क्वारेन्टाइनमा बसेका एक मात्र हुम्ली भन्छन्– घरपरिवारलाई म कहाँ छु, थाहै छैन

दार्चुला जिल्लाकै अन्तिम गाउँपालिका ब्यासस्थित महाकाली नदीको किनारतर्फ अचेल सुरक्षाकर्मीको निगरानी बढेको छ। याे निगरानी केही समयअघि नेपाली भूभाग लिपुलेक र लिम्पियाधुरालाई लिएर बढेकाे हाेइन। विश्वव्यापी खतरा बनेकाे काेराेना भाइरस संक्रमणकाे डरलाई लिएर बढेकाे हाे।

महाकाली नदीमा हामफालेर वारी नेपालतर्फ आउनेको संख्या सरकारले यकिन गर्न सकेकाे छैन। तर हालसम्म महाकाली नदी तरेर आएका २० जनालाई सुरक्षाकर्मीले समातेर सम्बन्धित गाउँपालिकालाई बुझाइसकेकाे छ। दार्चुला हुती वडा नम्बर–६ का अध्यक्ष मनोज कुँवरका अनुसार हालसम्म नदि तरेर आएका २४ जनालाई ब्यास गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ, जसमध्ये २१ सुनसेरा र ३ हुतीस्थित रानीस्थान प्राथमिक बिद्यालयमा छन्।

हुतीभन्दा १३ किलोमिटर दुरीमा सुनसेरा पर्छ। यहाँस्थित क्वारेन्टाइनमा हुम्ला, हेप्काका ६५ वर्षीय एक व्यापारी टावा तामाङलाई पनि राखिएकाे छ। उनी क्वारेन्टाइनमा बस्ने हुम्लाका एक्ला व्यक्ति हुन्। कान अलि कम सुन्छन्। उनकाे पेशा नै तिब्बतबाट किनेर ल्याएकाे माल भारतकाे धार्चुला हुँदै नजिकका भारतीय गाउँहरुमा बेच्ने हाे भने भारतबाट खरिद गरेर ल्याएकाे समान दार्चुला वरिपरिका गाउँमा।

उनी यसैका लागि दुई साताअघि भारतपट्टि धार्चुला लागेका थिए। तर,फर्किनुअघि नै भारत र नेपालमा काेराेना भाइरसका कारण ‘लकडाउन’ भयाे। उनी भारतमै थुनिए। केही दिन धार्चुला नाकामै बसेका उनी नेपालले सीमा नखाेल्ने छाँट देखाएपछि महाकालीकाे दाेकट भन्ने ठाउँ पुगेर त्यहाँ नदीमा हाम्फालेर नेपाल भित्रिएका थिए। 

सुनसेराकाे क्वारेन्टाइनमा उनी प्रहरीले समातेर आएका हाेइनन्। आफ्नै विवेकले। उनलाई पनि थाहा छ, काेराेना भाइरसकाे महामारीबाट बच्न र यसलाई अन्य समुदायमा फैलन नदिन ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नु नै अचुक उपचार हाे। उनी चैत १३ गते धार्चुलाबाट पैदल हिडेर महाकालीकाे दाेकट आइपुगेका थिए। 

‘म क्वारेन्टाइनमा खुसी नै छु। समयमा खाना ख्वाएकै छन्। स्वास्थ्यकर्मी दैनिक चेकजाँचका लागि आएकै छन्,’ उनले भने। उनलाई यति बेला घरपरिवारकाे यादले सताएकाे छ। व्यापारका लागि उनले दार्चुलाकाे सदरमुकाम खलंगामा डेरा पनि लिएका छन्। हिड्ने बेला उनले कपिमा टिपेकाे घरकाे टेलिफाेन नम्बर त्यहीँ डेरामा छाेडेका रहेछन्। उनीसँग माेबाईल पनि छैन। घरकाे नम्बर पनि याद छैन। 

