महावीर पुनले यसरी पूरा गर्दैछन् कोरोना उपचार गर्ने डाक्टरको पीपीई  (भिडियो)

कारोना भाइरस संक्रमणको विश्वब्यापि सन्त्राशसँगै सरकारले सातदिने ‘लकडाउन’ घोषणा गर्‍यो। ‘लकडाउन’ सँगै यति बेला आम नागरिक फुर्सदिला बनेका छन्। शायद् यही फुर्सद्को सदुपयोग गर्न होला– यातायात बन्द हुने अघिल्लो दिन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवम् सामाजिक अभियन्ता महावीर पुन पनि हतार–हतार पोखरा हिँडे।

अरुको त के कुरा, स्वयम् महावीरलाई पनि अनुमान थिएन– कोरोना भाइरस (कोभिड १९) विरुद्ध लडाइँको अग्रिम मोर्चामा जुध्ने चिकित्सकको पोशाक ‘पीपीई’ (पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट) बनाउने जिम्मा उनकै काँधमा आउँला। 

रातारात पोखरा पुगेका उनलाई भोलिपल्टै प्रस्ताव आयो– ‘पीपीई’ राष्ट्रिय आविष्कार केन्द्रबाट बनाइदिनुपर्‍यो । अहिले पोखरामै बसेर उनी काठमाडौंमा पीपीई सिलाउने बन्दोबस्त गर्दैछन् । 

एक साताभित्रमा ४ सय थान पीपीई तयार

शायद् बुधबार दिउँसोसम्ममा तीन–चार थान पीपीई तयार हुँदैछ। डाक्टरलाई ती पीपीई देखाएर स्वीकृतिपछि उनले ४ सय थान सिलाउने तयारी गरेका छन् । उनले बिएल नेपाली सेवासँग भने, ‘हिजो बेलुका नै टेलरलाई दिएको छु। आज २–३ वटा गाउन बनाएर डाक्टरलाई देखाउँछौँ । बनाउन त धेरै टाइम लाग्दैन। एक हप्ताभित्रमा ४ सय थान सबै बनाउन सकिन्छ।’

पुन मेडिकल डाक्टर हैनन् । सामाजिक अभियन्ता एवम् वैज्ञानिक हुन्।  तर, आफ्नाे काँधमा जिम्मेवारी आएपछि स्विकार गरे। ‘म त डाक्टर परिनँ । मलाई अस्तिसम्म पीपीईबारे केही थाहा थिएन । जब अस्ति बेलुका र हिजो बिहान शिक्षण अस्पताल (महाराजगञ्ज), धरानको अस्पताल (बीपी कोइराला प्रतिष्ठान) र प्युठानतिरका अस्पतालको डाक्टरहरूले मलाई फोन गरे र बनाइदिन भने। अनि पो मैले यो भनेको कस्तो चिज रैछ, कति महत्वपूर्ण रैछ भन्ने कुरा थाहा पाएँ,’ उनले बुधबार भने, ‘हिजो मात्र थाहा पाएर हिजै (सोमबार) मैले सबै कुरा गरेँ। मेटेरियल पनि हिजो नै खोजेको हो । मान्छे पनि हिजो नै खोजेको हो । सिलाउने मान्छे त जत्ति पनि रहेछन्।’ 

काठमाडौंको कीर्तिपुरस्थित आविष्कार केन्द्रमै काम गर्ने एक युवकले चिनेको व्यक्तिकहाँबाट पीपीई सिलाउने ‘कपडा’ ल्याए तर कहाँ कसरी सिलाउने भन्ने समस्या भयो । आविष्कार केन्द्रमा त सिलाउने मेसिन र कालिगढ थिएनन्। 

