आजकल पटक्कै निन्द्रा लाग्दैन। साच्चै भन्ने हो भने सिड्नी आएदेखि राम्रोसंग निदाउन पनि पाएको छैन। आफ्नो अधुरो सपना पूरा गर्न आएको थिएँ। तर यो विदेशीभूमिमा टेकेदेखि सपना देख्ने पनि फुर्सद छैन। विहानको दुईबजे नै आँखा मिच्दै ट्रेन पर्खिनुपर्छ। काम सक्यो घर आयो बस् त्यतिमै सिमित छ मेरो दैनिकी। पि.आर पाउन सजिलो छ भनेर नेपालबाटै हस्पिटालिटी म्यानेज्मेन्ट पढ्न आएको। तर पढाई नसक्दै नियम परिवर्तन भयो। अहिले त पि.आर पाउन पनि कति कठिन छ।  

बुवा, आमा अनि हामी तीनजाना दाजुभाई। म बुवाआमाको माईलो छोरो। दाईको विवाह भईसकेको थियो। भाउजुले सबै परिवारलाई निकै माया गर्नुहुन्थ्यो। बुवाआमाको सम्मान गर्न कहिले चुक्नुहुन्नथ्यो। तर पनि दाई र आमाको भाउजुसंग खासै ग्रह मिल्थेन। बुवा भने आफ्नै आँखाको नानी झैं गर्नुहुन्थ्यो भाउजुलाई। 

बुवाले धेरै दुख गरेर हुर्काउनु भयो। साह्रै माया गर्नुहुन्थ्यो सबैजानालाई। केही खान र लाउन मन लाग्यो भने तुरुन्तै घरमा आईपुग्थ्यो। हाँसीखुशी जीवन बितिरहेको थियो। तर यो जीवन अनेपेक्षित छ। यहाँ न खुशी दिगो हुन्छ न त दःुख नै। हो हाम्रो परिवारको खुशी पनि दिगो रहन सकेन। 

म अस्ट्रेलिया आउनुभन्दा दुई हप्ता अगाडी बुवा अचानक बिरामी पर्नुभयो। डक्टरले मुटुको समस्या देखायो। बुवाको मुटुको अपरेशन नै गर्नुप¥यो। अपरेशन गरेको तीनदिनको दिन बुवा बित्नुभयो। हाम्रो परिवारमा सोच्दै नसोचेको कहाली लाग्दो घटना घट्यो। बुवाको मृत्यूपछि मैले अस्ट्रेलियाको टिकट सारें। १३ दिनको काम सकाएर भोलिपल्टै म अस्ट्रेलियाको लागि उडें।

मेरो काँधमा धेरै जिम्मेवारी थपियो। बुवाको उपचार गर्दा बैंकमा धितो राखेको घर उकास्नु थियो। विधुवा आमाको हरेक ईच्छा पूरा होस् र उहाँको आँखामा कहिल्यै कुनै आँशु नदेखियोस् भनेर म यस विरानो शहरमा आईपुगें। 

***

मोबाईल कतिबेरदेखि थर्किरहेको रहेछ पत्तै पाईन। आमाले फोन गर्नुभएको रहेछ। फोन गर्नासाथ आमा सधैं एउटै कुरा गर्नुहुन्छ। आज पनि उहाँले हेलो भन्नासाथ त्यही कुरा गर्नुभयो। “प्रदिप अब विवाह गर्ने बेला भईसक्यो जतिसक्दो छिटो बिदा मिलाएर घर आईज न।” आमालाई म कसरी सम्झाउँ। आमाले भन्नासाथ नेपाल जान मलाई सम्भव छैन। फेरि आमालाई मैले साधनाको बारेमा पनि धेरै पटक भनेको छु। तर साधनासंग जात नमिल्ने भएको कारणले पनि हाम्रो सम्बन्ध स्विकार्न राजी हुनुभएन। केही गर्दा पनि आमाले साधनासंग मलाई विवाह गर्न नदिने भएपछि सम्झौता मै साधना र म छुटिएका हौं। 

बिचरी साधना, कति माया गर्छे मलाई उ अझै पनि। कहिलेकाहिं त लाग्छ कतै म मेरो निर्णयमा पछुताउन पर्ने त हैन। फेरि उ पनि त चाहदिन परिवारको विरुद्धमा जान। दुबै परिवारको बिचमा यो जात नामको पर्खाल उभिए पछि हामी टाढिएका हौं। 

