केन्द्रले जिम्मा लिएको स्वास्थ्य मन्त्रालयले प्रभावशाली काम गर्न सकेनः मुख्यमन्त्री राउत (अडियाेसहित)

भारतबाट आएका तीन मुस्लिम नागरिकमा कोरोना भाइरसको संक्रमण आइतबार पुष्टी भएपछि प्रदेश नम्बर २ सक्रिय भएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिएल नेपाली सेवासँग विशेष कुराकानी गर्दै संक्रमितहरूले बीचको अवधिमा को–कोसँग भेटे र कहाँ बसे यसको सम्पूर्ण जानकारी लिने काम भइरहेको बताएका छन्। 

उनले भने, ‘संक्रमित पुष्टी भएका व्यक्तिसँग सम्पर्कमा आएका अन्यहरूको ट्रेसिङ गर्ने कार्य भइरहेको छ र उनीहरूलाई क्वारेन्टाइनमा राख्ने विषयमा स्थानीय प्रशासनसँग छलफल भइरहेको छ।’ 

प्रदेश २ स्थित वीरगञ्जको छप्कैयास्थित एउटा मस्जिदमा उनीहरू बसेका थिए। भारतबाट आएका ती मुस्लिम नागरिक तीन साताअघि नयाँ दिल्लीमा आयोजित एउटा धार्मिक सभामा सहभागी भएको बताइएको छ। मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा कोरोनाको संक्रमण फैलिन नदिन आफूहरू सजग र सर्तक भएको बताए। साथै उनले केन्द्रीय सरकारको रवैयाका कारण प्रभावकारी काम गर्न नसकेको आरोप लगाए। 

उनले कोरोनाको संक्रमित पत्ता लगाउन पिसिआर मेशिन आवश्यक पर्ने तर त्यो आफ्नो प्रदेशसँग नभएको र केन्द्र सरकारसँग माग गरे बमोजिम सोमबार आइपुग्ने बताए। उनले केन्द्रीय सरकारले कोरोनासँग लड्न प्रभावकारी काम नगरेको आरोप लगाए। ‘केन्द्र सरकारले यसको जिम्मेवारी लिएको छ। अहिलेसम्म किन हुन सकेन? हामीले रातारात गर्ने हो र?’ उनले प्रतिप्रश्न गरे।

उनले तत्कालिन स्वास्थ्य मन्त्रीले प्रभावशाली ढंगले काम नगरेको आरोप लगाउँदै आफ्नो पार्टीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउँदा प्रदेशमा धेरै काम भएको बताए। ‘प्रदेशलाई ओझलमा राख्ने काम नै केन्द्रीय सरकारले गरेको छ,’ उनले भने। आफूहरूले संक्रमितको परीक्षणका लागि तीनवटा क्षेत्र छुट्टयाइएको तर केन्द्रले काम नगरेको बताए। उनले स्वास्थ्य र सुरक्षाको जिम्मा केन्द्र सरकारमा रहेको र दुबै क्षेत्रमा काम प्रभावकारी काम गर्न असफल भएको बताए। 
 

प्रकाशित मिति: : 2020-04-12 22:25:08

प्रतिकृया दिनुहोस्