त्यसपछि उनले ‘फेसबुक’ मा लेखे, ‘ डाक्टरहरुले कोरोनाको बिरामी जाँच गर्दा लगाउने ड्रेसलाई पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट) भन्दा रहेछन् । त्यसको अति नै आवश्यक परेको रहेछ । त्यो नलगाइकन डाक्टरहरुले कोरोना बिरामी जाँच गर्न नमिल्ने रहेछ । त्यसैले टिचिङ अस्पताल काठमाडौँ र बी.पी. अस्पताल धरानबाट त्यस्तो ड्रेस बनाउने अनुरोध राष्ट्रिय आविष्कार केन्द्रलाई आएको छ । त्यो ड्रेसको डिजाइन आविष्कार केन्द्रमा बन्दैछ । करिब ४ सय वटा जति ड्रेस बनाउन सकिने समान पनि भर्खरै उपलब्ध भयो। अब सिलाउने टेलर चाहियो। यदि तपाईहरु कसैले कपडा सिलाउने टेलरहरुलाई चिन्नुभएको छ र यो काममा सहयोग गर्न चाहनुहुन्छ भने तुरुन्त मलाई सम्पर्क गर्नुहोस् ।’

पुनले फेसबुकमा उक्त स्ट्याटस लेखेको मात्र के थिए, केही बेरमै धेरैले उनीसँग सम्पर्क बनाए। यसपछि उनले अर्को स्ट्याटस लेख्नु पर्याे, ‘अहिलेलाई चाहिने टेलर पूरा भयो ।’ 

को हुन् महावीर ?

२०७६ कात्तिक १ गते कीर्तिपुरमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुन् महावीर पुन । उनले सन् २००७ मा रामोन म्यागासेसे पुरस्कार जितेका थिए। यसलाई ‘एसियाको नोबेल पुरस्कार’ मानिन्छ । गाउँगाउँमा वायरलेस प्रविधि प्रयोग गरी इन्टरनेट सेवा र कम्प्युटर विस्तार गरेवापत उनलाई म्यागासेसे पुरस्कारबाट सम्मानित गरिएकाे हाे। यसअघि उनी सन् २००२ मा अशोका फाउन्डेसनबाट ‘अशोका फेलो’का रुपमा चुनिएका थिए।  

आफ्नो ठाउँका लागि काम गरेबापत उनले स्नातकोत्तर डिग्री हासिल गरेको अमेरिकाको नेब्रास्का विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । वैज्ञानिक र सामाजिक अभियन्ता उनको परिचय हो ।

महाबीर पुनकाे जन्म २०११ साल माघ ९ गते म्याग्दीको नाँगीमा भएकाे हाे। उनी ब्रिटिश गोर्खा सैनिकका छोरा हुन्। सदरमुकाम बेनीबाट नौ घन्टा पैदल हिँडेपछि पुगिने हिमाली गाउँ– नाँगीमा हजुरबासँग भेडाबाख्रा चराउँदै उनी हुर्केका थिए।  

दोस्रो विश्वयुद्धपछि अवकाश पाएर फर्किएका सैनिकहरुले गाउँमा खाेलिदिएकाे स्कुलबाट उनले प्रारम्भिक शिक्षा हासिल गरेका थिए। भूपू सैनिकले सेनामा जे सिकेका हुन्थे, त्यही पढाइ हुन्थ्यो उबेलाकाे स्कुलमा। कलम–कापी हुँदैनथ्यो, ढुंगाले काठमा लेखेर पढ्नुपर्थ्याे। पुनले सात कक्षामा पढ्दा पहिलाे पल्ट सिसाकलम देखेका थिए। कक्षा ८ मा पुगेपछि मात्र पुस्तककाे अनुहार हेर्ने माैका पाएका थिए। 

पिताकाे ब्रिटिश सेनामा अवकाश भएपछि पुरै परिवार नाँगीबाट बसाइँ सरेर २०२५ सालमा चितवनको खैरेनी पुगेकाे थियाे। त्यतिबेला बसाइँ सर्नुकाे कारण थियाे, परिवारकाे अध्ययन। गाउँमा राम्राे स्कुल थिएन। सेनाबाट फर्किएका कारण पिता आफ्नाे परिवारलाई राम्राे शिक्षा दिन चाहन्थे। 

