नाग्म हेल्थ डेक्सका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लाको सिमाना नाग्मा राखेको हेल्थ डेक्समा बसेका सबै स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। हेल्थ डेक्समा एक सातासम्म खटिएका स्वास्थ्यर्मीहरुले लकडाउनकै समयमा करिब ४ हजारभन्दा धेरै मासनिहरुमा कोरोना भाइसरको संक्रमण स्क्रिनिङ्ग गरेका थिए। 

जुम्ला कालिकोटको सिमानामा बसेर स्वास्थ्य परिक्षण गरेका उनीहरुलाई अहिले जुम्लाको बसपार्कस्थित क्वारेन्टाइनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। 

नाग्म हेल्थ डेक्समा स्क्रिनिङ्गका लागि खटिएका स्वास्थ्यकर्मीहरु सुरक्षाका समाग्रीबीना नै जोखिम मोलेर खटिएका थिए। जोखिमका बाबजुत पनि आफूहरुलाई दिइएको जिम्मेवारी पुरा गरेर फर्केको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी नन्दराज उपाध्यायले बताए। 

‘लक डाउनको बेलापनि दैनिक हजारभन्दा धेरै मान्छेहरु जिल्ला प्रवेश गरे। नाग्मा सानो ठाउँ भएकाले सबै जना टासिएरै लाइन लाग्दा जोखिम झन् बढेको महशुस हुन्थ्यो। आफ्नो कर्तव्य त पुरा गर्न पर्‍यो,’ उनले भने, ‘पीपीई नभएपनि हामीले सबैको स्वास्थ्य परिक्षण गर्‍यौं। धेरैलई क्वारेन्टाइनमा बस्न सुझाव दियौँ। दुई जनालाई आइसोलेनसमा समेत पठायौं। नाग्मा बसेर फर्किएपछि अस्पतालमा कममा नगइ हामी पनि क्वारेन्टाइनमा बसेका छौं।’ उनले अब १४ दिन पछि स्वास्थ्य अवस्था हेरेर मात्रै काममा फर्किने बिएल नेपाली सेवासँग बताए।

यात्रुहरुको स्क्रिनिङ्गका साथै परामर्श सेवा समेत दिएको डा.कपिल अमगाईले बताए। ‘यात्रुहरुलाई दिएको परामर्शबाट यात्रुहरुले चुरोट, खैनी, पानपराग लगायत स्वस्फूर्त रुपमा त्यही फालेर गएका थिए,’ उनले भने, ‘विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न सुझाव दिएका छौं। संचारको पहुँच नभएको नाग्ममा बसेर जुम्ला भित्रिने हरेक व्यक्तिको स्वास्थ्य परिक्षण गरेर मात्रै जिल्ला आउन दिएका थियौं। धेरै जसो मानिसहरु क्वारेन्टाइनमा नबसेर घर गएका छन्। सबैलाई लकडाउनको पालना गर्दै सुरक्षित भएर घरमै बस्न सुझाव समेत दिएका छौं।’

जुम्लामा लकडाउनको सुरु भएदेखिनै जिल्ला भित्रिने यात्रुहरुको स्वास्थ्य स्क्रिनिङ्ग गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा.कपिल अमागाईको नेतृत्वमा डा.विशाल पोखरेल, निशान्त लामा, नन्दराज उपाध्याय र विशाल खड्काको टाेली नाग्ममा खटिएका थिए। हाल उक्त टाेली क्वारेन्टाइनमा बसिरहेको छ।
 

प्रकाशित मिति: : 2020-03-30 00:35:43

प्रतिकृया दिनुहोस्