सरकारी ‘थिंक ट्याङ्क’का नयाँ अध्यक्षलाई चुनौती, सदस्यले दिए राजीनामा

अनलाइनखबर

काठमाडाै‌ं

१२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले डा. विष्णुराज उप्रेतीलाई नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा नियुक्त गर्‍यो । तीन वर्षका लागि कार्यकारी अध्यक्ष बनेका उनलाई सुरुवातमै ‘झड्का’ लागेको छ ।

उप्रेती कार्यकारी अध्यक्ष बने लगत्तै बोर्ड सदस्य डा. मीना आचार्यले पदबाट राजीनामा दिएकी छन् । प्रतिष्ठान स्रोतकाअनुसार आफू भन्दा कनिष्ठ व्यक्तिलाई अध्यक्ष स्वीकार्न नसकिने भन्दै आचार्यले राजीनामा दिएकी हुन् ।

आफूले चैत १ गतेदेखि लागू हुने गरी राजीनामा दिएको डा. आचार्यले अनलाइनखबरलाई जानकारी दिइन् । उनी प्रतिष्ठानमा बसेर नीति अनुसन्धानको क्षेत्रमा काम गर्ने अनुकुल वातावरण नभएर पद छोडेको बताउँछन् । आफूले राजीनामा दिनुको पछाडि स्वास्थ्य पनि कारण रहेको उनको भनाइ छ ।

आचार्य सन् १९८५ मा ‘डेभलपन्ट स्टडिज’मा विद्यावारिधी गरेकी वरिष्ठ अर्थशास्त्री हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको आर्थिक सल्लाहकार रहिसकेकी उनी नेपाल राष्ट्र बैंकको पूर्व प्रमुख आर्थिक सल्लाहकारसमेत हुन् । महिलाको आर्थिक सशक्तिकरणका क्षेत्रमा समेत काम गरिसकेकी उनको राजीनामापछि प्रतिष्ठानको बोर्ड महिलाविहीन भएको छ ।

प्रकाशित मिति: : 2020-03-19 00:52:59

प्रतिकृया दिनुहोस्