दोस्रो विश्वयुद्व पछिको युरोपको पर्यटन

आधुनिक मानव सभ्यताको भयावह कालखण्ड, दोस्रो विश्ययुद्व। १ सेप्टेम्बर १९३९ मा हिटलरको जर्मनीले पोल्याण्डमा आक्रमण गरेपछि शुरू भएको युद्वमा क्रमैसँग तीस बढी देश होमिए। यूरोप तहसनहस भयो।

दक्षिण पूर्वी एसिया, अष्ट्रेलियाले पनि उल्लेख्य क्षति ब्यहोरो। २ सेप्टेम्बर १९४५ मा जापानले अमेरिका समक्ष आत्मसमर्पण गरे पछि दोस्रो विश्वयुद्व अन्त्य भयो। २१९४ दिनको क्रुरता संसारले भोग्यो। सातदेखि आठ करोड मानिसले ज्यान गुमाए।

दोस्रो विश्वयुद्वको अन्त्यपछि अमेरिका र सोभियत संघबिच युद्वमाथिको विजयको लाभ र कसले लिने भन्ने विषयमा अन्तरद्वन्द्व देखियो। विश्व परिदृश्यमा राजनीतिक विचारधारा र सामरीक शक्तिका कारणले संयुक्त राज्य अमेरिका र सोभियत संघबीच विश्वयुद्व पछिको नयाँ विश्वमा नेत्तृत्व गर्ने होडबाजी चल्यो र यो स्वभाविक थियो। यो नैं हिटलर प्रेरित नाजी जर्मनीमाथिको विजय पश्चात चर्चित शितयुद्वको शुरूवातको प्रमुख कारण बन्यो। सन्् १९४७ बाट शुरू भएको यो लडाइ सन् १९९१ मा सोभियत संघको विघटन भएपछि अन्त्य भयो।

सन् १९४८ बाट अमेरिकी विदेश मन्त्री जर्ज मार्शलको अगुवाइमा मार्शल योजना शुरु भयो। मार्शल युद्वका नायक थिए। यो योजना अन्तर्गत १६ वटा पश्चिम यूरोपेली राष्ट्रले अमेरिकी आर्थिक सहायता प्राप्त गरे। ती देश थिए, अष्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स, ग्रिस, आइसल्याण्ड, आयरलयान्ड, इटाली, लक्जेम्बर्ग, नेदरल्याण्ड, नर्वे, पोर्चगुल, स्वीडेन, स्वीजरल्याण्ड, टर्की र बेलायत।

अमेरिकी उदारवाद नीति अन्तर्गतको १३ अर्ब डलरभन्दा बढीको योजनामा तत्कालिन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले अप्रिल ३, १९४८ मा हस्ताक्षर गरेका थिए। सन्् १९४९ मा नाटोको गठन यसकै प्रभाव थियो र शितयुद्वको शुरुवातको प्रमुख कारण पनि। अमेरिकी प्रशासन्को भाषामा यो कुनै सामरीक रणनीति भन्दा पनि युद्वले जन्माएको गरिबी, अभाव, भोक, भोकमारी र निराशाको विरुद्धको लडाइ थियो।

योजनाको अन्तिम वर्ष १९५२ सम्ममा सहायता पाएका राष्ट्रहरुको आर्थिक अवस्थामा उल्लेख्य सुधार भयो। सन् १९५३ को नोबेल शान्ति पुरस्कार जर्ज मार्शलले प्राप्त गरे। पश्चिम यूरोप अमरिकाको बजारको रुपमा स्थापित भयो। मध्य र पूर्वी युरोपमा सोभियत संघको प्रभाव बढ्यो। प्रथम विश्व र दोस्रो विश्व नामाकरण भयो। यूरोप राजनीतिक आस्थाका आधारमा विभाजित भयो। बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले यस्को न्वारन गरे, ‘फलामे पर्दा’। मार्शल योजना अमेरिकी शताब्दीको शुरुवातको प्रस्थान विन्दु थियो।

