'लकडाउन'मा सुनसान देहात

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लक डाउन गरेपछि पर्सामा ग्रामिण क्षेत्रका अधिकांश सडक, बजार र गाउँ सुनसान छन्।

पर्साको पश्चिमी भेगमा पर्ने भिस्वा, बनजारी, जानकीटोला, पोखरिया, सबैठवा, पकहामैनपुर, लहावरथकरीलगायतका सडक तथा बस्तीमा मानिसहरु घर बाहिर निस्किएका छैनन्।

कोरोना भाईरसबाट बच्न मानिसको भीडभाड कम गर्न तथा नजिकको सम्पर्क नै हुन नदिन सरकारले आजदेखि लक–डाउनको घोषणा गरेको हो। यो सँगै ग्रामिण बस्तीका जनता सचेत भई घर बाहिर निस्कन नसकेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट सबैठवाका प्रहरी निरीक्षक टिकाराम गौतमले जानकारी दिए।

तर, बिहानपख केही स्थानमा लक–डाउन उल्लंघन गर्दै मानिसहरु घर बाहिर निस्किए पनि केही बेरपछि मानिसको उपस्थिति पातलो बन्दै गएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए।

प्रहरी निरीक्षक गौतमका अनुसार भारतबाट आउनेलाई सम्झाई–बुझाई गरी फर्काईएको छ। आज कुनै पनि नाकाबाट भारतीयलाई नेपाल छिर्न नदिई प्रवेशमा पूर्ण रूपमा रोक लगाईएको छ ।

मानिसहरू हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ। त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसलाई घर बाहिर ननिस्किन आग्रह गरेको स्वास्थ्य चौकी खेश्रहाका स्वास्थ्यकर्मी सत्रुधन गिरीले जानकारी दिए।

लक–डाउन उल्लंघन गर्दै केही मानिसहरू हिँडडुल गर्न थालेपछि ग्रामिण क्षेत्रको हरेक चौक चौक तथा बस्तीमा समेत प्रहरीले सम्झाइ बुझाइ गरेर घरभित्रै बस्न र कोरोना संक्रमणबाट जोगिन सुझाव दिएको प्रहरी निरीक्षक गौतमले बताए ।

पकहामैनपुर गाउपालिकाले पनि लकडाउनको पूर्ण पालना गराउन गाउँपालिका अन्तर्गत १६ वटै गाउँमा पर्चापम्पलेट र माईकिङ समेत गरेको छ ।

कोरोना भाईरसबाट बच्न सरकारले लागू गरेको लक डाउनमा सबै जनताले साथ दिनुपर्ने लहावरथकरीका बुधिजिवी मकसुल अ‍ैसारीले बताए।

सरकारले जनताको जिउ ज्यानको रक्षा र कोरोना भाईरसबाट बच्न लक डाउन गरेर राम्रो कदम चालेको बताए।

प्रकाशित मिति: : 2020-03-25 04:51:27

प्रतिकृया दिनुहोस्