‘…त्यसो भए संघमात्र राखौं, अरु भंग गरौं’

अनलाइनखबर

काठमाडाै‌ं

 पूर्वगृहमन्त्री एवम् नेकपा सांसद जनार्दन शर्मा (प्रभाकर)ले संघीयता कार्यान्वयनमा इमान्दार प्रयास नभएको बताएका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिप्रति केन्द्रबाट अविश्वासपूर्ण व्यवहार भएको भन्दै उनले आक्रोश पोखे ।

राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा आक्रोशित हुँदै शर्माले संघीयता कार्यान्वयनको बाटो नखोल्ने हो भने प्रदेश र स्थानीय तह भंग गरिदिए हुने बताए ।

उनले भने, ‘हामी यहाँ प्रतिनिधि छौं भने तलका प्रतिनिधि जनताबाट निर्वाचित होइनन् ? तिनमा जनताको विश्वास छैन ? तिनीहरु राष्ट्रप्रति इमान्दार छैनन् ? हामीमात्र इमान्दार छौं ? त्यसो भए संघमात्र राखौं न त किन चाहियो तल (प्रदेश र स्थानीय तह) । सबै भंग गर्दिऔं ।’

बैठकमा संघीय निजामती सेवा विधेयकका टुंगिन बाँकी विषयमा छलफल भएको थियो । प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघको हुने कि प्रदेशको भन्ने विषयमा छलफल भए पनि टुंगो नलागेपछि समितिको बैठक यही चैत पाँच गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: : 2020-03-16 04:35:57

प्रतिकृया दिनुहोस्