कोरोनालाई पनि थाहा छ : न्युयोर्कलाई जित्न सकिदैन !

कोरोनालाई पनि थाहा छ : न्युयोर्कलाई जित्न सकिदैन !

अहिले काेराेना भाइरससँग संसार त्रसित छ। याे न त कसैले देख्न सक्छ न त छुन नै सक्छ। यदि याे देखिने भैदिएकाे भए हाम्रा राष्ट्रपति डाेनाल्ड ट्रम्पले उहिल्यै सेना लगाएर गाेली ठाेकेर मारिसक्थे। त्यसैले उनी भन्ने गर्छन् “ इन्भिजिवल इनेमी' अर्थात् अदृश्य शत्रु। संसारलाई सामरिक शक्तिले थर्काएर जहिल्यै शिर उचाे गरेर हिंड्ने अमेरिकन अहिले काेराेना भाइरसकाे त्रासदीपूर्ण जीवन बाँचिरहेका छन्। उनीहरुमा मानसिक बिचलन शुरू भैसकेकाे छ।

अमेरिकाकाे न्युयाेर्क शहरका लगभग सबै मानिस खाद्यान्न घरमा स्टाेर गरेर बेडरूमलाई क्वारेन्टिन बनाएर बसेका छन्। न्युयाेर्कमा याे लेख तयार पार्दै गर्दा ३५ हजार संक्रमित भैसके भाे करिब तीनसयकाे त मृत्यु नै भैसकेकाे छ।

झण्डै ९० लाख मानिस बसाेबास गर्ने न्युयाेर्क सहरकी एक बासिन्दा हुँ म। चार बर्ष भयो एक नयाँ आप्रवासीकाे रुपमा म यहाँ भित्रिएकी। न्यूयाेर्क जस्ताे विशाल शहरमा संकटमा कसरी जीवन जिउनु पर्छ भन्ने ज्ञानसमेत आर्जन नगर्दै यस्ताे संकटमा फसेकी छु म।

नेपालमा सामान्य गृहिणी भूमिकामा रहेकी म पत्रकारितामा चासाे राख्ने एक विद्यार्थी थिएँ। अहिले म सामुदायिक स्वास्थ्य क्षेत्रमा काम गर्छु। त्यसैले यतिबला म काेराेना भाइरसकाे युद्ध क्षेत्रमा छु र केही हप्तादेखि नै संक्रमितसँग स्वभाविक उठबस गर्दै आइरहेकी पनि छु।स्वास्थ्य क्षेत्रमा लामाे समयदेखि काम गरिरहेका विज्ञ नै आफुलाई कसरी प्राेटेक्ट गर्ने भन्ने बिषयमा अलमलमा रहेको यतिबेला म आफुलाई कसरी पूर्यत: प्राेटेक्ट गर्न सक्छु र ? त्यो गर्नसक्ने कुरै भएन।

खुशीकाे कुरा मैले याे लेख लेख्दै गर्दासम्म अमेरिकाकाे सीडीसी (सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन) ले पहिचान गरेका कुनै पनि लक्ष्यण मेराे शरीरमा देखिएका छैनन्। तर, मैले मेराे कर्मथलाेमा भने बर्षाैदेखि हाँस्ने,खेल्ने र ठट्ठा गर्ने गरेका अत्यन्त प्रियजन धमाधम गुमाउन थालिसकेकी छु।

वास्तवमा घरभन्दा बढी समय काममा बिताउने भएकाले मलाई कर्मथलोकै मानिस बढी प्रिय लाग्छन्। बिहान मात्रै हाँसखेल गरेकाे मानिसलाई १००.४ ज्वराे आउँछ अनि उठाएर अस्पताल पठायाे केही दिनपछि मृत्युकाे ख़बर आउँछ। एनाउन्समेन्ट हुन्छ-  ही/सी इज नो मोर विथ अस।

डाकाे छाेडेर रुन त मन लाग्छ तर ठाउँ र समय नै मिल्दैन।अनि बाथरूम छिरेर एकछिन् सुँक्क सुँक्क गरेर आँशु पुछेर 'तिम्राे आत्माले शान्ति पाओस्' भन्दै समालिएर काममा फर्क्यो। फेरि अर्काे मानिसलाई अस्पताल पुर्याउन हताराे भैसकेकाे हुन्छ।

हामी आँखाले केही देख्दैनाै।याे डढेलोझै सल्किएकाे छ। यस्ताे बेलामा म आफ्नाे मृत्यु पनि आफ्नै अगाडि छमछमी नाचिरहेकाे महसुस गर्छु । हिजाे मात्रै एकजना नेपालीकाे काेराेना भाइरससँग युद्ध लड्दालड्दै मृत्यु भयाे र यसाे साेसल मिडियामा आँखा लगाउँदा समवेदना दिन हतारिनेकाे लर्काे देखें। लाग्यो,  'सायद मानिसहरु अहिले यस्ताे जटिल परिस्थितिमा मानवीय सेवाका कामभन्दा पनि समवेदना दिनका लागि कुरेर बसेका छन् ।' हुन पनि उता अस्पतालले मृत्यु भएकाे पुष्टि गर्न नपाउँदै साेसल मिडियामा समवेदना आइसक्छ। लाग्छ मानिसहरु कतिबेला कोही मर्छ भनेर समेवेदना लेखेर पोष्ट गर्न मात्र पर्खिरहेका छन्। 

