ग्यास सिलिण्डर अभावले धादिङमै थन्किए दर्जनौं उद्योगका बुलेट

दीप सुवेदी

काठमाडाै‌ं

खाना पकाउने ग्यासका सिलिण्डरहरु ‘रिफिल’ गर्ने स्थानमा पुर्‍याउन नपाउँदा ट्यांकहरु ग्याससहित थन्किएका छन्। धादिङमा रहेका १३ ओटा ग्यास रिफिल उद्योगका दर्जनौं बुलेट ग्यास ‘अपलोड’ गर्न नपाइ थन्किएका हुन्।

कोरोना भाइरसको संक्रमणको सन्त्राससँगै बजारमा ग्यासकोअभाव हुन थालेपछि सरकारले व्यवसायीहरुलाई चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो। सरकारकाे निर्णयअनुसार चैत १६ गतेदेखि व्यवसायीहरुले आधा सिलिन्डर ग्यास बितरण गर्न थालेका थिए।

तर अहिले बजारमा ग्यासको अभाव हट्न थालेको छ। उपभोक्ताहरुले भारतका नाका बन्द हुने र उपभोक्ताहरुले भारतका नाका बन्द हुने र ग्यास नपाइने भन्दै यसअघि आवश्यकता भन्दा बढि मौज्दात गरेकाले बजारमा अभाव देखिएको थियो।

अहिले बजारबाट ग्यास रिफिल कम्पनीसँग  सिलिण्डर नहुँदा र आयात नियमित भइरहेकाले ट्यांकहरु ग्याससहित थन्किएकाे एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले बताए।

‘काठमाडौंं र छिमेकी जिल्लाका ग्याँस उद्योगहरुमा सिलण्डिर फिर्ता नभएपछि ढुवानी गर्ने ६८ ग्याँस बुलेट धादिङमै थन्किएका छन्,’उनले भने,‘ सरकारको आधा मात्रै ग्यास दिने निर्णयले बजार गएका ग्यास सिलिण्डरहरु पनि बिक्री नभएपछि सिलिण्डर अभाव भएको हो।’

१४ दशमलव २ केजी ग्यास भर्न सजिलो भए पनि आधा भर्दा पुरै समय निगरानी गर्नु पर्ने, ढुवानी खर्च र जनशक्तिको खर्च पनि उत्तिनै लाग्ने भएकोले घाटा पर्छ।

लकडाउनमा पनि ग्यास सहजरुपमा आपूर्ति भइरहेकाले तथा उपभोक्ताले ग्यास खपत कम गर्न लागेपछि बजारमा ग्यासको अभाव हटेको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।

यो अवस्थामा पनि ग्यास पर्याप्त मात्रामा बजारमा आइरहेको र ग्यासको माग कमि भएकाले अहिले अधिकांश उद्योगहरुको भण्डारण भरिएको र नयाँ राख्ने ठाउँ नभएकाले बुलेटमै राख्नु पर्ने बाध्यता सिर्जना भएको उनले बताए।

‘पृथ्वी राजमार्गसँग जोडिएका होटेलहरु बन्द रहेकाले पनि माग कम भएको हो,’उनले भने,‘सामान्य अवस्थामा एक उद्योगबाट दैनिक २० हजार सिलिण्डर बजार पठाउने गरेका छौं।’ उनका अनुसार चितवनको कुरिनटारदेखि नौविसेसम्मको पृथ्वीराजमार्गमा १९ वटा ग्यास भर्ने उद्योगहरुले  मासिक २ सय ५ वुलेट ग्यास आयात गर्छन्। 

 

प्रकाशित मिति: : 2020-04-11 18:25:07

प्रतिकृया दिनुहोस्