विवाह त गर्नु नै थियो। त्यसैले म आमाको ईच्छा पूरा गर्न नेपाल गएँ। आमा त नभन्दै आफ्नो हुनेवाला बुहारीसंगै एयरपोर्टमा मलाई लिन आईपुग्नुभएछ। आमाले नै खाजेको केटी निशा पौडेलसंग मेरो घर पुगेकै दिन कुराकानी छिनीयो। एक महिना भित्र मेरो र निशाको विवाह पनि भयो। विवाह गरेको दुईदिनमै मेरो कामको विदा सकिसकेको थियो। त्यसैले म आफ्नो भखैरै विवाह गरेको नयाँ दुलहीलाई नेपाल नै छोडेर सिड्नी फर्कें। 

सिड्नी फर्केर दुई पटक निशाको डिपेन्डेन्ट भिषा एप्लाई गरिसकें। तर खै किन हो किन दुईपटक भिषा एप्लाई गर्दा पनि अनेक वाहना देखाएर ईमिग्रेसनले उसको भिषा रिजेक्ट गरेको ग¥यै छ। मेरै लागि भनेर आफू जन्मेको हुर्केको घर छोडेर आएकी छे। तैपनि मैले उसलाई आफूसंग यहाँ ल्याउन सकेको छैन। बल्ल बल्ल चौथोपटकको प्रयास पछि उसको भिषा लाग्यो। सबैकुरा राम्रो हुन्छ भनेर म आशावादी थिएँ। 

निशा सिड्नी आउनासाथ मैले काम गर्ने क्याफेको बोसले मलाई स्पोन्सर गर्ने भयो। निशा र म दुबै खुशी भयौं। स्पोन्सर गरेपछि त हाम्रो पि.आर पाउने सपना साकार हुने भयो भन्ने खुशीले गदगद भयौं दुबैजाना। यसपटक पनि मेरो खुशी त्यसैगरी सलायो जसरी हरेकपटक सेलाउने गथ्र्यो। मैले काम गर्ने क्याफेको बोसले कर नतिरेको कारणले गर्दा क्याफे बन्द गरिने चेतावनी कर कार्यलयबाट आयो। न बोसको केही लाग्यो न मेरो नै। आखिरमा क्याफे बन्द हुने नै भयो। हामी नेपाल फर्किने अवस्थामा पुग्यौं। जे होस मैले टन्नै पैसा कमाएर पठाएको थिएँ त्यसैले मलाई भविष्यको चिन्ता थिएन। नेपालमै केही गर्ने सोच लिएर निशा र म नेपाल फर्कियौं। 

****

निशा र मैले घरमा कसैलाई पनि खबर गरेका थिएनौं। हामी सबैलाई सरप्राईज दिन चाहन्थ्यौ। घर पुगेको रात आमा निकै खुशी हुनुभयो। केहीबेर बसेर गफ गरिसकेपछि जब मैले अस्ट्रेलिया नफर्किने निर्णय घरमा सुनाएँ तब सबैको मुहारमा पानी पर्नुभन्दा अगाडीको जस्तै कालो बादल छायो। आमाले हतारिदैं भन्नुभयो। “अनि घर खर्च कसरी चल्छ अब ? तिमीहरु यसरी यही बस्न थाल्यौ भने घरको सबैकुराको व्यवस्था कसरी हुन्छ ?” आमाको कुराले मनै अमिलो भयो। उहाँलाई छोरा बुहारी आफ्नो साथमा भएको खुशीभन्दा पनि घर खर्च कसरी चल्ने भन्ने बारे पिर परेको रहेछ। तैपनि बुढी भईसक्नुभएको आमाको कुरालाई लिएर के चित्त दुखाउनु भनेर मन बुझाएर बसें। 

भोलिपल्टसम्म पनि भाउजुलाई घरमा नदेखेपछि आमालाई सोधें उहाँले सहजै भन्नुभयो। “तेरी भाउजुले भएको नभएको कुरा गरेर दाईलाई लगाई, अनि उसको कुरा चित्त नबुझेर दाईले सम्बन्ध बिच्छेद ग¥यो। ” आमासंग दोहोरो बहस गर्नु भनेको बालुवामा पानी खन्याउनु सरह हो। त्यसैले मैले केही भनिन्। 