सन् १९४७ को एक दिन बेलायतका कुटनीतिज्ञले राष्ट्रपति ट्रूम्यानलाई ग्रीसमा बढ्दो गृहयुद्व र टर्कीको राजनैतिक अस्थिरताका कारणले सोभियत संघको हस्तक्षेप हुनसक्ने खतरा भएकोले अमेरिकाले हस्तक्षेप गर्नु पर्ने ब्रिटेनको अनुरोध सुनाए। अमेरिकी कंग्रेसले ४० करोड डलर सहायता राशी अनुमोदन गर्‍यो।

अमेरिकी आर्थिक र सैनिक सहायताको आडमा ग्रीस र टर्कीमा राजनीतिक ब्यवस्था परिवर्तन गर्न अमेरिका सफल भयो। दोस्रो विश्वयुद्व शुरु भएको दुई वर्ष पछि मात्र पर्ल हार्बरमा जापानी आक्रमणका कारणले अमेरिका सहभागि भएको र युद्वकालिन क्षति अन्य राष्ट्रको तुलनामा कम भएको कारणले अमेरिकी अर्थतन्त्र बलियो थियो। अमेरिकासँग तत्कालिन अवस्थामा संसारकै सबै भन्दा धेरै सुनको संचिती रहेकोले युद्व पछिको एक मात्र उद्धारकर्ताको रुपमा पश्चिम यूरोपले एटलान्टिक महासागर पारी गुहारनुको विकल्प थिएन।

सन् १९४५ बाट युरोपको पर्यटनको विकास र विस्तारको क्रममा केही महत्वपूर्ण संस्थागत पहल शुरु भयो। युद्व पछिको आर्थिक पुनःसंरचनामा होमिएको यूरोपमा युरोपियन ट्राभल कमिशन गठन भयो। यो संस्थाले सोही वर्ष स्थापित अन्तर्राष्ट्रिय ट्राभल यूनियनको यूरोप च्याप्टरको हैसियत पायो। अमेरिकी मार्शल योजना कार्यान्वयनका लागि १९४८ मा यूरोपियन आर्थिक समन्वय संगठन अस्तित्वमा आयो। ट्राभल कमिशनले यस संरचनासँगको सहकार्यमा अमेरिकी बजारमा पश्चिम यूरोपको ब्यापक प्रचारप्रसार र प्रबद्र्धन गर्यो। एउटा सिंगो गन्तब्यको रुपमा। योजनामा सहभागि सबै राष्ट्रले जनही तिस हजार डलर योगदान गरे। सन् १९५३ सम्म मार्शल योजना अन्तर्गतका १६ राष्ट्रहरुको आर्थिक अवस्थामा ब्यापक सुधार आइसकेको थियो।

टु«म्यान प्रशासन् अमेरिकी पर्यटकलाई पश्चिम यूरोपको आर्थिक विकासको सम्बाहकको रुपमा प्रस्तुत गर्न प्रयासरत थियो। तर अमेरिकी आन्तरिक पर्यटन बजार अमेरिकी नागरिक देश भित्र रमाउन भन्ने चाहन्थ्यो। अमेरिकाकैं अन्तर्राष्ट्रिय पर्यटन उधोग वासिङ्गटनसँग निरन्तर बाह्य पर्यटनको विस्तारका लागि लबिङ्ग गर्दे थियो। प्यान अमेरिका वायुसेवा र अमेरिकन एक्सप्रेस जस्ता ठुला कम्पनी प्रयासरत थिए। फलस्वरुप पर्यटन क्षेत्रका विज्ञहरु योन हेन्डरशन र क्लारेन्स डुइनेललाई मार्शल योजनाको सफल कार्यान्वयनका लागि टिममा सामेल गराइयो। अमेरिकी पर्यटन उधोगले पश्चिम यूरोपको आतिथ्यताको गुणस्तर उकास्न खासगरि होटल उधोगको क्षमता बृद्घिमा सहयोग गर्यो र उपभोक्ता बजार विस्तार भयो। पश्चिम यूरोप घुम्ने अमेरिकीको संख्या सन् १९४९ मा २,७०,००० थियो भने यो संख्या सन् १९६३ मा ११,७०,००० पुग्यो। कोकाकोला र हलिवुडले ब्यापक बजार पाए।

