वीरगञ्जकी मुस्कानमाथि एसिड प्रहार गर्ने समसाद मिया साधारण तारेखमा रिहा

वीरगञ्जकी मुस्कान खातुनमाथी तेजाब प्रहार गर्ने अभियुक्तमध्येका एक समसाद मियालाई जिल्ला अदालत, पर्साले साधारण तारेखमा रिहा गरेको छ। वैशाख १४ गते पुनः अदालतमा हाजिर हुने गरि मियाका आमा हसिना खातुनले रिहा गराएका हुन्। 

ज्यान मार्ने उद्योग तथा तेजाव छर्की कुरुप पारेको मुद्दामा बाल सुधार गृहमा रहेका आरोपी मियालाई बोलाएको समयमा उपस्थित हुने गरी हाजिरमा परिवारको जिम्मा लगाएको अदालत स्रोतले बिएल नेपाली सेवालाई जानकारी दिएको छ।

यता मजिद मियाको विषयमा छोड्ने कि नछोड्ने विषयमा बहस भइरहेको स्रोतले बताएको छ। सर्वोच्च अदालतको चैत ७ गतेको पूर्ण बैठकले कोरोना सङ्क्रमितको विपद् व्यवस्थापनको लागि अपनाउनुपर्ने सतर्कता अनुरुप बालगृहमा रहेका विचाराधीन मुद्दा र सजाय खेपिरहेका बालबालिकाहरुलाई मुद्दा फैसला नगरी आपतकालीन अवस्थामा परिवारको जिम्मा लगाउनुपर्ने निर्देशनअनुसार मियालाई अदालतले तारेखमा थुनामुक्त गरेको हो। 

यता पीडित बालिका मुस्कान उपचारको क्रममा काठमाडौंमा रहेको बेला अभियुक्त छोड्नु गलत भएको नगरवासीको टिप्पणी छ। 

यस्तो थियो घटना


भदौ २० गते बिहान छपकैया निवासी मुस्कानमाथि गणेशमान चोकमा समसाद र मजिद मियाले एसिड प्रहार गरेका थिए। मुस्कानका बुवा रसुल अन्सारीकाअनुसार सोही गाउँका स्थानीय युवा माबिद आलमले ६ महिना अघि मुस्कानलाई जिस्काएका थिए। जुन कुराको जानकारी मुस्कानले आफुलाई दिएको अन्सारीले बताए। आफ्नो छोरीमाथि भएको दुरव्यवहारलाई रोक्न बुवा रसुलले माजिदलाई हप्काएका थिए। सोहि रिसिबिका कारण माजिदले मुस्कानमाथि साथी समसादको सहयोगमा एसिड प्रहार गरेका थिए। 

मुस्कानको अनुहारको दायाँ भागको छाति तथा हाथ एसिडले जलेको छ। त्रिभुवन माविको कक्षा ९ मा अध्ययनरत मुस्कानमाथि एसिड आक्रमण भएपछि हालसम्म काठमाडौंमा उपचारर्थ भर्ना छिन्। हात, मुख, कान बिग्रिएको छ। 

नारायणी अस्पतालमा उपचार हुन नसकेर उनलाई काठमाडौंको कीर्तिपुर अस्पतालमा रेफर गरिएको थियो। करीब २४ घण्टा अचेत अवस्थामा रहेकी मुस्कानलाई होस आएपछि उनको मुखमा यति मात्र भनाई थियो,‘ममाथि एसिड प्रहार गर्ने दोषीलाई फाँसीको सजाय हुनुपर्छ। उनीहरुलाई घण्टाघरमा झुण्ड्याएर मारियोस्। मलाई जस्तो अरुलाई नहोस्।’ आज पनि उनी न्यायको गुहार लगाउदै छिन्। आमा र बुवाको माग पनि दोषिलाई फाँसी होस् भन्ने छ। 

मुस्कानले आफुमाथि एसिड प्रहार गर्नेलाई फासीको माग गरेपछि देशैभरि उनकाे सर्थनमा जुलुस/प्रदर्शन भएको थियो। परिवारको आर्थिकस्थिति कमजोर भएका कारण सङ्घ र प्रदेश सरकारले पनि मुस्कानको उपचारमा सहयोग गरेको थियो। भारतीय कलाकारहरुले समेत मुस्कानको बारेमा चासो लिएका थिए।

छोरीको उपचार गराउने क्रममा मुस्कानका बुवनआमाले काम गर्न सकेका छैनन्। प्रदेश सरकार, महानगर तथा बिभिन्न संघ-सस्थाको सहयोगमा पाएको रकमबाट अहिले उनीहरु आफ्नो छोरीको उपचार गराइरहेका छन्। यता आरोपी छुटेको खबरबाट न्यायको खोजिमा विभिन्न निकायमा भौतारीरहेका पीडित मुस्कान लगायत उनका आमाबुवालाई यस बारेमा केही जानकारी छैन।

प्रकाशित मिति: : 2020-03-27 07:46:17

प्रतिकृया दिनुहोस्