आहा रारा गोल्डकप: छैठाैं पटक मनाङलाई उपाधि, टाइब्रेकरमा पुलिस पराजित

 १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि छैठाैं पटक मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। 

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो।

निर्धारित र थप गरिएको समयमा दुवै टोलीबाट गोल सम्भव नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा मनाङका लागि अन्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन बिष्टले गोल गरे। मनाङका निशान लिम्बुको प्रहार पुलिसका किपर रोशन खड्काले बचाए।

पुलिसका लागि भोला सिलवाल, हेम तामाङ, बुद्ध बल तामाङ, गोल गरे। पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार मनाङका किपर अशोक बरालले बचाए।

पछिल्लो पटक वि‍.सं २०६१ मा तेस्रो संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गरेका मनाङ र पुलिस  डेढ दशकपछि पुनः फाइनलमा भिडेका थिए। यसअघि विसं २०५८ को क्याराभान गोल्डकप तथा  विसं २०६० को दोस्रो र विसं २०६१ मा आयोजना भएको तेस्रो संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा यी दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।  

क्याराभान पुलिस तथा दोस्रो र तेस्रो संस्करणको उपाधि मनाङले जितेको थियो। आहा रारामा मनाङ र पुलिस विसं २०६८ को दशौँ संस्करणको क्वार्टरफाइनल तथा बाह्रौँ संस्करणको सेमिफाइनलमा समेत प्रतिस्पर्धा गरेकामा दुवैमा मनाङ विजयी भयो। 

पुलिसले ‘क्याराभान’ गोल्डकपसहित हालसम्म छ पटक उपाधि उचाल्दा मनाङले पनि समान छ पटक नै उपाधि चुम्न सफल भएको छ। पुलिसले क्याराभानसहित विसं २०५९ को पहिलो, २०६४ को छैटौँ, २०६५ मा सातौँ, २०६६ को आठौँ र २०७४ को सोह्रौँ संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको छ।  

मनाङ विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं २०७२ मा चौधौँ र २०७३ को पन्धौँ गरी हालसम्म पाँच पटक च्याम्पियन बन्न सफल भएको छ। जारी संस्करणमा पुलिसले क्वाटरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा ४–२ तथा सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो।

मनाङले क्वाटरफाइनलमा झापामाथि १–० तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–२ को जीत निकाल्दै फाइनल प्रवेश गरेको हो।

च्याम्पियन बनेसँगै मनाङले १० लाख १ हजार रुपैया हात पारेको छ। दोस्रो भएको पुलिसले ५ लाख १ हजार रुपैयामा चिक्त बुझायो।

प्रकाशित मिति: : 2020-03-15 06:11:57

प्रतिकृया दिनुहोस्