सन् १९४४ मा अमेरिकी सैनिकले रोम शहर नाजी जर्मनको कब्जाबाट मुक्त गराए देखि नैं अमेरिकी सैनिक रोममा बस्न थाले। रोमको संस्कृति, पिज्जा र रात्री जिवनमा अमेरिकी सैनिक रमाउन थाले। बेरोजगारी र भोकमारी सँग लडिरहेका स्थानियका लागि अमेरिकी सेना आय आर्जनको माध्यम थियो। रोमका सडकमा स्थानिय युवाहरु अमेरिकीहरुको तस्वीर खिचेर धुलाइ गरेर दिन्थे। तस्वीरको माध्यमबाट रोमको सुन्दरता अमेरिकामा फैलियो। कालान्तरमा ती फोटोग्राफरलाई पापाराजी भनियो। सन् १९४८ रोम शहरका लागि हलिवुड खास रहयो। विश्वयुुद्ध पछि नवयथार्थवादी धारमा निर्देशक रोबर्टो रोसेलिनीले रोम ओपन सिटी र पेइसान र अर्का महान निर्देशक भिटोरियो डे सिकाले निर्माण गरेको बाइसाइकल थिफ र शुसाइन चलचित्रले विश्व चलचित्रलाई नया युगमा प्रवेश गरायो। यी चलचित्रहरुले हलिवुडकर्मीलाई इटाली सम्म तान्यो। यो वर्ष स्टार कलाकारहरु ओर्सन् वेल्स, जोअन फोन्टेन र टायरोन पावर रोमको प्रसिद्ध सडक भिया भेनेतोमा सार्वजनिक भइसकेका थिए। १९४१ को ब्लकबस्टर सिटिजन केन चलचित्रले ओर्सन् वेल्सलाई सुपरस्टार बनाएको थियो। अर्का हस्ती टायरोन पावरको लोकप्रियता शिखरमा थियो। उनी रोमका शहरमा छत नभएको कारमा हुुँइकिन्थे। यही यीनको भेट हलिवुडमा टार्जन चलचित्रबाट प्रसिद्धि कमाएकी नायिका लिण्डा क्रिश्चियनसँग भयो। दुवैले १९४९ मा रोमको चर्च सान्ता फ्रान्सेसका रोमानामा बिवाह गरे। यो विवाह त्यो समयमा युद्व पछिको एउटा विश्व चर्चित घटना थियो। जोअन फोन्टेन र जोशेफ कट्टन अभिनित सेप्टेम्बर अफेयर शत प्रतिशत इटालीमा छायाकंन भयो। अझ कासाब्लान्का जस्तो सुपरहिट चलचित्रकी नायिका इन्ग्रीड वर्गमेनको इटालियन निर्देशक रोबर्टो रोसेलिनीसँगको प्रेम सम्बन्धले रोमलाई ग्ल्यामर शहरको रुपमा स्थापित गरिदीयो।

सन् १९५७ मा इटालीको राष्ट्रिय ध्वजावाहक एलितालिया स्थापित भयो। ६० को दशकको प्रारम्भमा यो कम्पनी जेट युगमा प्रवेश गर्यो। १९६० को दशकमा प्रायः सबै प्रमुख पश्चिम यूरोपका मुलुकहरु जेट युगमा प्रवेश गरे र यस्ले समग्र पर्यटन क्षेत्रमा प्रभाव पार्न शुरु गरिसकेको थियो।

