प्रेमगीत–३ को शुभमुहूर्त कुर्दै लकडाउनमा नवनायक मनिष (भिडियोसहित)

भक्तपुर दधिकोटका २५ वर्षीय हिरो मनिष राउतका निष्छल आँखाका समुद्रको पानीजस्तै संभावना छल्किरहेको छ, हिजोआज। उनी हिरो भइसकेका छन् तर त्यो अहिले ‘रिल’मा कैद छ। ग्ल्यामर दुनियाँमा प्रवेश गरेका उनी सुन्दर भविष्य कुरेर बसेका छन्। उनका स्वभावमा ‘सेलिब्रिटी’ भाव अहिल्यैदेखि झल्कन थालेको छ। 

शारीरिक बनावट सलक्क परेकाे चकलेटी हिरो जस्तै छ। लकडाउनले स्थानहद भएपछि उनी ढाका टोपीमा सजिएर घरमै बसेका छन्। सायद् उनी प्रिमियर शो र त्यसपछि सार्वजनिक हुने ‘सर्‍प्राइज सेलिब्रिटी’ को पूर्वतयारीमा छन्।

‘प्रेमगीत–३’ फिल्मका लागि पहिलो अडिसनमै छानिएका थिए– मनिष।  नेपाली फिल्म उद्योगका अनुभवी निर्माता–निर्देशक सन्तोष सेनले उनलाई हिरो चुनेका हुन्। सन्तोषको प्रेमगीत– १ र प्रेमगीत–२ सफल भइसकेको छ। याे उनकाे तेस्राे सिक्वेल हाे। 

कोरोनाको त्रास नहुँदाे हाे त, प्रेमगीत–३ ले अहिले दर्शक माझ प्रस्तुत भइसकेकाे हुन्थ्यो। गत महिना रिलिजका लागि यसकाे टिजरसमेत प्रसारण भइसकेकाे थियाे। रिलिज हुने तिथि चैत्र २८ तोकिइएकाे थियो।

पहिलो फिल्म भएर होला, मनिष ‘प्रेमगीत–३’ को शुभमुहुर्तको ब्यग्र प्रतीक्षामा थिए तर कोरोनाको कारण डेब्यु फिल्म रोकिँदा उनलाई पनि नरमाइलाे लागेकाे छ। अमेरिका, युरोपदेखि छिमेकी चीन र भारतसमेत ‘लकडाउन’ काे अवस्थामा रहेकाे बेला उनका लागि मन बुझाउनुबाहेक अर्काे उपाय पनि छैन। उनले भने, ‘सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो। हामीले कोरोनालाई जित्नु छ। फिल्म भनेको मनोरञ्जनको साधन मात्रै हो। सबै ठिक हुन्छ अनि हामी सँगै बसेर प्रेमगीत–३ हेरौँला।’

भर्खरै डेब्यु गरेका हिरो यति ठूलो ब्यानरसँग कसरी जोडिन पुगे? मनिषले भने, ‘अस्कर कलेजबाट चारवर्षे अध्ययन पूरा गरेपछि एक दिन प्रेमगीत–३ को अडिसनबारे थाहा भयाे। म अडिसन दिन गएकाे थिए।’  

चकलेटी मुहार। बलिष्ठ शरीर। उनलाई हेरेपछि एकै पटकमा निर्माता–निर्देशक सन्तोष सेनले ओके गरेका रहेछन्। मनिष सुटिङका लागि काठमाडौंबाट हिमालपारि मनाङसम्म पुगेकाे अनुभव सुनाउँछन्। 

शहरिया धेरै तन्नेरी हिरो हुन पैसासमेत खर्चिन तयार हुन्छन्। नयाँ हिरोले त धेरै पहिलादेखि यो आरोप व्यहोर्दै आइपनि रहेका छन्। मनिषको हकमा भने यो उल्टो सावित भएको छ। उनले सोचेभन्दा राम्रो पारिश्रमिक लिएर फिल्म खेल्ने अवसर पाए। यसमा मनिष भाग्यमानी ठान्छन् आफूलाई। 

करिब पाँच करोड रुपैयाँको लगानीमा बनेको चलचित्र हो– प्रेमगीत–३। सन्तोष सेनजस्ता पाका निर्माता–निर्देशक जोखिम उठाउन चाहँदैनन्। प्रेमगीत–३ को टिजरबाटै थाहा हुन्छ– उनका अघिल्ला फिल्म प्रेमगीत, प्रेमगीत–२ भन्दा अहिलेको प्रेमगीत–३ निर्देशन र प्राविधिक हिसाबले पनि अब्बल छ।

