फ्रान्सका शीर्ष दुई फुटबल लिगमा यो सिजनका बाँकी खेलहरु नहुने भएका छन्।
आउँदो जुन १७ देखि जुलाई २५ बिचमा सबै खेल सक्ने तयारी भए पनि फ्रान्स सरकारले आउँदो सेप्टेम्बरसम्म सबै खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएपछि लिग वान र लिग टूका बाँकी खेल नहुने भएका हुन्।
फ्रान्सेली फुटबल गतिविधिहरु मार्च १३ देखि अनिश्चित समयका लागि रोकिएका छन्। फ्रान्सले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन भने आउँदो मे ११ देखि खुकुलो बनाउने भएको छ।
तर, सरकारले बन्द रंगशालामा पनि खेल गर्न नपाउने गरी सेप्टेम्बरसम्म प्रतिबन्ध लगाएको छ।
सिजनका बाँकी खेलहरु नहुने भए पनि यो सिजनकुनै टिम बढुवा वा रेलिगेशनमा पर्ने–नपर्ने र लिगका विजेताको घोषणा हुने–नहुने निर्णय भइसकेको छैन।
लिग वानमा हालसम्म २७ खेल खेलेको पेरिस सेन्ट–जर्मेन ६८ अंकसहित शीर्ष स्थानमा छ। २८ खेलबाट ५६ अंकसहित मार्सेइली दोस्रो स्थानमा रहेको छ।