-सुरुवाल नै लगाउँदा ठीक हुने सल्लाह दिएको दिपकले बताए ।

‘हामीले उहाँलाई पहिलोपटक दौरा-सुरुवालमा देखेका हौं । निकै सुहाएको जस्तो लागेको छ,’ उनले भने ।

मन्त्री हुँदा पनि दौरा-सुरुवाल लगाउन सापकोटालाई सल्लाह आउँथे, तर उनले त्यति रुची दिएका थिएनन् । उनी औपचारिक कार्यक्रमहरुमा तथा विदेश भ्रमणमा जाँदा कोट-पाइन्ट र कालो टोपी लगाउने गर्थे ।

प्रकाशित मिति: : 2020-03-11 11:11:01

प्रतिकृया दिनुहोस्