प्रेमगीत–३ करिब तीन सय वर्षअघि मनाङका एक राजाको जीवनीमा आधारित फिल्म हो। फिल्ममा प्रेम र गीतबीचको कथाले सस्पेन्स ल्याएकाे बताउँछन्, मनिष।  

फिल्ममा अन्य कलाकारहरू शिव श्रेष्ठ, सुनील थापा, प्रदीप खड्काका साथै क्रिस्टिना गुरुङ्गकाे पनि अभिनय छ। ‘अघिल्लो पुस्ताका कलाकारसँग खेल्न पाउनु मेरो लागि सौभाग्य हो’, मनिषले भने, ‘उहाँहरूबाट धेरै कुरा सिक्न पाएँ। सुटिङका बेला वरिष्ठ अग्रज कलाकारले प्रोत्साहन दिनुभो।’ 

निर्माता–निर्देशक सेनप्रति पनि कृतज्ञता व्यक्त गर्छन् उनी। प्रेमगीत–३ ले पहिलो र दोस्रोभन्दा पनि अझै बढी प्रिभ्यु पाउनेमा ढुक्क देखिन्छन्– उनी। 

मनिष वाल्यकालदेखि नै नेपाली फिल्म हेर्न रुचाउँथे। नायक राजेश हमालका फ्यान हुन उनी। ‘फिल्ममा राजेश हमालको मृत्यु हुँदा साच्चिकै मरेको भन्ठानेर कैयौ पटक रोएर आमाकहाँ पुगेको थिएँ’, उनी आफ्नो विगत सम्झेर पुलकित हुन्छन्। 

काँचको पर्दामा देखिने फिल्महरु हेर्दै हुर्किएका मनिष त्यसबेला सोच्थे, ‘यति साना मान्छे कसरी बोल्ने होलान्। अनि कसरी नाचेका होलान्?’ यस्ता कौतुहलले उनको बालमस्तिस्कमा कम्पन पैदा हुन्थ्यो। जब फिल्म हलमा पुग्थे, अजङ्गका लाग्ने यी साँच्चैका मान्छे हुन् कि भगवान हुन् भनेर ठम्याउन निकै गाह्रो हुने गरेको उनले सुनाए। 

हरेक अविभावकलाई आफ्ना सन्तान पढाइ सकेपछि आफ्नो खुट्टामा उभियोस् भन्ने चाहना हुन्छ। मनिषका अविभावक पनि उनले १२ कक्षा पास गरेपछि फिल्मसम्बन्धी अध्यन गर्न अस्कर कलेज भर्ना हुने इच्छा देखाएपछि रनभुल्लमा परेका थिए। तर, पछि उनले राम्राे गर्न थालपछि अविभावक अलि ढुक्क भए। परिवारका एकमात्र सन्तान मनिष हिरो भएका छन्, उनका मातापिता अत्यन्त खुशी छन्।

पिता भोला राउत सामाजिक कार्यकर्ता हुन्। मनिष धेरैजसो आमासँग मात्र हुन्छन् घरमा। लकडाउनले भने परिवारलाई जुटाइदिएको छ। पिताजीलाई फिल्ममा खासै रुचि पनि छैन। उनी हास्दै भन्छन्, ‘मलाई त पछिसम्म थाहै थिएन, फिल्मसम्बन्धी कलेजमा पढ्थ्यो भन्ने मात्र थाहा थियो। उ त हिरो पो भइसकेछ। छोराको खुशी परिवारको खुशी हो।’

मनिषकी आमालाई भने घरमा आएका अतिथिको सत्कारले फुर्सद छैन। छोरा हिरो भएकोमा अत्यन्त खुशी छिन्। मनिषलाई प्रेमगीत–३ को टिजर हेरेर नयाँ फिल्मका अफरहरु आउन थालेका छन्। डेब्यु फिल्मको टिजर हेरेरै चार–पाँच वटा प्रोडक्सन हाउसले कुरा गरिसकेको बताउँछन्। उनी उत्साहित हुँदै भन्छन्, ‘अब कोभिड–१९ को महामारीबाट मुक्त भएपछि दशैंको साइतमा रिलिज हुन्छ होला। सबैजना कोरोनाबाट सुरक्षित बस्नुस्। कोरोनालाई जितेपछि सँगै फिल्म हेर्दै दशैँ मानौँला।’ 

प्रकाशित मिति: : 2020-05-02 09:31:00

प्रतिकृया दिनुहोस्