अदृश्य कोरोनाको संत्रास र भुंग्रोमा सुदूर पहाड

श्याम भट्ट

कञ्चनपुर

सयौं सुदूरपश्चिमेली ‘लकडाउन’ पछि दार्चुला नाकाबाट मात्र भित्रिए। प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुभवमा भित्रिएका कुनै पनि नेपालीले आफूलाई ‘सेल्फ क्वारेन्टाइन’ मा राखेका छैनन्। आएकाहरूको शरीरको तापक्रम नाप्ने सामान्य प्रक्रियापछि उनीहरूलाई सम्बन्धित गाउँपालिका वा नगरपालिकामा गएर ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने गरि जिम्मा लगाए पनि सुदूर पहाडका कुनै पनि नगर र गाउँपालिकामा अहिलेसम्म कोही क्वारेन्टाइनमा बसेको खबर छैन। 

‘मलाई केही भएको छैन’ वा आफू ठिक भएको दावी गर्दै उनीहरूले गाउँमा हिमचिम बढाएका छन्। सुदूरका विभिन्न नाकाबाट ‘लकडाउन’ पछि अहिलेसम्म झण्डै डेढ लाख नेपाली घर फिरेको स्थानीय प्रशासनको अनुमान छ। स्थानीय प्रशासनको नजरमा नआई सुटुक्क घर पुगेकाको संख्या पनि उल्लेख्य छ। 

धनगढीमा ‘आइसोलेसन’ मा बसेका कोरोना पोजेटिभ अमृत शाही एक जिम्मेवार नागरिक भएर आफै अस्पताल पुगेका थिए। उनी अस्पताल पुगेपछि मात्र सरकारले उनमा कोरोना भएको पुष्टी गर्यो। उनी खोजिएका व्यक्ति थिएनन्। 

सुदूर पहाडमा भने यसको ठिक विपरित छ। भारतबाट फर्केकाहरू बाचेर पुगियो भन्दै भोज र मोजमा छन्। सुदूरका यी नाकाबाट आउने मध्ये सुदूर र मध्य पश्चिमका नागरिक बढी छन्। तथ्यांक हेर्दा मुलुकको प्राय: सबै जिल्लाका नागरिक यो नाका काटेर आ–आफ्नो घर पुगेका छन्। उनीहरू कहाँ छन्? के गर्दै छन्? जिम्मेवार स्थानीय सरकार तथा प्रशासन खाली ‘लकडाउन’ को मुडमा मात्र देखिन्छ। 

डडेल्धुराको परशुराम नगरपालिकाले काली तरेर आउने आफ्ना नागरिकका लागि ४० वेड क्षमताको क्वारेन्टाइन सेन्टर बनाएको छ तर यो सेन्टमा पुगेका कोही पनि नागरिक यहाँ बस्न मानेनन्। डडेल्धुरा पुगेका नागरिकलाई पनि बिएड कलेजमा क्वारेन्टाइनमा बस्न अनुरोध गरियाे। यहाँ पनि बस्न नमानेर गाउँतिरै लागे। 

डडेल्धुराकै भागेश्वर गाउँपालिकाले आफ्नो प्रत्येक वडामा क्वारेन्टाइन बेडको व्यवस्था गरे पनि त्यहाँ बस्ने कोही छैनन्। तर, भागेश्वर गाउँपालिकाले भारतबाट गाउँ प्रवेश गरेकाहरूको तथ्यांक भने राखेको छ। 

बैतडी र दार्चुलामा भारतसँग १० वटा परम्परागत नाका जाेडिएका छन्। बैतडीको मुख्य नाका जुलाघाट र दार्चुलाको खलंगाबाहेक नेपाल भित्रिएकाको तथ्यांक प्रशासनसँग छैन। ट्युब र डुँगा तरेर कति नेपाली घर फिरे कसैलाई थाहा छैन। मुख्य नाकाबाहेकका सहायक नाकामा राज्यको पहुँच छैन। यसै कारण कोरोना महामारीको बेला पनि मुलुकले यकिन तथ्यांक पाउन सकेको छैन। 