युद्वको समाप्ती लगर्तै ग्रेट ब्रिटेन ट्राभल एशोसियशन पर्यटनको पुनरुत्थानको योजना लिएर सरकारसँग लबिङ्ग गर्न थाल्यो। यो संस्थाले सरकारलाई अध्धयन प्रतिवेदन बुझायो। प्रतिवेदनमा उल्लेख सुझावलाई मनन गर्दे ब्रिटिश सरकारले सन् १९४७ मा ब्रिटिश टुरिष्ट एण्ड होलिडेज बोर्ड गठन गर्‍यो। ब्रिटेनमा ब्यवसायी विली बट्लिनले देशभरि धेरै संख्यामा होलिडे क्याम्प निर्माण गरे।

लण्डन फेशन सप्ताहको रङ्गीन साँझ र पार्टीका तस्वीरहरु ब्यापक प्रचार गरियो। प्यान अमेरिकी वायुसेवाले पहिलो यात्रुवाहक उडान ४ अप्रिल १९४९ मा लण्डनमा अवतरण गर्‍यो। यूरोपको आकाशमा ब्रिटेनको प्रभाव बढ्यो। ब्रिटिश ओभरसिज एअरवेज कर्पोरेशनले मिलिटरी उड्डयनलाई नागरिक हवाई सेवामा रुपान्तरण गरि ब्रिटिश साम्राज्यको उपनिवेशमा रहेका गन्तब्य समेत गरि अन्तर्राष्ट्रिय हवाइ पहुँच विस्तार गर्‍यो।

नजिकका गन्तब्यका लागि ब्रिटिश सरकारले सन् १९४६ अगस्टमा ब्रिटिश यूरोपियन एअरलाइन्स स्थापन गरेर बजार बढायो। सन्् १९७४ मा दुवै कम्पनी मर्ज भइ ब्रिटिश एअरवेज खडा भयो। १९४७ मा ब्रिटेनमा करीब चार लाख पर्यटक आगमन रह्यो।

सन् १९४८ मा लण्डनले ओलम्पिक खेलको आयोजना गर्‍यो। यद्दपि खेलाडीहरुलाई स्कूल, कलेज र आर्मी ब्यारेकमा राखियो। खेलाडीेले आफ्नो लागि खाना सँगै लिएर आउन समेत भनियो। विषम परिस्थीति भइकन पनि खेलको आयोजनाले लण्डन र समग्र बेलायतको पर्यटन विकासमा सहयोग पुग्यो। मार्शल योजना अन्तर्गत ब्रिटेनले करीब ३ अर्ब अमेरिकी डलर सहयोग प्राप्त गरेको थियो, १६ राष्ट्र मध्ये सबैभन्दा धेरै।

युद्व अन्त्य भए पछि जर्मनीको अवस्था कुनै रङ्गमन्च भन्दा कम थिएन। हिटलरको जर्मनी चारकुनामा चारवटा देशको कब्जामा पर्यो। अमेरिका, ब्रिटेन, फ्रान्स र सोभियत संघले बाँडिचुँडी जर्मनीलाई भाग लगाए।

युद्वमा जसरी अकल्पनीय क्षति भोग्यो, सोही रफतारमा पश्चिम जर्मनीले प्रगति गर्‍यो। वास्तवमा जर्मनीसँग औधोगिक विकासका लागि पूर्वाधार र संरचना युद्व अघि र्नै तयार थियो। सन् १९५० पछिको समयलाई इतिहासविदले आर्थिक चमत्कारको संज्ञा दिए। कृषि, औजार, धातु उधोग र अटोमोबाइलको द्रूत विकासले युद्वको एक दशकमा नैं जर्मनीले आफनो ग्राहस्थ उत्पादन युद्व अघिकैं स्तरमा पुर्‍यायो। जनताको आर्थिक हैसियत उभो लागे सँगैं पश्चिम जर्मनीमा कामदारलाई खर्च सहितको दुई हप्ताको घुम्ने विदाको ब्यवस्था लागूभयो।