 पुन १४ वर्षको उमेरमा ९ कक्षा भर्ना भएका थिए, खैरेनी माविमा। उनले त्यहीँबाट एसएलसी पास गरे । यसपछि थप अध्यनका लागि काठमाडाै‌ं आएका पुनले अमृत साइन्स क्याम्पस, काठमाडौंबाट आईएससी पुरा गरे। २०३१ देखि २०४४ सम्म उनी १३ वर्ष निरन्तर शिक्षण पेशामा लागे।

२०४४ सालमा ३३ वर्षको उमेरमा उनलाई अमेरिकामा छात्रवृत्तिमा स्नातक गर्ने अवसर जुर्‍याे। ०४९ सालमा स्नातक पुरा गरेर नेपाल फर्किएपछि उनी जन्मथलो नाँगी पुगे– शिक्षा फैलाउने योजनासहित। जहाँबाट उनको परिवार २४ वर्षअघि बसाइँ सरेको थियो । 

नाँगीमा उनले हिमाञ्चल माध्यमिक विधालय स्थापना गरे । केही वर्षपछि फेरि अमेरिका गए, स्नातकोत्तर गर्न । सन २००१ मा स्नातकोत्तर सकेर फर्केपछि हिमाञ्चल हाइस्कुलमा आधुनिक शिक्षा भित्र्याउने अभियान स्वरुप उनले कम्प्युटर पढाउने व्यवस्था मिलाए। यही अध्पापन गराउँदै गर्दा उनी गाउँगाउँमा इन्टरनेट र कम्प्युटर पुर्‍याउने र पुस्तकालय खोल्ने अभियानमा सक्रिय भए। उनकाे यही कामकाे पछि उच्च मूल्यांकन भयाे।

उनले सन् २०१२ मा आफ्नाे एकल प्रयासमा राष्ट्रिय आविष्कार केन्द्रको घोषणा गरे। जसका लागि उनले कास्की बेगनाश ताल उत्तरपट्टिको ठूलोकोट डाँडामा रहेको २८ रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरे। 

उनकाे राष्ट्रिय आविष्कार केन्द्र खोल्ने सपना यसै वर्ष पूरा भएको हाे। उनी त्यसका प्रमुख हुन् । उनी भन्ने गर्छन्, ‘जुन देशका जनता नयाँ खोजमा लाग्दैनन्, जुन देशको सरकार ‘इनाेभेसन’ लाई प्राथमिकता दिँदैन, त्यो देश कहिल्यै समृद्ध हुँदैन।’

विश्वब्यापि महामारीकाेरूप लिँदै गएकाे कोरोना भाइरस लागेका बिरामीको उपचारमा संलग्न चिकित्सकले लगाउने ‘ड्रेस’ समेत तयारी नभएकाे अवस्थामा पछिल्लाे समय नेपाली चिकित्सकहरू चिन्तित थिए । चिकित्सकहरूले नै यति ठूलाे विश्वास गरेर जिम्मेवारी दिएपछि पुनले भने, ‘मटेरियल चाहिँ वाटरप्रूफ र एयरप्रूफ हुने कपडा हुने रहेछ । केही सीप लागेन भने वर्षादीजस्तोले पनि काम चलाउन सकिँदो रहेछ । तर, त्यो राम्रो चाहिँ हुँदो रहेनछ । मेटेरियल पनि बजारमा खोजिरहेका छौँ । बिराटनगरमा पनि मान्छेले खोज्दै छन् । यहाँ हामीले अहिले पाएको मेटेरियल चाहिँ झण्डै २५–२६ सय मिटर छ । यसले चार सय थानलाई पुग्छ ।’

 

प्रकाशित मिति: Mar 25, 2020 22:56:01

प्रतिक्रिया दिनुहोस

सबै