मनमा अनेकन कुरा खेलाउँदै सहकर्मीहरु अनुहार हेराहेर गर्छाै। सबैका अनुहार गलित, मलिन र थकित छन्। एकले अर्काेलाई हाैसला र उत्प्रेरणा दिने गर्छाैं। तर, एकले अर्कालाई संक्रमित हाे कि भनेर शंकाकाे नजरले भने हेरी नै रहेका हुन्छौं। साेसल डिस्टेन्स कायमै गरेका छाैं।

मैले पनि अरु न्युयाेर्कबासी जस्तै कामदाम छाेडेर घरमै बसाै कि भन्ने कुरा सयाैँपटक नसाेचेकी पनि हाेइन। मेरा इष्ट-मित्र पैसाकाे पछि लागेर ज्यान खतरामा राखिस् पनि भन्ने गर्छन्। अनि 'ज्यान रहे पैसा पछि पनि कमाइन्छ' भन्छन् । राजिनामा खल्तीमै छ। तर मेराे भनाइ के हाे भने काेराेना भाइरस महामारीकाे रुपमा संसारमा फैलिसकेकाे छ। यस्काे औषधी हालसम्म नआईसकेकाले याे धेरै महिना वा बर्षाै टाढा छ। चीनमा नियन्त्रणमा आयाे भनिए पनि चिनियॉहरु आफै याे कुरामा विश्वस्त छैनन्। वुहानमा फेरि नयाँ विरामी देखिएकाे कुरा मिडियामा  आएकाे छ। याे महामारी न्युयाेर्कजस्ता सन्सारका ठूला शहरमा बर्षाैसम्म रहिरहन्छ। अहिले पहिलाे चरणकाे महामारीमै मैले आफुलाई घरभित्र लुकाएर राख्न सफल पनि हुन सकुँला ।तर दाेस्राे चरणका लागि यस्ले पर्खेर बस्ने छ र पक्कै मलाई आक्रमण गर्नेछ। अहिले याे भाईरसले मेराे घाँटी अँठ्याउनु पहिले धेरै मानिसलाई मेराे सहयाेगकाे आवश्यकता छ।

म अन्डरलाइन हेल्थ कन्डिसनका मानिसलाई अलिकति बाेलेर हुन्छ वा अलिकति ढाडस दिएर हुन्छ- मानिसलाई दैनिक जीवन बाँच्न चाहिने भाैतिक र मानसिक सुविधा दिने प्रयास गरिरहेकी  छु। मैले ब्यक्तिगत रुपमा काेराेनासँग भागेर हैन डटेर सामना गर्ने काेशिष गरिरहेकी छु। मलाई मेरा डाक्टरले दुईहप्ता अगाडि नै भनिसकेका छन्- 'तिमी १००.४ डिग्री फरेनहाइट अथवा ३८ डिग्री सेन्टिग्रेड ज्वराे नआउन्जेल र स्वास फेर्न कठिनाई नहुन्जेल मसँग सम्पर्कमा नआउ। अनि याे महारिकाे बिचमा आफुलाई स्वस्थ राख। समयमा खाउ। प्रशस्त झाेल खाउ र मानिसक बिचलन हुनबाट जोगिन मनलाई थप बलियो बनाउ । अरु बिराम लाग्नबाट बच।' 

हुन पनि हाे । याे बेला न्यूयाेर्कका अस्पताल जानु भनेकाे मृत्युकाे मुखमा आफै धकेलिनु जस्तै हो। त्यसैले याे समय भनेकाे ख़्याल ठट्ठा गर्ने समय हैन। तपाई आफु सुरक्षित ठाउँमा रहेकाे महसुस गरिरहेकाे हुनुहुन्छ भने त्यही आफुलाई सुरक्षित नै राख्नुहाेस्। तर, अरु संक्रमितलाई तपाईकाे आवस्यकता परेकाे पनि हुनसक्छ। सकेकाे सहयाेग गराैं। धेरैजसाेलाई त भावनात्मक सहयाेग चाहिएकाे छ। तपाईले एक कल फाेन गरेर मिठाे बाेलिदिनु भयाे भने पनि ठूलाे सहयाेग हुनसक्छ । जाे बिरामी हुनुहन्छ र काेही छैन भने खाना पकाएर लगेर ढाेकामा राखी दिनुहाेस्। तपाई ६ फ़िट टाढैबाट  पीपीइ (पर्सनल प्रोटेक्टिव इक्विप्मेन्ट) लगाएर बार्तलाप पनि गर्न सक्नुहुन्छ। ग्राेसरी गरेर लगी दिनुहाेस्। डाक्टरसँग सल्लाह गरेर औषधी ढाेकामा पुर्याईदिनुहाेस्। याे वेलामा मरिने हाे कि भन्ने भयले गर्दा खाना अरुचि रनिन्द्रा अत्यन्तै कम पर्छ । त्यसैले सक्दाे शक्तिबर्दक खाना खानलाई उत्साहित बनाउनुहोस्। खाएकाे नखाएकाे कुरा साेध्नुहाेस्।

आफु पनि  हमेसा सजग र सुरक्षित हुनुपर्छ । सकेसम्म आफ्नाे अमुल्य समयलाई सत्कर्ममा लगाउन सिकाैं। अहिले लगाएकाे गुन तपाईलाई नै फिर्ता आउँछ। 

प्रकाशित मिति: Mar 26, 2020 05:23:35

प्रतिक्रिया दिनुहोस

सबै