उता कम्यूनिष्ट नियन्त्रित पूर्वी जर्मनीमा पनि पर्यटनले विस्तारै गति लिन थालिसकेको थियो। तर सरकारको नियन्त्रणमा रहेको स्वतन्त्र जर्मन ट्रेड यूनियन फेडरेशन मार्फत मात्र घुम्ने ब्यवस्था थियो र केवल साम्यवादी मुलुकहरु हंगेरी, पोल्याण्ड र चेकस्लोभाकिया प्राथमिकतामा हुन्थ्यो। ठिक यस्तैं किसिमको ब्यवस्था हिटलरले लागु गरेका थिए युद्व अघिका वर्षहरुमा पनि।

सन्् १९३३ मा नाजीले केडीएफ नामको सरकारी टुर कम्पनी स्थापना गरेको थिए। हिटलरले रुगेनको समुद्री तटमा एकै पटकमा बीस हजार मानिस बस्न मिल्ने विशाल संचनाको निर्माण गरेका थिए। यस्लाई कोलोस्स अफ प्रोरा नाम दिइएको थियो। दश हजार कोठाको यो संरचना पाँच किलोमिटर लामो थियो। प्रत्येक कोठाबाट समुन्द्र हेर्न मिल्थ्यो। यस्को ब्यवस्थापन केडीएफले गर्थ्यो। आफना नागरिकको घुमफिरलाई नियन्त्रित ब्यवस्थापन गर्ने शैली हिटलरको सामाजिक प्रयोग थियो।

सन् १९५५ सम्म आइपुग्दा पश्चिम जर्मनीका करीब ८३ प्रतिशत जनताले पर्यटनलाई एक अनिवार्य सामाजिक उपभोग्य वस्तुको रुपमा आत्मसाथ गर्न थालिसकेका थिए। सन्् १९५१ मा टुरोपा जस्ता टुर कम्पनी शुरु भए पछि जर्मनीमा प्याकेज टुरले अझ गति लियो। युद्वको अन्तिम वर्षमा जर्मनी हवाइसेवा डिएलएफ बन्द भइसकेको थियो। सन् १९५३ मा निजी क्षेत्र र सरकारको संयुुक्त लगानीमा लुफ्ताग एअरलाइन्स खुल्यो। एक वर्ष पछि लुफ्थान्सा नामाकरण भयो। अप्रिल १९५५ बाट ब्यवसायिक उडान शुरु गरेको लुफ्थान्सा एक दशकमानैं युरोपको प्रमुख सेवा प्रदायकको लाइनमा उभिन सफल भयो।

नाजी प्रेरित जर्मनीले १४ जुन १९४० मा पेरिस कब्जा गरे सँगैं फ्रान्स करीब चार वर्ष जर्मनीको अधिनमा रहयो। हिटलर फ्रान्सलाई सुन्दर देशको रुपमा राख्न चाहन्थे। एक महिना पछि हिटलरले भने, “फ्रान्स पर्यटकीय देश रहनेछ”। पेरिस विजय पश्चात हिटलरले पेरिसका सुन्दर स्थान, लडाँइ भूमि भ्रमण गरे।

आइफेल टावर अगाडि उभिएर फोटो खिचे। नाजी फौजले पेरिस पछि अन्य स्थानमा आक्रमण गर्ने क्रम केही समयलाई स्थगित नैं गरे। सैनिकहरु हातमा क्यामेरा बोकेर शहरको सुन्दरतालाई तस्वीरमा कैद गर्दथे। नाजी सैनिक प्रथम विश्व युद्वमा पराजित भए पछि जर्मनीले ११ नोभेम्बर १९१८ मा युद्व विराम सम्झौंता फ्रान्समा जुन रेलको बग्गीमा बसेर हस्ताक्षर गरेको थियो सोही बग्गी हिटलरले पेरिसमा मगाएर २२ जुनमा फ्रान्सलाई युद्वविराम सम्झौंतामा हस्ताक्षर गराए।

