भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्याे, ४२५ संक्रमित

भारतमा कोरोना भाइरस अर्थात कोभिड–१९बाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। सोमबार मुम्बईमा फिलिपिन्सबाट आएका ६८ वर्षीय व्यक्तिको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।

दम र मधुमेहको रोगले च्यापेका यी व्यक्तिमा शुरुमा कोरोनाको संक्रमण देखिएको थियो। तर, उनी यो संक्रमणबाट निको भएका थिए। सोमबार उनको मुम्बईस्थित एक अस्पतालमा मृत्यु भएको हो।  भारतको सरकारले भने उनको मृत्यु कोरोनाकै कारण भएकाे हो भन्ने पुष्टि गरेको छैन।

कोरोनाको कारण मुम्बईमा मात्र तीन जनाको मृत्यु भएको छ। पछिल्लो एक सातामा भारतमा कोरोना भाइरसको प्रकोप तीव्र गतिमा फैलिएको छ। आइतबार मात्रै बिहारमा एक ३८ वर्षीय पुरुषकाे काेराेनाकै कारण मृत्यु भएकाे थियाे। भारतमा यो भाइरसको संक्रमण अहिलेसम्म ४२५ जनामा देखिएको छ।

सोमबार भारतीय अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्र १५ नयाँ संक्रमित फेला परेका छन्। जसमध्ये १४ नयाँ संक्रमित मुम्बईमा देखिएका छन् भने एकजना पुणेमा फेला परेका हुन्।

आइतबार भारतमा यो भाइरस नियन्त्रणको लागि जनता कन्फ्रू घोषणा गरी सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरिएको थियो।

प्रकाशित मिति: : 2020-03-24 05:21:00

प्रतिकृया दिनुहोस्