नेपाल फर्केको महिना दिन नबित्दै आमा, दाई र भाईले निशा र ममाथि गर्ने व्यवहार फेरिईसकेको थियो। म नेपालमै केही गर्ने लक्ष्य बोकेर अस्ट्रेलियाबाट फर्केर आएको थिएँ यो सोचेर कि मैले हरेक रातको निन्द्र्रा माया मारेर र उभिदा उभिदा खुट्टामा ठेला उठाएर कमाएको पैसा नेपालमा सुरक्षित होला। तर मेरो सोचाई विपरित भयो सबैकुरा। न मैले कमाएर पठाएको पैसा घरमा बचेको थियो न त मेरो परिवारको साथ नै। आफ्नै घरमा पनि पराई जसरी बस्नुपथ्र्यो म। आमा दाई र भाईसंग खुशी भएर बोल्नुहुन्थ्यो तर मसंग कहिल्यै बोल्न खोज्नुहुन्नथ्यो। मैले केही भनिहालें भने पनि उहाँ म नेपाल फर्केकोमा असन्तुष्टी व्यक्त गर्नुहुन्थ्यो। उहाँलाई थाहा थियो अब डलर कमाएर पठाउने उहाँको छोरा नेपाल फर्किसकेको थियो। पूरै घरपरिवारको लागि निशा र म बोझ भएका थियौं। 

यतिका बर्षसम्म मिलेर बसेको हामी दाजुभाईमा अब अचानक अंश बण्डाको कुरा आयो। दाईले भनेको हरेक कुरा आमाले मान्नुहुन्थ्यो। थाहा छैन किन उहाँ हरेक कुरामा भेदभाव गर्न थाल्नुभएको थियो। तीन तल्लाको घर अंश बण्डा गर्दा मेरो भागमा दोश्रो तल्ला परेको थियो। मैले लाख कोशिश गरें परिवार नबाडियोस् भनेर तर मेरो केही लागेन। अन्ततः दाई आमा लिएर बस्यो। आमा न भाईसंग बस्नुभयो न मसंग। आमा दाईसंग बस्नुको एउटै कारण यो थियो कि दाई एक्लो थियो। भाईले पनि विवाह गरेर बुहारी ल्याइसकेको थियो। बुहारी ल्याएदेखि भाईसंग पनि आमा राम्रोसंग बोल्नुभएको छैन। हामी सबै दाजुभाईको विवाह आमाले नै खोज्नुभएको केटीसंग भएको हो। तरपनि खै आमा किन हाम्रो विवाह पछि यसरी परिवर्तन हुनुभयो। सबै छोरा बुहारीले आफ्नो बुवाआमालाई बिद्धाश्रममा मात्रै राख्छन् भन्ने मानसिकताले आमाको दिमागमा नराम्रोसंग जरो गडेको थियो। 

आमाको बानी देखेर भाई पनि आजित हुन थाल्यो। अनि बल्ल भाईले मलाई माया गर्न थाल्यो र मलाई बुझ्न थाल्यो। हामीसंग निशाले जम्मा गरेको केही रकम थियो। जुन निशाले नेपाल फर्केपछि मात्रै मलाई सुनाई। त्यही पैसाले भाई र म मिलेर क्याफे खोल्यौं। निशा त्यही समयमा गर्भवती भई। मैले उसलाई डक्टरकोमा लिएर गएँ। बच्चा र आमा दुबैको स्वास्थ्य राम्रो भएको कुरा सुनेपछि मन प्रफुल्ल भयो। भाई र मैले क्याफे सम्हाल्न थाल्यौं। समयले फड्को मार्दै गयो। निशाले छोरीलाई जन्म दिई। साक्ष्यात लक्ष्मी जस्तो छोरीको आगमनले मेरो कठिन जीवनलाई सहज बनाउँदै गयो। यसबिचमा भाई चमन र बुहारी सोनियाले धेरै नै सहयोग गरे। क्याफेबाट राम्रो आम्दानी भएपछि मैले र चमनले आमा र दाईलाई खबर नै नगरेर भक्तपुरमा संगसंगै घर किन्यौं। यो खुशीको खबर आमा र दाईलाई दिन चमन र म एकदिन दाईको कोठामा गयौं। आमाले रुदैं आशु झारेर भन्नुभयो। “दाईको अहिलेसम्म केही व्यवस्था भएको छैन, तिमीहरु आफूआफू मात्रै बन्यौ, दाईको कहिल्यै याद आएन?” आमाले कसरी यस्तो भन्नसक्नु भयो ? उहाँ आफैंले त दाई र भाउजुलाई छुटाउनुभयो अनि अहिले जब हाम्रो प्र्रगती भयो तब उहाँलाई दाईको चिन्ताले सतायो। 

मैले सुनेको थिएँ आमाको लागि आफ्नो सबै सन्तान बराबर हुन्छन् तर हैन रहेछ। जसरी हातका पाँच औंला बराबर हुदैंनन् त्यसैगरी हाम्री आमाको लागि सबै सन्तान बराबर भएनन्। मैले दाईलाई कति अनुरोध गरें हामीसंगै बसौं भनेर तर दाईले मान्दै मान्नुभएन। 