२५ अगष्ट १९४४ मा अमेरिकी सेना सहितको संयुक्त फौजको सहयोगमा फ्रेन्च कमाण्डर चाल्र्स दि गलको नेत्तृत्वमा पेरिसमा जर्मन सेना पराजित भयो। पराजय निश्चित देखिएपछि हिटलरले आफ्ना सैनिक जनरल भोन कोलटिचलाई पेरिस शहरलाई खरानी बनाउन आदेश दिए पनि उनले मानेनन। पेरिस पराजय पश्चात अमेरिकी सैनिकहरु पेरिसको सडक भरि देखिन्थे। स्थानियसँगको विजय उत्सवका तस्वीरले अमेरिकी नागरिकमा फ्रान्स प्रतिको चासो बढायो। जर्मनीले पेरिस कब्जा गर्न भन्दा पहिले देखि नैं करीब तिस हजार अमेरिकीहरु विभिन्न हैसियतमा पेरिस र आसपास बसोबास गर्ने गर्थे।

मार्शल योजना अन्तर्गत फ्रान्सले २ अर्ब ३० करोड डलरको हाराहारीमा सहयोग प्राप्त गर्यो। यस योजनाले फ्रान्समा अमेरिकी पर्यटकको संख्या बढाउने बिषयमा पहल गर्न कार्यक्रम संचालन गर्ने ब्यवस्था थियो। फ्रान्सले अमेरिकी पर्यटकलाई उत्कृष्ट सेवा उपलब्ध गराउनका लागि निर्देशिकानैं जारी गर्‍यो भने अमेरिकी सरकारले पनि आफ्ना नागरिकलाई कसरी राम्रो पर्यटकको रुपमा प्रस्तुत हुने आचारसहिंता लागू गर्‍यो।

सन्् १९४५ मा फ्रेन्च सरकारले संयुक्त अमेरिकी फौजलाई आतिथ्यताका लागि एउटा समितिनैं गठन गर्‍यो। सन् १९४७ मा अमेरिकी सरकारले आफ्ना नागरिकलाई युद्वताका लगाएको यूरोप भ्रमणको यात्रा एड्भाइजरी हटाएपछि अमेरिकी नागरिक फ्रान्सको भ्रमणका लागि उत्साहित भए। फ्रान्सको पर्यटन कमिशन कार्यालय र विदेश मंत्रालयको संयुक्त पहलमा अमेरिकी पत्रपत्रिकामा “यदि तपाँइ आफनो जिवनसँग प्रेम गर्नुहुन्छ भने फ्रान्सलाई प्रेम गर्नुहुनेछ” ट्यागलाइन सहित विज्ञापन छापियो। सन्् १९५२ को ओस्कार उत्कृष्ट चलचित्र एन अमेरिकन इन पेरिस र १९५२ को अर्को ब्लकबस्टर ब्रिटिश चलचित्र मौउलिन रोघ साथैं अन द रिभेइरा र अप्रिल इन पेरिस जस्ता चलचित्रले फ्रान्सको सुन्दरतालाई आममानिस बीच प्रस्तुत गरि १९५० को दशकलाई सम्भावनाको मार्गमा उभ्याइदिए।

एअर फ्रान्सले स्थापना भएको वर्ष १९३३ मा नै ३७,८०० किमिको नेटवर्क स्थापना गर्न सफल भएको थियो र सोही वर्ष ५२,१०० यात्रीलाई सेवा दिइसकेको थियो। सन् १९३८ सम्म आइपुग्दा १०० वटा जहाज सहित ४६,५०० किमिको नेटवर्क स्थापना गर्‍यो। यो वर्ष १,०४,४२४ यात्रीले सेवा लिए। १९३९ मा युद्व शुरु भए पछि यस्को प्रगति ओरालो लाग्यो।

