‘सरकार ! तिम्रो क्वारेन्टाइनमा रोगले होइन, चिसोले ज्यान जाने भो !’

सरकारकै छातामुनि बन्दी बन्यौँ : मजदुर

अनलाइनखबर

काठमाडाै‌ं

 थानकोटस्थित त्रिभुवन पार्कको खुला कटेरो । माथिल्लो तलामा कालो म्याट बिछ्याइएको छ । तर, ओढ्ने लुगा छैन । पानी नछिरोस् भनेर एउटा त्रिपालले माथिल्लो भाग बार्ने प्रयास गरिएको छ, तर तीनै तिरको भाग ह्वाङ्गै छ ।

‘राति पानी पसेर सुत्नै पाइएन । हावाले पनि हान्दो रहेछ । बडो समस्यामा परियो’, त्यही कटेरोमा रात बिताएका सल्यानका बेलबहादुर बुढाथोकीले दुःख बिसाए, ‘ओछ्याउने त भयो तर, ओढ्ने छैन । ज्याकेटले पनि नधान्ने रहेछ ।’

पैदल  हिँडेर घरतर्फ जान लागेका उनीजस्तै एक सय ७६ जनालाई थानकोटमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पैदल हिँडेर जान नदिनू । जहाँ छन्, त्यही बस्ने खाने व्यवस्था मिलाउनू’ निर्देशन दिएपछि पैदल हिँडेर गाउँ फर्किन खोजेका उनीहरूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चन्द्रागिरि कमिटीले रोकेर राखेको हो ।

तर, हरेक रात पानीमा रुझ्दै बिताउन बाध्य छन् उनीहरू । ‘बरु पैदल हिँड्दा सहज थियो’, दोलखाको शैलुङ गाउँपालिकादेखि हिँडेर काठमाडौं आइपुगेका बुढाथोकीले अनलाइनखबरसँग सुनाए, ‘यतिबेला गाउँ पनि पुगिन्थ्यो होला । यहाँ चिसोले मात्र होइन, किरा र लामखुट्टेले टोकेर हैरान पारिसक्यो ।’

आफूसहित १४ जना बसेको कटेरोमा सद्धे मान्छे बसे पनि बिरामी हुने अवस्था आएको बुढाथोकीले गुनासो गरे ।

‘यस्तै पाराले त कति दिन बस्न सकिएला र !’ बुढाथोकीसँगै आएका अर्का एक जनाले लामो सुस्केरा हाले ।

पैदल हिँडेर आइतबार बिहान ५ बजेतिर थानकोट पुग्दा ड्युटीमा खटिएका प्रहरीले गाडीमा पठाइदिन्छन् भनेर पार्कतिर जान सुझाएको उनी सम्झन्छन् । ‘अरू साथीहरू गाउँ पुगिसके, भक्तपुरबाट पनि रोल्पा, सल्यान कताकता पठाइसकेको सुन्छु’, उनले अनलाइनखबरसँग भने, ‘गाउँमा गहुँ काट्ने, अदुवा रोप्ने बेला भइसक्यो । बुढी पनि एक्लै छे । हामी चाहिँ यहाँ बन्दी भयौँ ।’

प्रकाशित मिति: : 2020-04-21 12:07:57

प्रतिकृया दिनुहोस्