दार्चुला, बैतडी र कञ्चनपुरका विभिन्न नाकाबाट आइरहेका नेपालीको संख्या देख्दा लाग्छ–‘लकडाउन’ अवधिभर यो क्रम रोकिनेवाला छैन। यी तीनै नाकामा प्रतिदिन ५० देखि सयको हाराहारीमा नेपालीहरू मुलुकु भित्रिने आशामा जम्मा भइरहेका छन्। 

अझै पनि भारतको विभिन्न शहरमा अलपत्र परेका नेपाली आइरहेका छन् भने दिल्ली र बेङ्गलुरु जसता महानगरबाट हिड्दै नाका पुग्ने नेपालीको संख्या पनि उल्लेख्य छ। काखमा नानी च्यापेर कञ्चनपुर–दिल्लीको ३ सय १८ किलामिटर दूरी पुरा गर्दै कञ्चनपुरको कालीपारीको महाकाली नगरपालिमा सोमबार राती ११ बजे प्रवेश गरेका नेपाली चेलीको अवस्था पनि कम दयनीय छैन। 

नेपाल सबै नेपालीहरूको हो, यसमा दुईमत छैन। दार्चुलाको भारतीय नाका धार्चुलामा जम्मा भएका सयौं नेपालीलाई एउटै बाटो प्रवेश नदिँदा उनीहरुले स्थानीय प्रशासनलाई दबाब दिए। कालीपारीको यो सानो सदरमुकाममा एकै पटक यति धेरै मानिस भित्रिए कोरोनाको जोखिम बढ्ने स्थानीयको बुझाई  एकातर्फ त छदैँछ, अर्कोतर्फ स्थानीय सरकार तथा प्रशासनसँग नेपाल भित्रिने यी नेपालीलाई एकै पल्ट क्वारेन्टाइनमा राख्ने न कुनै ठाेस याेजना छ,  न कुनै व्यवस्था नै।

दार्चुला जस्तै अवस्था सुदूरको सबै पहाडी जिल्लाको हो। हजारौ नेपाली भित्रिएका छन्। भित्रिएकालाई क्वारेन्टाइनमा राख्ने हैसियत कुनै पनि जिल्लाको छैन। यति बेला आवश्यक थियो, स्थानीय सरकारले आएकालाई खुसी बनाई उनीहरूलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न र सामाजिक दूरी राख्न दबाब दिने। तर यस्तो हुन सकेन। 

भारतबाट भित्रिएका तराईभन्दा पहाडतर्फ बढी छन्। यसैले कोरोनाको जोखिम र त्रास तराईभन्दा पहाडतिर बढी छ। बुझनेले उनीहरूसँग दूरी बनाएका छन्। तर, उनीहरूको गोर्खे पाराले भने समाजमा अदृश्य कोरोना भाइरसको संत्रास बढाएको छ। 

विश्वव्यापी यो महामारीलाई सुदूर पहाडका स्थानीय सरकारले चाँडोभन्दा चाँडो तथ्यांक संकलन गरी सामाजिक दबाब दिएर ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने वातावरण मिलाउने हो भने जनप्रतिनिधिहरुकाे विवेकशीलता झल्किन्थ्यो की!  अदृश्य कोरोनाविरुद्धकाे लडाई‌मा पछि पछुताउनुभन्दा अहिले नै दूरदृष्टि अपनाउनु उत्तम उपाय हो। यसमा आफ्नाे अक्कल कति प्रयाेग गर्छन्, हाम्रा तलबवाला जनप्रतिनिधिले? यसले पहाडी जिल्लामा अदृश्य काेराेनाविरुद्ध लड्न सबैलाई हाैसला प्रदान गर्नेछ।  

याे पनि:

फ्रान्सको मेडिकल इतिहासकै खराब दिन, एकै दिन अस्पतालमा ४ सय ९९ को निधन

महावीर पुनले यसरी पूरा गर्दैछन् कोरोना उपचार गर्ने डाक्टरको पीपीई  (भिडियो)

ओली ‘बा’ तिम्रा राजदूत फिर्ता लैजाउ! 

सिलसिलाहीन टिपोटहरू

बीबीसीका पत्रकार पनि काेराेना भाइरसकाे शिकार

प्रकाशित मिति: : 2020-04-01 09:00:00

प्रतिकृया दिनुहोस्