कोरोना नेपाल छिरेको छैन, हल्लाको पछि नलाग्नू : डीआईजी पोखरेल (भिडियाे)

डिल्ली पाण्डे

काठमाडाैं

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले कोरोना भाइरस नेपालमा नछिरेको बताउँदै गलत हल्लाको पछि नलाग्न आम नागरिकलाई आग्रह गरेका छन्। उनले समाजमा लगत हल्ला फैलाउनेलाई प्रहरीले कारवाही थालेको पनि बताए।

डीआईजी पोखरेलले बीएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको छैन। बजारमा किसिमको हल्ला फैलाएर नागरिकमा त्राश फैलाउने काम भएको छ, कोरोना नेपाल पसेको छैन।’

‘अहिलेसम्म कसैमा पनि संक्रमण देखिएको छैन तर देखिएन भन्दैमा लापर्वाही गर्न हुँदैन’, महानगरीय प्रहरी प्रमुख डीआईजी पोखरेलले भने, ‘राज्यले अध्ययन र योजनाका साथ सुरक्षित अभियान ल्याएको हो। हामीले त्यसलाई साहयोग गर्नु पर्छ।’

कारोना फैलन नदिन राज्यले विशेष कदम चालेको बताउँदै डीआईजी पोखरेलले राज्यले चालेको कदमलाई हरेक नागरिकले आत्मसात गरी सहयोग गर्न समेत अनुरोध गरे। 

‘सरकार सजग भएर लागिपरेको छ। हामी सरकारले गरेका निर्णय कार्यान्वयन गर्न रातदिन नभनी साथ दिँदै आएका छौं,’ डीआईजी पोखरेलले भने। 

बजारमा अभाव छैन

कोरोना भाइरस संक्रमण हुनसक्ने त्राशले बजारमा खाना पकाउने ग्यास, केही खाद्यान्नसहित दैनिक उपभोग्य सामानको अभाव देखिन थालेको छ। ‘खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भण्डारण गर्नुपर्दैन। यस्ता वस्तुको अभाव छैन’, उनले भने। 

डीआईजी पोखरेलले भने, ‘मौकाको फाइदा छोप्ने केही व्यापारीलाई हामीले कानुनी दायरामा ल्याएका छौँ। कालोबजारी गर्नेप्रति हाम्रो निगरानी छ।’

‘बजारमा कृत्रिम अभाव सिर्जना गरी कतिपय व्यापारीले नागरिक ठगेको खबर हामीलाई पनि आएको छ। हामीले त्यस्ता व्यापारीलाई पक्रेर कारवाही गर्छौँ’, डीआईजी पोखरेलले भने। 

‘बजारमा सामान पाइएन भने प्रहरीलाई भन्नुस्। हामी त्यसको सहजीकरण गर्ने छौँ’, डीआईजी पोखरेलले भने। 

जरुरीबाहेक घरबाट ननिस्कौँ

प्रहरीले अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन पनि आम नागरिकलाई आग्रह गरेको छ। ‘जरुरी काम नभए पनि मानिस निस्केर हिँड्दा भीडभाड हुने र संक्रमण फैलिन सक्छ’, उनले भने, ‘कामबाहेक बाहिर ननिस्कनू भन्ने राज्यको अनुरोधलाई गम्भीरताका साथ लिन आग्रह गर्छु।’ 

डीआईजी पोखरेलले सवारी साधनमा प्रतिबन्ध नलगाएको बताउँदै सरकारको अहिलेको निर्णय पूर्वसजगता भएको बताए। उनले भने, ‘सरकारले आज (आइतबार) बेलुकाबाट लामो दूरीका सवारीसाधनमा रोक लगाएको छ। काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा भने रोक लगाएको छैन। तर उपत्यकाभित्र चल्ने सवारी साधनमा सीटभन्दा बढी यात्रु राख्न पाइँदैन। सीट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारवाही हुन्छ। ’ 

राजधानी उपत्यकामा चल्ने सवारी साधनमा कुनै रोकावट नभएको बताउँदै उनले भने, ‘त्यसका लागि उपत्यकाभरिका ट्राफिक प्रहरीलाई चनाखो हुन निर्देशन दिइएको छ।’ 

 

प्रकाशित मिति: : 2020-03-23 04:30:53

प्रतिकृया दिनुहोस्