हामीले मनलाई गाठो पारेर आमा र दाईलाई छोडेर नयाँ घरमा स¥यौ। नयाँ घर सरेपछि सोनिया पनि गर्भवती भई। हाम्री छोरी सिल्भिया र भाईकी छोरी आध्यामा डेढ बर्षको फरक भयो। 

१० वर्षपछि आध्या र सिल्भिया दुबै स्कूल जान थाले। उनीहरु साह्रै नै मिल्थे। म चाहन्न थिएँ उनीहरुले हामीले जस्तो कुनै रिस राग मनमा पालुन। घर संगसंगै भएकोले मिलेर खेल्थे हरेक कुरा मिलेर गर्थे। त्यसैले हामीले उनीहरुलाई एउटै स्कूलमा भर्ना गरिदियौं। त्यसदिन चैते दशैं परेकोले मैले चमन, सोनिया र आध्यालाई हाम्रै घरमा डिनरको लागि ईन्भाइट गरेको थिएँ। खाना खादैं गर्दा छोरी सिल्भियाले अचानक भनी। “बाबा हाम्रो स्कूलमा पढ्ने एकजाना सानो भाई सम्यमको हजुरआमा बृद्धाश्रममा हुनुहुन्छ रे।”आध्याले फेरि अचानक प्रश्न तेर्साई। “बृद्धाश्रम भनेको के हो बाबा ?” हामी सबै मौन भयौं। कसरी जवाफ दिउँ म छोरीहरुलाई बृद्धाश्रम भनेको के हो। मैले बस् यति भने “म भोलि भन्छु है।” 

शनिवारको दिन छोरीहरुको स्कूलमा अभिभावक दिवस थियो। निशा, म, भाई र बुहारी सबैजाना उनीहरुको स्कूल गयौं। स्कूलको अभिभावक दिवस सकिए पछि घर फर्कने क्रममा आध्या चिच्याई। “बाबा, मामु हाम्रो स्कूलको सानो भाई सम्यम त्यही हो जसको हजुरआमा बृद्धाश्रममा हुनुहुन्छ।” छोरीहरुले देखाएको सानो भाईको हात समाउने मानिस जति नजिक आयो त्यति परिचित जस्तो लाग्न थाल्यो। त्यो कुनै अपरिचित व्यक्ति थिएन। हाम्रै दाई विजय थियो। त्यसको मतलब हाम्रो आफ्नै आमा बृद्धाश्रममा हुनुहुन्थ्यो। त्यही आमा जसको खुशीको लागि दाईले भाउजु छोड्नुभएको थियो। अनि त्यही आमा जसले दाईको लागि हामीलाई बेवास्ता गर्नुभएको थियो। 

दाइले हामीलाई देखेर रातो रातो मुख लाउनुभयो। दाई मात्रै हैन दाईसंगै दाईले मनपराएर ल्याएकी नयाँ भाउजु पनि हुनुहुन्थ्यो जसले आमालाई बृद्धाश्रम जान बाध्य पार्नुभयो। पहिला दाईप्रति जति सम्मान मनमा थियो अहिले त्योभन्दा बढी घृणा उप्रति पलायो। 

स्कूलबाट निस्केर हामी सबैजाना आमालाई भेट्न बृद्धाश्रम गयौं। बल्ल बल्ल आमालाई भेट्टायौं। आमा धेरै दुब्लाउनु भएछ। आमाको आँखामा हामीमाथि गरेको व्यवहारप्रति  पश्च्यताप झल्किरहेको थियो। हामीलाई देख्नासाथ आमा डाँको छोडेर रुनुभयो। हामीले आफ्ना छोरीहरुलाई उनीहरुको हजुरआमा चिनायौं। आध्याले बडो जिज्ञासाले सोधी “उहाँ सम्यमको हजुरआमा हो ? यो बृद्धाश्रम हो ?” मैले भाईकी सानी छोरी आध्यालाई बोक्दै भनें। “हो छोरी यही बृद्धाश्रम हो अनि उहाँ सम्यमको मात्रै हैन तिम्रो पनि हजुरआमा हो।” थाहा छैन उसले मेरो कुरा कति बुझी र कति बुझिन तर अनौठो भावले हामीतर्फ हेरी। आमाले हामी दाजुभाईलाई अंगाल्दै रुनुभयो। दुइटी बुहारीले आमाको चरण स्पर्श गरे। आमा हामीसंगै घर फर्किनुभयो। 

प्रकाशित मिति: : 2020-03-15 02:44:06

प्रतिकृया दिनुहोस्