नेपालको कोरोना पुष्टिमा भियतनाम कनेक्सन

अनलाइनखबर

काठमाडाैं

फ्रान्सबाट आएकी १९ वर्षीया एक नेपाली युवती चैत ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिइन् ।

फ्रान्सबाट कतारको दोहा ट्रान्जिट भएर काठमाडौं आइपुगेकी उनको विमानस्थलको हेल्थ डेस्कमा ज्वरो नापियो । तर १००.४ डिग्री भन्दा माथि ज्वरो नभएपछि उनी घर पुगिन् ।

घर आएको दुई दिनपछि बिहीबार उनलाई अप्रत्याशित खबर आयो, ‘फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामकी साथीलाई कोरोना संक्रमण पुष्टि भयो ।’

साथीलाई कोरोना संक्रमण भएको खबरले उनी डराइन् । लगत्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा सम्पर्क गरिन् र भोलिपल्ट शुक्रबार अस्पताल पुगिन् ।

अस्पताल पुग्दा उनलाई रुघाखोकी र ज्वरो आएको थियो । चिकित्सकले उनलाई अस्पतालको आइसोलेटेड बेडमा बस्न आग्रह गरे, तर स्वाबको नमुना दिएर घर फर्किइन् ।

आइतबार राति रिपोर्ट आयो, पोजेटिभ ।

प्रकाशित मिति: : 2020-03-24 04:38:30

प्रतिकृया दिनुहोस्