‘सर्वकालीन सर्वोत्कृष्ट गोलरक्षक’ पिटर बोनेट्टीको निधन

बिएल संवाददाता

काठमाडाै‌ं

इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक पिटर बोनेट्टीको निधन भएको छ।

७८ वर्षे बोनेट्टीको आइतबार राति निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ। उनी लामो समयदेखि बिरामी थिए। बोनेट्टी इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वगोलरक्षक पनि हुन्।

इङ्ल्यान्डले सन् १९६६ को विश्वकप फुटबलको उपाधि जित्दा पनि उनी टोलीका सदस्य थिए। तर, विभिन्न कारणले गर्दा उनले उक्त विश्वकपमा मैदानमा ओर्लने अवसर भने पाएका थिएनन्। सन् १९७० को विश्वकपमा भने उनले इङ्ल्यान्डको गोल पोस्ट सम्हाल्ने अवसर पाएका थिए। उक्त विश्वकपको क्वार्टरफाइनलमा इङ्ल्यान्डको टोली पश्चिम जर्मनीसँग पराजित भएको थियो।

यसका अतिरिक्त बोनेट्टीले सन् १९६० देखि सन् १९७५ सम्म चेल्सीबाट व्यावसायिक फुटबल खेलेका थिए। उनी आफ्नो समयका चर्चित गोलरक्षक थिए। उनले चेल्सीलाई सर्वोत्कृष्ट गोलरक्षक भएको क्लबका रूपमा छुट्टै परिचयसमेत दिलाएका थिए। त्यसैले उनलाई 'सर्वकालीन सर्वोत्कृष्ट गोलरक्षक'को सम्मान पनि प्रदान गरिएको थियो।

बोनेट्टीले चेल्सीलाई सन् १९६५ को इङ्लिस लिग कप र सन् १९७१ को यूईएफए कप विनर्स कपको उपाधि दिलाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। फलामे ढोका बनेर गोल पोस्टमा उभिने बेजोडेको क्षमताका कारण उनका साथी रोन टिन्डलले बोनेट्टीलाई टी क्याटको उपनाम दिएका थिए।

सन् १९६९/७० सिजनमा बोनेट्टी वर्षको सर्वोत्कृष्ट खेलाडीको सूचीमा उपविजेता बनेका थिए। सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि बोनेट्टीले चेल्सी र इङ्ल्यान्डको राष्ट्रिय टोलीमा गोलरक्षक प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए। उनले म्यानचेस्टर सिटी, न्युक्यासल युनाइटेड र फुलह्याममा पनि गोलरक्षक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

आफ्नो १५ वर्ष लामो चेल्सी बसाइका क्रममा बोनेट्टीले क्लबका लागि सात सय २९ खेल खेलेका थिए।  सन् १९७५ मा उनले छोटो अवधिका लागि अमेरिकी क्लब सेन्ट लुइस स्टार्सबाट पनि व्यावसायिक फुटबल खेलेका थिए। तर, सन् १९७६ मा उनी पुनः चेल्सीमै फर्किए। त्यसपछि उनी सन् १९७९ सम्म चेल्सीमा रहेका थिए।

बोनेट्टीको निधनमा इङ्ल्यान्डको फुटबल संघ (एफए), चेल्सीलगायतका विभिन्न क्लब र विश्वभरका फुटबल खेलाडीले उनको आत्माका चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2020-04-14 14:30:27

प्रतिकृया दिनुहोस्