अगष्ट १९४४ मा जर्मनको कब्जाबाट मुक्त भए पछि यस्ले पुनः पखेटा फिजायो। २६ जुन १९४५ मा फ्रान्सले नागरिक उड्डयनलाई राष्ट्रियकरण गर्‍यो। एअर फ्रान्सको स्वामित्व सरकारले लियो। १९४६ मा पेरिस–ओर्ली विमानस्थल ब्यवसायिक उडानका लागि शुरु भयो र फ्रान्सको राष्ट्रिय ध्वजावाहकले १९४८ सम्ममा नैं १,६०,००० किमि नेटवर्क स्थापित गर्‍यो र सन् १९५३ मा २,५०,००० किमि। १२ नोभेम्बर १९५४ मा एअर इन्टर कम्पनीको प्रवेशले फ्रान्सको आन्तरिक हवाइ उड्डयनले गतिलो फडको मा–यो। १९६० को दशकसँर्गै अन्य प्रतिस्पर्धी पश्चिमी मुलुकले जस्र्तै फ्रान्स पनि जेट युगमा प्रवेश गरे पछि पश्चिम युरोपको पर्यटन अविश्वसनीय तवरले बृद्धि भयो। 

पश्चिम यूरोपमा सन् १९३० को दशकमा श्रमिकलाई अनिवार्य एक देखि दुई हप्ताको तलबी बिदाको ब्यवस्था गर्न धेरै देशमा कानुन लागू भएको थियो। यो ब्यवस्थाले दोस्रो विश्वयुद्व पछिको यूरोपको पर्यटन विकासमा ठोस योगदान गरेको थियो।

चर्चिलले न्वारान गरेको फलामे पर्दा पारीको संसार अर्थात इष्ट ब्लकको पर्यटनको यात्रा फरक थियो। शीतयुद्वको शुरुवाती वर्षहरुमा जोशेफ स्टालिनको पूर्ण नियन्त्रणमा रहेको सोभियत संघको प्रभावमा थिए मध्य तथा पूर्वी यूरोपका मुलुकहरु। सोभियत संघ आफनैं विशाल भुगोल, युद्वमा भोगेको सबैभन्दा ठुलो क्षति, अन्य कम्युनिष्ट राज्यहरुलाई पश्चिमा प्रभावबाट जोगाउने चुनौतीका कारणले सहज अवस्थामा थिएन।

मार्शल योजनालाई अस्वीकार गरि सोभियत संघले मोलोतोभ योजना अघि बढायो। तत्कालिन विदेश मंत्री चेस्लाभ मोलोतोभले प्रस्तुत गरेको योजनामा सोभियत संघमा आबद्ध पूर्वी तथा मध्य यूरोपका मुलुकहरुलाई आर्थिक सहायता प्याकेज उपलब्ध गराइ अमेरिकी प्रभाव बाट जोगाउने रणनीति थियो।

तत्कालिन परिवेशमा इष्टर्न ब्लकका देशभन्दा बाहिर यात्रा कठिन थियो। कडा पासपोर्ट, भिसा नियमन र आर्थिक तथा वित्तीय सिमाका कारणले स्टालिन शासित समयमा पर्यटन विकासको प्रक्रिया सहज थिएन। टुर ब्यवसाय रान्य नियन्त्रित थियो। सन् १९३० मा नैं सोभियत संघले २५७ जना कम्युनिष्ट कार्यकर्तालाई अब्खामीया नामको पानीजहाजबाट पश्चिम यूरोपको विकासको जानकारी लिन भ्रमणमा पठाएको पृष्ठभूमिमा शीतयुद्वको समयमा पर्यटनमा राज्यको नियन्त्रण हुनु स्वभाविक थियो।