यस्ताेमा उनकाे परिवारलाई उनी ‘क्वारेन्टाइन’ मा छन् भन्ने पनि थाहा छैन। ‘टेलिफाेन नम्बर डेरामा छुट्याे। परिवारलाई म कहाँ छु, थाहा पनि छैन। चिन्ता गरेका हाेलान्। जानकारी गराउन पाएकाे भए ढुक्क हुन्थ्याे,’ उनले भने। गाउँपालिकाका कर्मचारी दीपक खाती क्वारेन्टाइनकाे समय सकिएपछि उनलाई सुनसेराबाट धौलाकोट, हुती र ब्रहमदेव हुँदै महाकाली नगरपालिकासम्म सुरक्षाकर्मीको राेहवरमा क्वारेनटाइन प्रमाणपत्र थमाएर पुर्याइदिने बताउँछन्।

तामाङ सुनसेराकाे क्वारेन्टाइनमा आउँदा उनीसँग चार जाेर चिनियाँ जुत्ता थियाे। जुन उनले क्वारेन्टाइनमै बसेर बेचिसकेका छन्। उनी भारतबाट नेपाल प्रवेश गर्ने अन्य नेपालीलाई क्वारेन्टाइनमा बसिदिन अपील पनि गर्छन्। 

नेपाल सरकार तथा स्थानीय निकायले व्यवस्थित तरिकाले आफ्नाे जनता भारतीय सीमाबाट भित्र्याउन नसक्दा गाउँमा त्रास बढेकाे छ। अझ भारतमा नेपालीहरुलाई राेकेर राख्दा अवैधानिक बाटाेबाट जाेखिम माेलेर सुरक्षाकर्मीकाे आँखा छल्दै देशमा भित्रिँदा जाेखिम झन् बढेकाे छ। 

हुती गाउँका स्थानीय भन्छन्, ‘अस्तिसम्म ८–१० जनाकाे समूह आइरहेकाे थियाे। हामीलाई याे महामारीकाे विषयमा त्यति थाहा थिएन। भाेकै हाेलान भनेर नजिकै राखेर खान दियाैं।’ अहिले डरका कारणा गाउँलेहरु केही बाेल्ने अवस्थामा छैनन्। 

हुतीस्थित रानीस्थान प्राथमिक बिद्यालयमा ५ शैयाको क्वारेन्टाइनमा बसिरहेका स्थानीय नरेन्द्र बिष्ट र लोकेन्द्र बोहरा पनि महाकाली तरेर नै गाउँ भित्रिएका हुन्। उनीहरु पनि क्वारेन्टाइन बसेकाे ९ दिन बितिसकेकाे छ। स्थानीय वडा अध्यक्ष कुँवर १५ दिन क्वारेन्टाइनमा राखेपछि उनीहरुलाई छाेडिने बताउँछन्। हाल धार्चुलामा शरणार्थीकाे जीवन बिताइरहेका १ हजारकाे भीडमा दुबै थिए। उनीहरु समूहमा बस्दा संक्रमण झन् बढ्ने डरले महाकालीमा हाम्फालेर नेपाल छिरेका हुन्। 

‘हामी ५ घण्टा हिडेर घर नजिकैकाे घाट आइपुगेका हाैं। हामी अंगालाे मारेर नै घाट तरेका थियाै,’ नरेन्द्रले भने। महाकाली नदीमा हाम्फाल्नुअघि भारतीय सुरक्षाकर्मीले आफूहरुलाई देखेकाे तर नदेखे झै गरेकाे उनीहरुले बताए। 

‘क्वारेन्टाइनमा बस्नु भनेकाे नियमपालना गर्नु हाे। सरकारले हाम्रै लागि भनिरहेकाे छ। त्यसैले हामी खुसी छाैं,’ नरेन्द्रले भने। उनले घर जान मन भएपनि त्रास बाेकेर हाेइन, त्रास नबाेकी घर जान आफू चाहेकाे बताए। उनले पनि अरुलाई क्वारेन्टाइनमा बस्न अपील गरे। 

 

प्रकाशित मिति: : 2020-04-10 08:02:00

प्रतिकृया दिनुहोस्