नागरिकलाई आफनो देश भित्र घुम्न प्रेरित गर्न लेनिनको भूमिगत जिवनी पत्रपत्रिकामा प्रकाशन गराइयो। स्टालिनको बाल्यकाल बितेको स्थानहरुको बारेमा लेख रचना प्रकाशित गराइयो। “घर जस्तो केही छैन” अभियान छापाहरुबाट प्रचार गरियो। त्यो बेला निर्माण भएका सिमित रुसी चलचित्रले मस्को लगायतका शहरहरुको प्रबद्र्धन गर्दे रुसी नागरिकलाई आफनै देश पश्चिम यूरोप भन्दा कम छैन  भन्ने सन्देश प्रवाह गर्ने प्रयास गरे। आइ वाक अराउण्ड मस्को र माइ योङ्गर ब्रदर चलचित्र सोभियत संघको पर्यटन प्रबद्र्धनमा सहायक सिद्ध भए।

सन् १९५३ मा स्टालिनको मृत्यु पछि निकिता खुरुसचेभले नेतृत्व सम्हाले। यीनले सोभियत संघलाई केही उदार बाटोमा डोरयाउन खोजे। आर्थिक निती तथा विदेश सम्बन्धमा सुधारको प्रयास गरे। शीतयुद्वमा केही लचकता देखियो। यो समयमा इष्ट ब्लकका देशहरु क्रमैसँग पर्यटनको विकासमा लागि परे। १९५५ को जेनेभा सम्मेलनले शीतयुद्वकालिन तनाव केही मत्थर पा–यो। सोही वर्ष पूर्वी युरोपका मुलुकहरु रोमानिया, बुल्गेरिया, चेकस्लोभाकियाले आन्तरिक नितीमा सुधार गर्दे पश्चिमा पर्यटकलाई आफनो देशमा सहज यात्राका लागि ब्यवस्थामा परिवर्तन गर्ने निर्णय गरे। यी राष्ट्रमा दोस्रो विश्वयुद्व अघिनैं स्थापना भएका पर्यटन संस्थाहरुलाई राष्ट्रिय पर्यटन संस्थाको रुपमा पुनःसंरचना गरियो। ब्रिटेन, स्वीडेनका कम्युनिष्टको लगानीमा खोलिएका टुर कम्पनीले पूर्वी तथा मध्य युरोपमा पर्यटक पठाउन सक्रिय भूमिका खेले।

सोभियत संघमा सक्रिय थियो राज्य नियन्त्रित इन्टुरिष्ट लिमिटेड जस्को स्थापना १९२९ मा भएको थियो। १९३२-३३ मा यसको शाखाहरु लण्डन, पेरिस, बर्लिन र न्यूयोर्कमा खुलिसकेको थियो।  यसमा आवद्ध एजेन्सीले मात्र पर्यटकलाई सेवा उपलब्ध गराउँथे। त्यो समयमा बेलायतका कम्युनिष्टहरु मिलेर प्रोग्रेसिभ टुर्स नामको कम्पनि खोलेर बेलायती पर्यटकलाई सोभियत संघको भ्रमण गराउन अग्रसर थिए। अर्कोतिर स्वीडेनका कम्युनिष्टहरुले संचालन गरेका फोकटुरिष्ट कम्पनीले पनि १९५० र ६० को दशकमा सोभियत संघको पर्यटनलाई सहयोग ग–यो। पश्चिमा पर्यटकहरु ट्राभल एजेन्सीको सहयोगमा फलामे पर्दा भन्दा पारीको संसार घुम्न थालिसकेका थिए। १९८९ मा बर्लिनको पर्खाल भत्कियो। १९९१ मा सोभियत संघ विघटन भयो। यूरोपको इतिहास नयाँ युगमा प्रवेश ग–यो।

युद्वको विध्वंसलाई यूरोपले करीब पन्ध्र वर्षमा नैं पराजित ग–यो। अकल्पनिय नरसंहार भोगेको भुगोलले आफना नागरिकको अदम्य साहस, हौसला र राजनैतिक नेतृत्वको दुरदृष्टिले युद्वको भग्नावशेषबाट सपनाको संसार निर्माण ग–यो।

लेखक नेपाल पर्यटन बोर्डका  प्रबन्धक हुन्।

प्रकाशित मिति: : 2020-04-26 12:55:56

प्रतिकृया दिनुहोस्